२३ जेठ २०८०, मंगलबार

कविता “समाजसेवा”

प्रकाश बज्राचार्य

आफ्नै घरकाे चुलाे बल्याे
कि बलेन?
थाहै भएन
घरका परिवार भाेकाे पेट ?
भए भएन वास्ता भएन
घरकाे आर्थिक समस्या केहि हेका भएन
समाज देश भन्दै कपाल सेतै फुलेकाे यादै भएन।

आफ्नै घरकाे चुलाे बल्याे
कि बलेन?
थाहै भएन।

झुन्डिएका मायाको चिनाे
झुन्डिएका सम्मान पत्र
गडगडाहट तालीले साथै छाेडेन
वाह वाह भन्थे।
सबैले आफ्नै साेच्थे
हजुर त यस्ताे उस्ताे भन्थे
मान सम्मानकाे लर्काे लगाउथे
खादा माला लगाईदिन्थे
बिराजमान गराउँथे
नाक फुलेकाे थाहै भएन।

आफ्नै घरकाे चुलाे बल्याे
कि बलेन?
थाहै भएन।

दम हुँदा
तागत हुँदा
सबैकाे वाह वाह खादा
सबै वरपर झुम्मिदा
सबैले आहा भन्दा
अर्कालाई हेर्दा आफू बिलाएकाे मेसाे पाईन
जब
उमेरसँगै
समयसँगै राेगी हुँदा
अस्पतालकाे बेडमा छटपटाउँदा
उपचारमा रकमकाे अभाव हुँदा
एउटा दिलकाे महानुभाव भेटिएन
दानकाे आश गर्नु बाहेक केही रहेन।

आफ्नै घरकाे चुलाे बल्याे
कि बलेन?
थाहै भएन।

संसार यस्तै रहेछ साेचिएन
आखिर साथ दिने काेही भएन।
ती मायाकाे चिनाे
ती सम्मान पत्र
न बेच्न मिल्ने
न धिताे राख्न मिल्ने कामै भएन
आफैले आफैनै खुट्टामा बञ्चराे हानेकाे ख्यालै भएन
अन्त त जिन्दगी आहा नै भएन।

आफ्नै घरकाे चुलाे बल्याे
कि बलेन?
थाहै भएन।

निवर्तमान अध्यक्ष साईकल सिटी पाेखरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *