१६ असार २०७९, बिहिवार

सङ्घर्षशील–सिर्जनशील असफल र प्रिन्सा सम्मानित !

अम्बिका–भागवत फाउण्डेशनले दोस्रो वार्षिक साधारण सभाका बीच सङ्घर्षशील र सिर्जनशील प्रतिभा सम्मान तथा पुरस्कार अर्पण गरेको छ ।
फाउण्डेशनद्वारा सञ्चालित सङ्घर्षशील सामाजिक पुरस्कार–२०७८ बाट सङ्घर्षशील सामाजिक अभियान्ता असफल गौतम सम्मानित भएका छन् । हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कारको राशि २५ हजार एक सय ५१ रहेको छ ।
यस्तै सिर्जनशील सामाजिक पुरस्कारबाट बाल अभियान्ता प्रिन्सा रेग्मी सम्मानित भएकी छन् । सोही अवसरमा प्रेन्सा ट्रष्टका लागि छ हजार एक सय ५१ सहयोग प्रदान गर्नुका साथै सुनिल गायक र अम्बिका भण्डारीलाई फाउण्डेशनका संस्थापकको गीतमा संगीत र स्वर प्रदान गरेको पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
सम्मानित प्रतिभाद्वयलाई प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कुशुमकेशव पराजुली, फाउण्डेशन संस्थापक अम्बिका नेपाल, अध्यक्ष भागवत नेपाल र प्रतिभा छनौट समिति संयोजक शिवनारायण बिजुक्छेले संयुक्त रुपमा नगद, दोसल्ला, सम्मानपत्रसहित अर्पण गरे ।
वरिष्ठ पत्रकार पराजुलीले सङ्घर्षशील र सिर्जनशील प्रतिभालाई एउटै मञ्चमा पुरस्कृत गरेर फाउण्डेशनले आफ्नो गौरव र गरिमा उचो बनाएको बताए । अतिथि पराजुलीले सामाजिक संस्थालाई राज्यले हेर्नुपर्नेमा त्यो हुन नसकेकाले आफ्ना ठाउँबाट केही पहल गर्न सकिन्छ कि भनेर आफू पनि समय सामाजिक संघसंस्थाको उन्नति र विकासमा लागेको औल्याए ।
सम्मानित स्रष्टा असफल गौतमले आफ्नै विवाहका दिन श्रीमतीलाई घरमा जोडेर आफ्नो जिम्मेवारीमा पुगेको स्मरण गर्दै समाजमा मतिरामहरु मतिहिन र धर्मराजहरु विधर्मी हँुदा समाज विशृङ्खल हुँदै गएको बताए । साथै, उनले २०६८ सालदेखि नै आफूले प्राप्त गरेका दान, दक्षिणा, सम्मान र पुरस्कारको रकमबाट चारवटा अक्षयकोष स्थापना गरेर सीमान्तकृत स्रष्टा र समुदायका प्रतिभालाई प्रोत्साहन गर्दै आएकाले संघर्षशीला सामाजिक सम्मानको रकम पनि तिनै चार अक्षयकोषमा जम्मा हुने जानकारी गराए ।
बाल सामाजिक अभियान्ता प्रेन्सा रेग्मीले बाबुआमा आफ्ना छोराछोरीको प्रगतिमा खुसी हुने र छोराछोरीका असल कर्मबाट चिनिन पाउँदा गौरव गर्ने भएकाले सबैलाई असल कर्म गर्नका लागि अनुरोध गरिन् ।
प्रेन्सा ट्रस्ट स्थापना गरी फुड बैंक, बुक बैंक सञ्चालन गर्दै आएकी रेग्मीले जीवनमा धेरै असल काम गर्न बाँकी रहेको बताइन् ।
प्रतिभा छनौट समितिका संयोजक शिवनारायण बिजुक्छेले सम्मानित स्रष्टाको परिचय राख्दै असफल गौतमलाई सभ्य समाजको एउटा ज्योतिका रुपमा परिचित गराए । उनले असफल गौतम जस्ता प्रतिभालाई सम्मान अर्पण गर्न पाउँदा आफूलाई फाउण्डेशन आफैँ सम्मानित भएको आभाष भएको धारणा राखे ।
फाउण्डेशनका अध्यक्ष भागवत नेपालले फाउण्डेशन सदा सीमान्तकृत समुदायका आधारभूत आवश्यकता परिपूर्तिमा क्रियाशील रहेको बताए ।
कोषाध्यक्ष माधवी नेपाल थापाले आर्थिक र सचिव देवी श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गरेको सभामा कानुनी सल्लाहकार विनिता नेपाली, समाजसेवी गोविन्द दवाडी, माया तिवारी, अम्बिका भण्डारी, वर्षा श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
सोही समारोहबीच फाउण्डेशनको संरक्षकत्वमा एसइइ उत्तीर्ण गरेका चार जना विद्यार्थी वर्षा श्रेष्ठ, आकृति खड्का, कृषिक सेन्चुरी र विवेक श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । यस्तै संस्थाका संस्थापक सदस्यहरुलाई संस्थापक सदस्यताको प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

One Response

Leave a Reply

Your email address will not be published.