विश्व पञ्चाङ्ग निर्णय संघ, केन्द्रीय समिति, काठमाण्डौ, नेपालद्वारा २०७८मंसिर १ गते आरम्भ गरि एक महिना भरी सन्चालन भएको पञ्चाङ्ग गणित/फलित ज्योतिष प्रशिक्षण-२०७८ सम्पन्न भएको छ । एक महिनाभर चलेको प्रशिक्षण यही २०७८ पौष १ गते समापन गरिएको हो ।
समापन समारोहमा नेपाल देशीय पंचाङ्ग गणनाका लागि ज्योतिषशास्त्र र धर्मशास्त्रका विज्ञहरूले आआफ्ना धारणा राखि विमर्श गर्नु भएको थियो। विश्व पंचाङ्ग निर्णय संघ पोखरा, विन्ध्यवासिनी, मिरुवा स्थित सचिवालयको प्राङ्गणमा सम्पन्न भएको समापन समारोहमा विन्दुवासिनि संस्कृत विद्यापीठ पोखराका प्राचार्य तथा समारोहका प्रमुख अतिथि डा. जगन्नाथ रेग्मी ज्यूले पंचाङ्ग गणित प्रशिक्षणले ज्योतिषीहरूको श्रीवृद्धि, वौद्दिक उन्नयन, र पंचाङ्ग गणनामा दक्ष जनशक्ति उत्पादन गर्न टेवा पुगेको र शुद्द पञ्चाङ्ग गणना भई समाजमा तिथि, बार, नक्षत्र, योग र करण र तिनका घडीपला अनुसार चाडपर्व र व्रतादिहरुको सही निरुपण र निर्णयका साथ मार्गदर्शन हुनेमा विश्वास व्यक्त गर्नु भयो । विशिष्ठ अतिथिद्वय डा. बलराम उपाध्याय रेग्मी र गण्डकी पञ्चाङ्गका पंचाङ्गकार ज्यो. हिरामणि कास्यपले छलफल र विमर्शमा नेपाल देशीय पञ्चाङ्गहरुमा एकरुपता, बैधानिकता र प्रमाणिकरणको आवस्यकतामा जोड दिनु भयो।
पञ्चाङ्ग निर्णय संघका पदाधिकारीहरूलाई पदस्थापन र सम्मान समेत गरिएको उक्त कार्यक्रममा इलाम नगरपालिका बरबोटे, इलाम निवासी, सङ्घका सचिव तथा प्रशिक्षण-२०७८ का मुख्य प्रशिक्षक एवम् महाकालेश्वर पञ्चाङ्ग सारिणीकर्ता ज्योतिर्गणितज्ञ २७ वर्षीय ज्योतिर्विद गोविन्द सापकोटाज्यूलाई अभिनन्दन गरिएको थियो।
मुख्य प्रशिक्षक गोविन्द सापकोटाद्वारा एक महिनाभरी प्रशिक्षणमा बताइएका कुराहरुको निष्कर्ष, पञ्चाङ्गको उपयोगिता र महत्वका बारेमा प्रकाश पार्नु भएको थियो। प्रशिक्षार्थीहरुका तर्फबाट ज्यो. वावुराम तिमिल्सिना शर्मा, ज्यो. विवेचना अधिकारी(नानी विवु), ज्यो. सूर्य पौडेल, र ज्यो. जावन श्रीसले शुभकामना मन्तव्य दिनु भएको थियो भने प्रशिक्षण व्यवस्थापक ज्यो. रामचन्द्र भण्डारीले कार्यक्रममा सहयोग पुर्याउनु हुने संघ संस्था, व्यक्तित्व र उपस्थित अतिथि गणहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
विश्व पञ्चाङ्ग निर्णय संघको पोखरा, मिरुवा स्थित सचिवालयमा सम्पन्न कार्यक्रमको पंचाङ्ग निर्णय संघका अध्यक्ष तथा नेपाल पंचाङ्गका पंचाङ्गकार ज्यो. नारायण प्रसाद नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तथा मुक्तिनाथ पंचाङ्गका पंचाङ्गकार पं. ज्ञान प्रसाद भण्डारी ज्योतिषाचार्य ज्यूको स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको संचालन महासचिव ज्यो. हरिश्चन्द्र भण्डारीले गर्नु भएको थियो।