३ चैत २०७९, शुक्रवार

सडक दौडमा भूमिराज र मनिषा प्रथम !

सडक दौडमा प्रतियोगितामा छात्रतर्फ भूमिराज नेपाली र छात्रातर्फ मनिषा खत्री प्रथम भएका छन् । ३२ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनिका छात्रछात्राबीच सडक दौड प्रतियोगिता आयोजना गरिएको थियो ।

जिल्ला खेलकुद विकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगीतामा छात्रतर्फ प्रथम भएका बेनी बोर्डिङ आवासीय माविका नेपालीले ८ किलोमिटर दुरी २४ मिनेट ६ सेकेण्डमा पार गरेका थिए। दोस्रो भएका भानु माविका महेश किसानले २४ मिनेट ३५ सेकेण्ड, तृतीय हुनुभएका थामडाँडा युवा क्लबका मनिष गुरुङले २५ मिनेट २० सेकेण्ड र चौथो हुनुभएका बेनी सामुदायिक माविका रामबहादुर चित्रकारले २६ मिनेट १५ सेकेण्डमा ८ किलोमिटर दुरी पार गरेका थिए ।
छात्रातर्फ प्रथम हुनुभएकी हेम मावि शिवाङकी खत्रीले ३३ मिनेट, द्वितीय भएकी न्यु वेष्ट पोइन्ट आवासीय माविका एन्जिला खत्रीले ३४ मिनेट ४७ सेकेण्ड र तृतीय भएकी प्रकाश माविकी देवी थापाले ३८ मिनेट ४७ सकेण्डमा दुरी पार गरेका थिए भने ४१ मिनेट लगाएका बेनी सामुदायिक माविका तारादेवी क्षेत्री, सुजा बानियाँ र विनिता क्षेत्री तीनै जना सान्तवना भएका थिए । प्रथम, द्वितीय, तृतीय र सान्तवना हुनेलाई क्रमश आठ हजार, पाँच हजार, तीन हजार र एक हजारका दरले पुरस्कार वितरण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना, जिल्ला खेलकुद समितिका अध्यक्ष दिनेस केसी, प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ, प्रदेश सदस्य चन्द्रा घले, कार्यालय प्रमुख दानबहादुर राइले पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *