पोखराकी नारी हस्ताक्षर लिली अधिकारीको ‘पहराको फुल’ कविता सङ्ग्रह लोकार्पण गरिएको छ । पोखरामा एक कार्यक्रमको आयोजना गरी सगरमाथा साहित्य प्रतिष्ठानले अधिकारीको कृति प्रकाशन गरेको हो ।
पुस्तकको लोकार्पण गर्दै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले जति धेरै अध्ययन भयो उति नै राम्रो लेखन कार्य हुने भन्दै पहरामा कतै लिली फुलेको नदेखेको तर कवयित्री अधिकारीले पहरामा पनि कविताका फूलहरू फुलाउन सक्नुभएको बताउनुभयो ।
कवयित्री अधिकारीले कृतिमा कठिनता नै कठिनताको अन्धकार महासागर, कतै टाढा देखिने जीवनका पिलपिले बत्तीहरू नै कविता रहेको बताउनुभयो । उहाँले विद्यालयका कविता र महाभारतका श्लोक सुन्दा सुन्दै कविता लेख्ने हुटहुटी लागेको बताउनुभयो । आवरण बिम्ब कवि रमेश श्रेष्ठको रहेको ‘पहराको फुल’ मा ५६ वटा कविता समावेश छन् ।