नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज )म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत चयन हुनुभएको छ ।जनजाति पत्रकारहरुको साझा संगठन फोनिजको शनिबार सम्मपन्न प्रथम अधिवेशनबाट राम्जाली अध्यक्षमा चयन हुनुभएको हो । तदर्थ समितिको संयोजक समेत रहनुभएका अध्यक्ष राम्जाली आदर्श समाज दैनिक ,न्युज २४ टिभीको म्याग्दी संवाददाता हुनुहुन्छ भने म्याग्दी न्युज डटकमको प्रकाशक समेत हुनुहुन्छ । कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र सह–सचिवमा मनु थापा मगर रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा सुर्दशनकुमार श्रेष्ठ ,दिपा बुढाथोकी, लिलकुमारी पुर्जा र थबहादुर पुन रहनुभएको छ । अधिवेशनबाट प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रिय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन हुनुभएको छ ।
अधिवेशनको उद्घाटन गर्नुहुँदै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापा मगरले संविधानले दिएको अधिकार र सुविधा प्रयोग गर्न सक्षम जनशक्ती तयार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले समावेशी व्यवस्थाको उपभोग गरेर आदिवासी जनजातीहरु राज्यको हरेक निकायमा पुग्न अग्रसर बन्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले पत्रकारिता प्रति आकर्षण बढाउन ,टिकाउन र क्षमता विकासमा जोड दिनुभयो । उहाँले फोनिज संग पत्रकार महासंघले आवश्यक सहकार्य गर्ने समेत बताउनुभयो । अध्यक्ष राम्जालीले संगठनको कार्यक्रम अनुसार आगामी दिनमा जनजाती पत्रकारहरुको क्षमता अभिबृद्धी र पत्रकारीता क्षेत्रमा आकर्षण बढाउन कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।
प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँ ,प्रेस सेन्टर म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्माले पत्रकारीताको विकास र प्रर्वद्धनका लागि सम्बद्ध सबै संगठनहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो ।राम्जालीको अध्यक्षता, सदस्य मनु थापामगरको स्वागत र समिर रोका मगरले कार्यक्रम संचालन गर्नुभएको थियो ।