३ चैत २०७९, शुक्रवार

भीष्महरू (कविता)

श्याम न्यौपाने

भीष्महरू
ठूलो रूखकाे मूलजराेझैं
आफूलाई
कुलकाे जराे सम्झन्छन्
कुलकाे प्रतिष्ठाकाे लागि
मरिमेट्छन्
तर
आफ्नै आँखा अगाडि
आफ्नै कुलका सन्ततिहरूले
भयानक कुरुक्षेत्र रच्दा
माैन रहन्छन्

भीष्महरू
अद्वितीय धनुर्धारी छु भन्ठान्छन्
शक्तिसम्पन्न छु भन्ठान्छन्
तर
दुर्याेधनकाे दम्भका विरुद्ध
शकुनिकाे षडयन्त्रका विरुद्ध
राष्ट्रहीत विपरीत
नीति विपरीत
धृतराष्ट्रकाे महत्त्वाकाङ्क्षा विरुद्ध
बाेल्न सक्दैनन्
चुइँक्क बाेल्दैनन्

भीष्महरू
ब्रह्मनिष्ठ ब्रह्मचारी हुँ भन्छन्
रामनामीमा बेह्रिन्छन्
जुँघादाह्री बढाउँछन्
नीति पढाउँछन्
तर
गुण्डाले
कुमारीहरू अपहरण गरेझैं
अम्बा, अम्बिका र अम्बालिकाकाे
अपहरण गर्छन्

मर्यादाकाे पाठ पढाउनेहरू
कुलकाे इज्जत बढाउनेहरू
त्याग र बलिदानका प्रतिमूर्तिहरू
वलिष्ठ भए पनि
भारी सभामा
कुलगुरूसँगै बसेर
कुलबधूकाे चीरहरण भएकाे तमासा
टुलुटुलु हेर्छन्
हाम्रा भीष्महरू

नवलपरासी !

One Response

  1. श्याम न्यौपाने ज्युको कविता “भीष्महरू” शीर्षक रोजाइ राम्रो छ। कविताको विषय वस्तु पनि दमदार लाग्यो। सुझाव : हरफहरू छोटा छोटा भए, केही जोडेर लामो पार्नुपर्छ। समग्रमा साह्रै उच्च कविता ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *