१५ चैत २०७९, बुधवार

कम्युनिस्ट आन्दोलन जोगिनुपर्छ: नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको कब्जामा रहेर प्राइभेट कम्पनीमा रुपान्तरित नेकपा एमाले प्रमुख प्रतिद्वन्द्वी भएको बताएका छन् । मंगलबार पोखरामा आयोजित नेकपा समाजवादीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले केपी ओलीले शत्रु घोषणा गरेको बताए ।

ओलीले अनुहार समेत नहेर्ने घोषणा गरेको भएपनि संजोग काँग्रेसको अधिवेशनमा अनुहार हेर्नु परेको नेता नेपालले ब्यङ्ग्य गरे ।  ओलिले अवैध प्रक्रियाबाट पार्टी विभाजन गराएको आरोप लगाउँदै समाजवादीका सांसदको सहभागितामा संसद चलाउन नदिएकोप्रति ब्यङ्ग्य गर्दै आफ्नो उपस्थितिले ओलीको सातो जाने गरेको नेपालले बताए ।

‘म संसद चलेको बेला बाहिर आएँ, अहिले म बाहिर भएको मौकामा केपी ओली संसद छिर्न बेर छैन, कमसेकम मेरो उपस्थितिले केपीको सातो गैरा छ नि,’ उनले भने, ‘उसले हामीलाई शत्रु घोषणा गरेको छ, हाम्रो अनुहार पनि हेर्दिन भन्या छ, कस्तो संजोग काँग्रेस महाधिवेशनमा अनुहार हेर्दै जानु परेछ, काँग्रेसको कार्यक्रममा आउन पनि हुने, एउटै स्टेजमा बस्न पनि हुने तर, संसदमा छुवाछुतको व्यवहार गर्छन्, संसदमा आउँछन् नारा लगाउँछन् ।’ उनले ओलीलाई आफूहरुलाई कारबाही गर्ने अधिकार नभएको समेत बताए ।

अध्यक्ष नेपालले ओलीको भ्रम चिरेर वास्तविकता जनता सामु बुझाउन गाउँ–गाउँसम्म अभियान चलाउनुपर्ने बताए । उनले भने, ‘नेपाल राष्ट्रको गरिमा माथि उठ्नुपर्छ । कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिष्ट आन्दोलन लोकप्रिय बनाउन सक्नुपर्छ । नेपाली जनताको विश्वास जित्नुपर्छ । वामपन्थी राजनीतिको मर्मलाई आत्मसात गरेर हामीले आन्दोलन सुरु गरेका छौ । यसलाइ नयाँ उचाईमा पुर्याउन आवश्यक छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *