सन्तोष पौडेल
राष्ट्रिय/ अन्तराष्ट्रिय रूपमा विशेष महत्वका साथमा हेरिएका बाल अधिकारका बिषयहरू नेपालले सन् १९९० सेप्टेम्बर १४ मा संयुक्त राष्ट्रसंघको बाल अधिकार सम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेसंगै थप प्राथमिकताका साथ उठ्न थाले । बाल अधिकार सम्बन्धि गतिविधिहरूलाई थप प्रभावकारी बनाउन बालबालिका सम्बन्धि ऐन,२०७५ को दफा ५९ मा राष्ट्रिय बाल अधिकार षरिषदको गठन सम्बन्धि ब्यबस्था गरिएको छ जसका गतिविधिहरूले बालबालिकाको क्षेत्रमा धेरै सुधार आएको छ ।
बाल अधिकार र बाल संरक्षणको लागि दर्जनौ राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरू पनि नेपालका ग्रामिण क्षेत्रमा पुगेका छन् । यसरी बालबालिकाको अधिकारको संरक्षण गर्न सरकारी र नीजि क्षेत्रबीच समन्वय गरि क्रियाशील रूपमा लागिरहेको अबस्थामा पनि बालबालिकाको क्षेत्रमा सोचे जस्तो सुधार आउन नसक्नु सिंगो राष्ट्रकै लागि दु:खद पक्ष हो । यसका मुख्य कारण बालबालिकाको घर परिवार नै हो । बच्चा जन्मेको करिब ४ बर्ष सम्म घरपरिवारमा नै सबै समय बिताउने गर्छ । यस समयमा घरपरिवारका सदस्यहरूले गर्ने ब्यबहारलले बच्चाको लक्ष्य र बिकासमा अप्रत्यक्ष रूपमा प्रभाब पारिरहेको हुन्छ ।
पछिल्लो समय नेपाली समाजमा देखिएका केही घटनाहरूबाट घर परिवारले नै बालबालिकाको चौतर्फी विकासमा अबरोध सिर्जना गरेको प्रष्ट हुन्छ । कतिपय बाबुआमाले कार्यब्यस्तताका कारण उमेर नपुग्दै बालबालिकालाई बिद्यालयमा भर्ना गरेको पाईन्छ, जसका कारण बाल मस्तिष्कले स्वतन्त्रता प्राप्त गर्न सक्दैन । घरमा परपाहुना आएको दिन बालबच्चाको मनपरेको परिकार सोधिदैन र पाहुनासँग कुरामा ब्यस्त भएर बच्चालाई समय पनि दिइँदैन जसबाट बाल मस्तिष्कमा नकरात्मक असर पर्न जान्छ । ग्रामिण क्षेत्रहरूमा अभिभावकहरूबाट नै सुर्तिजन्य पदार्थ किनेर ल्याईदिन लगाईन्छ जसका कारण बालबालिका लागुऔषध दुर्ब्यशनीमा पर्ने प्रबल सम्भावना रहन्छ ।
कतिपय अभिभावकले जबरजस्ती बिषय छनोट गराएर बिद्यालयमा भर्ना गराएको र दोस्रो ब्यक्तिसंग तुलना गरि परीक्षामा हाँसिल गरेको अंकको आधारमा ब्यबहार गर्ने गरेको पाईन्छ । यसरी घर परिवार र बालबालिकाका संरक्षणकर्ता अभिभावकबाटै बाल अधिकारको हनन् हुनु, सरकारले तय गरेको लक्ष्य माथि तगारो बनेको छ । जसको सुधारको लागि अब परिवारको सदस्यहरु नै सचेत बन्नु पर्ने देखिन्छ ।
पर्वत