गण्डकी प्रदेशस्तरीय बाल प्रतिभा छनौट प्रतियोगिताको अभिनय प्रतियोगितामा म्याग्दीको बेनी सामुदायिक मावि उत्कृष्ट भएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश बाल परिषद्सँग समन्वय गरी आयोजना गरेको बाल प्रतिभा प्रष्फुटन हुने भिडियो निर्माण प्रतियोगितामा बेनी सामुदायिक माविका छात्रा सुमित्रा पौडेल र छात्र अभिनाश आचार्यले म्याग्दी जिल्लाबाट सहभागीमध्ये उत्कृष्ट स्थान हात पारेका हुन् ।
विजेतालाई प्रदेश शिक्षा मन्त्री मेखलाल श्रेष्ठबाट नगद २० हजार र प्रमाणपत्र वितरण गरेको विद्यालयका प्रअ दिपक श्रेष्ठले बताए । प्रतियोगितामा विद्यार्थीको चासो र सक्रियतालाई आगामी दिनमा समेत निरन्तरता दिने प्रअ श्रेष्ठले बताए । मौलिक र सन्देशमुलक उक्त भिडियो प्रतियोगितामा विद्यालयभित्र बाल प्रतिभा तथा विभिन्न जनचेतनामुलक कार्यहरुलाई प्रतियोगी भिडियोमा समावेश गरिएको विजेताद्धय पौडेल र आचार्यले बताए ।
प्रतियोगितामा प्रदेशभरका जिल्लास्थित सामाजिक विकास कार्यालयमार्फत साम्रागी संकलन गरिएको थियो । नेपाल सरकार शिक्षा मन्त्रालयले बि.स २०७० सालमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक विद्यालय समेत रहेको बेनी सामुदायिकले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकता दिने गरेको छ ।