२४ जेठ २०८०, बुधवार

गाउँ तिमी शाहससाथ उठ्नु पर्छ !

बैकुण्ठ भुसाल (कविता)

हिजाेपनि तिमीले धेरै पीडा सह्यौ
कहिले बुटवल र थाक खाेलामा पुगेर
मिठाे घ्यू ,मिठा चामल र पसिनाले
साटेर नुन चामल र लुगाफाटाहरु
हप्तौं ,हिँडेर उकाली अाेह्रालीहरु
चलाउँदै ढिकी र जाँताहरु
भीर खनेर सम्याउँदै गराहरु
अादिम युग जस्तै ,कृषि युगमा
पखला लाग्दा पानी पिउनु हुन्न
सुत्केरीले रसादार फलफूल खानु हुन्न भन्ने अौषधीबिनाकाे भ्रमित चेतनामा
सती ,दास ,जस्ता कुरीतिका प्रथाबाट
रजस्वला ,अनमेल विवाह ,लैङगीक विभेद
धार्मिक ,जातीयता , धेरै विभेदका कहरबाट
अन्ध विश्वास र कुरीतिका भ्रमजालबाट जेलिएकाे
पीडैपीडाले दुख्दै दुख्दै आइरहेकी तिमी
कति बदलिएर खुशि छ्यौ
कति नबदलिएर दुःखी छ्यौ
आत्म समीक्षा हुनु पर्छ आज
नाराले बदलिएकाे विचारले अझै नबदलिएकाे आज
काेही हाँसिरहेकाे काेही ,राेइरहेकाे अझैपनि
काेही अग्लिइरहेकाे काेही हाेच्चिइरहेकाे
काेही हेपिरहेकाे काेही हेप्पिइरहेकाे आजपनि
विभेदका क्रूरताबाट सुस्केरा सुसाइरहिछौ
उकाली ओह्रालीमा भारी बाेक्दै राेइरहिछौ
नारा भाषणले खादा मालाले बदलिएको
सारमा खासै नबदलिएकाे गाउँ तिमी
आजपनि भूसकाे आगाे जस्तै जलिरहिछौ
अन्तर पीडाले भित्र भित्रै राेईरहिछौ
अपहेलनाकाे भावमा उदासीन बनिरहिछौ
अझैपनि पछौटेपनमा टोल्हाइरहिछौ ।

बसाइँसराइकाे मर्म वाेधले हिजाे राेएकाे तिमी
आजपनि त्यही पीडाले राेइरहिछौ
खाली घर र कटेराहरु वरिपरि चारैतिर
सिस्नोघारी र वनमासाले ढाकिएका गाउँ तिमी
बाँझा खेत र बारीहरु हुँद‌ै गइरहेछन्
हिजाे पाखे भनेर हाेच्याउने त्यही हिनताबाट
उच्च सभ्यता हुँदा हुँदैपनि विभेदकारी दृष्टिदाेषबाट
आजपनि मुक्त हुन सकिनौ
गाउँ तिमी अझैसम्म पनि आफ्नै उन्मादमा हाँस्न सकिनौ ।

हात्ती ,ग‌ैँडा र बाघबाट ग्रसित तिमी
स्याल बाँदर र दुम्सीबाट प्रताडित तिमी
असिना तुषाराे अति र खण्ड वृष्टिबाट
सलहा लाइ र गवाराेबाट
बढ्दाे तापमान र बदलिँदो पर्यावरणबाट
न्यून उत्पादन र न्यून मूल्यबाट
त्यही जीवन गुजारा कृषि कर्मबाट
मर्नु न माेटाउनुकाे पुरातन पेशाबाट
लिनु न छाेड्नुकाे मनाेविज्ञानबाट
बसीरहौँ वा बसाइँ सरौँकाे दाेधारेमनमा
बदलिएकाे र नबदलिएकाे दाेधारेपनकाे
आधा पाकेकाे र आधा काँचाे दर काँचाे जस्तै
हतभागी बन्दी भएर हाेइन अब गाउँ तिमी
परिवर्तकाे सम्बाहक भएर उठ्नु पर्छ
बदलिँद‌ै बदलेर नव युगका निम्ति
उठ्दै उठाउँदै सुखी जीवनका निम्ति
हाेस्टेमा हैँसे गर्दै गाउँ गाउँ मिल्दै
कुरीति र कुसँस्कारलाई निर्मूल गर्दै
नवीन सम्भावना खाेजि गर्दै
उत्पादनका नयाँ प्रयाेग गर्दै गर्दै
स्वावलम्बनका नयाँ दिशा पहिल्याउँद‌ै
एकताकाे भाव लिई अघि बढ्दै
समृद्धिकाे नयाँ विहान ल्याउन उठ्नु पर्छ
सभ्यताकाे नयाँ उज्यालाे ल्याउन उठ्नु पर्छ
गाउँ तिमी शाहससाथ अब उठ्नु पर्छ ।

२५ मंसिर ०७८ शंकरपाेखरी ,पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *