कविता “चेतनाको नदी“
—————
-लक्ष्मण थापा
भगीरथ प्रयत्न बिना
कहाँ झर्दथ्यो र शिबको शिरबाट गंगा
वसुधाको वक्षबाट बगिरहेको चेतनाको नदी
चेतनाको प्रसव बोकेका आदिमानव फोसिल
आग्नेय म्याग्माका औरस सन्तति
ठ्या पुत्र शालिग्राम संकलन उद्योगमा कारिन्दा छ
बालुवाको टाहार चढाउँदैन अर्घ दिवसारम्भतिर
ठिंगुरियो
गडतीरमा रोपेको आगोको बिउ
पिपलको बिजभित्र देखेको थियो
बृक्षको बिशालता
अनदेखा गर्दैछ मोहपथगामी याचक भूपति
निष्त्रि्कयवस्थामा थिए जूनकिरीहरू
भानुको मुहार ताकेर
गुलेली हान्दै थिए सूर्यमुखी आकृतिहरू
पाहार ताप्न खोज्ने पाहाहरूले
कुवा खन्न खोजेको दृष्टान्त पाइँदैन
प्रागैतिहासिक विप्लवी कथाका पाना मुसाहरूले कोतरे
अँध्यारो ओढारको मुखमा अग्निचक्र
दावानलको उत्सवले आलोकित छ नागदह
खुल्दै गैरहेका छन् झ्यालका पलेटाहरू
उड्दै गैरहेका छन् अपुष्ट भावहरू
गाजल झैं मेघका महासभामा
तिरिरी बिद्युत रेखा चुहिंदै गयो
मेसोपोटामियाका भग्नावशेषहरूबाट
बगेको थियो निल नभ सदृश क्षीर सागर
अंशुवर्मा अँध्यारोमा अगुल्टो हु-याउँदै आएका थिए
अगुल्टो अगुल्टोसंग ठोस्दै ठोस्दै
रात रातभर अनुष्ठान लिप्त रह्यो अघोरी
झिल्काहरू उठाउँदै उडाउँदै बगिरह्यो चेतनाको नदी !
२०७८/०८/०८
टेक्सास