साहित्यकार दीपक समीपको मुक्तक सञ्चयन अक्षर अक्षरमा देश शनिबार लोकापर्ण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक भव्य कार्यक्रमको आयोजना गरेर कृति लोकापर्ण गरिएको हो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै श्रेष्ठले हतारमा कृति प्रकाशन गरेर पछुताउनु भन्दा समय लिएर कृति प्रकाशन गर्नु उपयुक्त हुने बताउनु भयो । पहिलो कृति प्रकाशन गरेको झण्डै १६ वर्षपछि नयाँ कृति प्रकाशन गरिएपनि आगामी दिनमा भने यति लामो अन्तर नराख्न उहाँको सुझाब थियो । कृतिमा समावेश मुक्तकको तारिफ उहाँले गर्नुभयो ।
समिक्षक सञ्जीव पौडेलले मसिनोगरी कृतिका बारेमा समिक्षा गर्ने प्रयास गर्नुभयो । पौडेलले अधिकांश समय श्रष्टाको प्रशंसामानै खर्चनुभएको थियो । पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष डा.इश्वरमणी अधिकारीले दीपक समिपको बारेमा सबैलाई चिनाउनुभयो ।
परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको लोकापर्ण समारोहमा वरिष्ठ कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, विम्बकवी रमेश श्रेष्ठ, पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष जीवनसागर भण्डारीले श्रष्टा समिप तथा उहाँको मुक्तक संग्रहको बारेमा बोल्नुभयो । कार्यक्रममा आफ्नो भनाई राख्दै श्रष्टा दीपक समीपले सबैको साथ सर्पोटकै कारण कृति प्रकाशन गर्न हौसिएको सुनाउनुभयो । सबैको माया र साथका कारण उर्जा थपिएको उहाँको भनाई थियो ।
परिवारका कोषाध्यक्ष अर्जुन अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहित्य संयोजक रिता अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार रुपिन्द्र प्रभावीले मुक्तक संग्रहमा समावेश केही मुक्तक वाचन गरेर सुनाउनुभएको थियो । विएन पुस्तक संसार मार्फत प्रकाशनमा आएको कृतिमा १ सय १ वटा मुक्तक समावेश छन् ।
त्यसोत समीप पोखरेली युवा साँस्कृतिक परिवारका पूर्व अध्यक्ष हुनुहुन्छ । बुबा रामबहादुर र मुमा नानिमाया श्रेष्ठको तेस्रो सन्तानको रुपमा लम्जुङ सोतीपसलमा जन्मिनुभएका समिपको बाल्यकालदेखिनै साहित्यतर्फको झुकाव थियो । उहाँले आठ कक्षा पढ्दाबाट मुक्तक लेख्न शुरु गर्नुभएको हो । स्कूलमा आयोजना हुने विभिन्न प्रतियोगितामा भाग लिई पुरस्कारसमेत जित्नुभयो ।
२०४९ सालमा लमजुङबाट साहित्यको उर्वरभूमी पोखरामा आए सँगै उहाँको प्रतिभा झनै फक्रने अवसर मिल्योे । उहाँले साहित्यिक व्यक्तिलाई भेट्ने तथा आफ्ना सिर्जना पत्रिकामा निरन्तर प्रकाशन गर्ने अवसर पोखरा आएपछिमात्र प्राप्त गर्नुभएको थियो ।
उहाँले २०६२ मा आफ्नो पहिलो गजल संग्रह ‘भुगोलभित्र नखुलिएको देश’ पाठक समक्ष पस्कनुभएको थियो । यही गजल संग्रहबाट उहाँले गजल साधना सम्मान २०६३ पुरस्कार पाउनुभयो।
हालसम्म पाँच सयको हाराहारीमा गजल, दुई सय जति मुक्तक, ५० भन्दा बढी कविता, एक सय गीत, ५० जती हाइँकु, थुप्रै लघुकथा उहाँले लेख्नुभएको छ ।
उहाँले २०५४ र २०५५ सालमा मा राष्ट्रव्यापी लघुकथा प्रतियोगीतामा उत्कृष्ट लघुकथाकारको पुरस्कार हात पार्नु भएको थियो । यसका अलावा उहाँले साहित्य क्षेत्रका विभिन्न पुरस्कार र सम्मान पाइसक्नुभएको छ । गजल सन्ध्या पोखराका पूर्व अध्यक्ष समेत रहनुभएका उहाँ विभिन्न साहित्यीक संस्थामा आवद्ध हुनुहुन्छ ।