सन्तोष पौडेल
जोस, जागरले भरिएको शरीर अनि बौद्दिकताले भरिपूर्ण मस्तिष्क, कलमबाट क्रान्तिको अठोट बोकेर संघर्षको मैदानमा उत्रिएका सम्पूर्ण विद्यार्थीहरू राज्यमा भएका राजनैतिक र सामाजिक परिवर्तनमा ठूलो योगदान गरेपनि परिवर्तित् राज्य ब्यवस्थाले विद्यार्थीहरूलाई विशेष प्राथमिकतामा राखेर कार्ययोजनाहरू तय गर्न सकेन । जसकारण राजनैतिक परिवर्तन पछाडि पनि विद्यार्थीका मुद्दाहरू ओझेलमा परिरहे । यसैसन्दर्भमा विद्यार्थीहरूको सहयात्रीको रूपमा ओझेलमा परेका मुद्दाहरूलाई उर्जागर गर्दै विद्यार्थीहरूको हकहितको लागि बिद्यार्थी आन्दोलनलाई बुलन्द बनाउन नेपालको गौरवशाली विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू ) स्थापना कालदेखि नै सबै बिद्यार्थीको मन मुटुमा बस्न सफल भएको छ ।
ने.क.पा एकीकृत समाजवादी निकट रहेको यस विद्यार्थी संगठन रचनात्मक र सिर्जनात्मक कार्यक्रमबाट विद्यार्थीहरूको क्षमता अभिवृद्दि साथै शान्तिपूर्ण तरिकाबाट विद्यार्थीका मागहरूलाई पूरा गर्ने विद्यार्थीको महत्वपूर्ण हतियारको रूपमा रहेको छ । कलेजको शुल्क बढ्दादेखि पेट्रोलको मुल्यबृद्दिले विद्यार्थी जीवनमा पार्ने आर्थिक भारलाई मनन् गर्दै ग्रामिण क्षेत्रका निम्न आय वर्गका विद्यार्थीहरूले समेत सहजै आफ्नो अध्ययन पूरा गर्न पाउनुपर्छ भनेर आवाज उठाउने यस विद्यार्थी संगठनले प्राकृतिक विपतको बेलामा समेत बिपत प्रभावित क्षेत्रहरूमा स्वयम सेवक र राहत वितरणका कार्यक्रमहरूमा अग्रसर भएको छ । ब्यक्तिवादी चिन्तनलाई कुल्चेर विद्यार्थीका साझा मुद्दाहरू विद्यार्थी आन्दोलनको माध्यमबाट समाधान गर्ने औजारको रूपमा अनेरास्ववियू रहेको छ । विद्यार्थी आन्दोलन सदा प्रतिपक्ष (राम्रो कामको स्वागत र नराम्रो कामको बहिष्कार गर्ने ) आन्दोलनको रूपमा अडिक रहने मान्यता यस संगठनको रहेको छ । पछिल्लो समय पूर्व प्रधानमन्त्री के.पी ओलीले दुई- दुई पटकसम्म नेपाली जनताको लामो संघर्षबाट प्राप्त संविधानमाथि प्रहार गर्दा यसै संगठनले विरोधका कार्यक्रमहरू ब्यापक रूपमा संचालन गरि संविधानको अस्मितालाई जोगाएको छ । भारतले नेपाली भूमि हडप्दा समेत सडकमा पुगेर सरकारलाई ध्यान आकर्षण गराउने कार्य यस संगठनले गरेको छ । देशका कुनाकाप्चामा रहेका विद्यार्थीहरूका आवाजहरूलाई बुलन्द पार्न प्रत्येक बिधालय, क्याम्पस, स्थानीय तह, जिल्ला, प्रदेश र संघमा कमिटीहरू निर्माण गरि संगठनलाई देशव्यापीकरण गरेको छ । साथै विद्यार्थीहरूमा लुकेका प्रतिभाहरूलाई अझ बढी प्रोत्साहन गर्नका लागि रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरू हरेक तहका कमिटीहरू मार्फत संचालन गर्दै आईरहेको छ । विद्यार्थीहरूका भान्सादेखि राष्ट्रय तथा अन्तराष्ट्रिय गतिविधिहरूमा सुक्ष्म नजर लगाएर समृद्द नेपालको लक्ष्य प्राप्तिको लागि नेपाली जनताहरूको सहयात्रीको रूपमा अनेरास्ववियू अगाडि बढिरहेको छ । विद्यार्थी आन्दोलन कहिल्यै पनि सत्ताको गुलाम बन्न नहुने धारणाका साथ अगाडि बढिरहेको यस संगठन विद्यार्थी संगठनको नाममा ब्यक्तिगत श्वार्थ प्राप्ति गर्ने , सत्ताको गुलामी गर्ने र विद्यार्थी आन्दोलनको ईतिहासलाई कसैको पाउमा समर्पित गर्नेहरू कदापि विद्यार्थीहरूको संगठन हुन नसक्ने कुरालाई आत्मसाथ गर्दै त्यस्ता ब्यक्ति हरूलाई जरैदेखि उखेलेर बिसर्जन गर्नुपर्ने मान्यता राख्दछ ।
यसरी विद्यार्थीहरूको सुख र दु:खमा साथ दिने, साझा मुद्दाहरूको वकालत गर्ने नेपाली विद्यार्थीहरूको गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू )मा आवद्द भई नेपालको शिक्षा पद्दति र विद्यार्थीप्रति राज्यले हेर्ने दृष्टिकोणमा ब्यापक परिवर्तन ल्याउनु आजको आवस्यकता देखिन्छ ।
(लेखक पौडेल अनेरास्ववियू पर्वतको सचिव हुनुहुन्छ)