१४ जेठ २०८०, आइतवार

“बा” कविता

भरत आचार्य

बा ! दर्शन ! भावयुक्त ढोग गरें
बा ! यता सबै ठिकै छ
तिमी स्वर्ग गएको म बुझ्ने भए पछि मात्र थाहा पाएको हुँ
एउटा फोटो आमाले कपड़ाले बेरेर
टिनको बाकसमा बडो जतनले राखेकी थिइन्
बेला बखत झिकेर पुछपाछ गर्थिन्
फेरि उसै गरि थन्क्याउँथिन्
त्यो फोटो तिम्रै रहेछ बा !
आमाले भनेर थाहा पाएको हुँ
धेरै साथी भाइका बा थिए
कोहीका जागीरे
कोहीका लाहुरे
त कोसैका किसान
जो जहाँ भए पनि
चाडवाड्मा आउँथे , फेरि लाखापाखा लाग्थे ।
त्यो क्रम सालना दोहरिन्थ्यो
जसरी आमाले फोटो पुछपाछ गर्दै फेरि थन्क्याउँदै गर्थिन्
साथीहरूका जागिरे , लाहुरे बाका फोटा हरु
लस्करै दैला माथी टाँसेका हुन्थे
सालै पिच्छे नयाँ फोटा थप्दै जान्थे
तर तिम्रो
न नयाँ फोटो थपियो
न आमाले दैला माथी टाँसिन
बा ! अरु साथीका बा हरुको
आउने जाने क्रम चली रहन्थ्यो
चिट्ठी पठाउँथे ,
खाने मसला , चक्लेट नयाँ कपडा पठाउँथे
तर तिमी
न कहिल्यै आयौ
न कहिल्यै चिट्ठी पठायौ
न त चकलेट कपड़ा पठायौ
भित्र भित्रै रीस पनि उठ्थ्यो ।

एक दिन आमाले फोटो पुछ्दै थिइन्
मैले झर्केर सोधेँ
हाम्रा बा किन आउन्नन् ?
किन चक्लेट पठाउन्नन् ?
किन नयाँ लुगा पठाउन्नन् ?
किन साथीहरूका बाले झैं माया गर्दैनन् ?
धेरै बेर आमा बोलिनन्
सायद आमा सित उत्तर थिएन
मलाई तानेर एकातिर काखमा च्यापिन
अर्को तिर छातीमा तिम्रो फोटो च्याप्दै
सम्झाउँदै भनिन्
बाबु तिम्रो बुबा लाहुर जानु भएको हैन
तिम्रो बुबा त स्वर्ग जानु भएको हो
फर्केर आउन मिल्दैन
न त उहाँ , चकलेट पाइन्छ न त नयाँ लुगा
त्यसैले नपठाउनु भएको हो
तिमी ठूलो भए पछि आफैं बुझ्छौ
आमाले थुम्थुम्याउँदै सम्झाउँदै गर्दा
कुन बेला निदाएँ थाहा भएन ।

खै मलाई के ज्ञान पसेर हो वा
के भएर हो
त्यस पछि आमालाई कहिल्यै झिझ्याइन ।

बा ! म अहिले ठूलो भै सकें
जीवन जगत थोर बहुत बुझें पनि
हो ! तिम्रो असमयमा मृत्यु भएको रहेछ
ढिलोचाँडो अन्तिम यात्रा गर्नै पर्ने वाध्यता रहेछ
तिम्रो प्रारब्ध सायद त्यति नै थियो होला ।
हो बा ! तिम्रो भार पनि आमाले उठाईन्
बढाइन् पढाईन् जो जति सकिन् गरिन्
आफूले दुख कष्ट सहेर
तिम्रो भूमिका पनि निभाइन्
तिम्रो श्री सम्पतीको जगेर्ना गरिन्
पोहर मात्रै आमा पनि अनन्त यात्रामा लागिन्
भेट भयो होला , नभए पनि अवश्य हुने छ बा !
हाम्रो वैदिक शास्त्र अनुसार
हाम्रा कृयाकलाप सबै माथीबाट हेरिरहेका हुन्छौ अरे
जानाजान भूलचुक गरेका छैनौं
कहीं कतै अन्जानमा भएका भूलचुक माफी चाहन्छौं
भोलि हाम्रो बाटो पनि त्यही हो
अवश्य भेट होला
बस् आजलाई यति
ढोग गरें बा !

पोखरा ११ काहूँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *