पर्वतको फलेवास नगरपालिकाले एकल पुरुषलाई भत्ता दिन थालेको छ । नगरपालिकाले नगर भित्रका विधुर पुरुष तथा एकल महिलालाई मासिक रुपमा भत्ता दिन थालेको हो । नगरका ५० बर्ष देखी ७० बर्ष उमेर समुह भित्रको विधुर पुरुष र अविवाहित एकल महिलावा पुरुष हुनुपर्ने छ । विधुर पुरुष एकललाई मासिक एक हजारका दरले वितरण गर्न थालेको फलेवास नगरपालिका योजना अधिकृत देवीप्रसाद तिमिल्सीनाले जानकारी दिए ।
नगरपालिकाभरिका विधुर पुरुष तथा एकल महिलालाई यहि आर्थिक बर्षबाट मासिक एक हजारका दरले भत्ता उपलव्ध गराउन थालेको हो । भत्ता उपलव्धका लागि नगरपालिकाले आन्तरिक स्रोतवाट खर्च व्यवस्थापन गरेको छ ।
तिन तहका कुनैपनि सरकारी कोषवाट तलव, भत्ता, सुविधा, पेन्सन वा अन्य सामाजिक सुरक्षा नपाउने नागरिकले मात्रा भत्ता पाउनेछन् । त्यसका लागि फलेवास नगरपालिकाको स्थाई नागरिक हुनुपर्नेछ । भत्ता पाउने लाभग्राहिको नेपाल सरकारले उपलव्ध गराउने सामाजिक सुरक्षा भत्ता सुरुवात भएमा त्यस्तो व्यक्तिको विधुर पुरुष तथा एकल महिला वा पुरुष सामाजिक संरक्षण प्रोत्साहन भत्ता स्वत हट्नेछ ।
पुरुषको हकमा विधुर वा अविवाहित, विवाह नगरेको र महिलाको हकमा विवाह नभएको वा श्रीमान बेपत्ता भएका महिलाले मात्रा भत्ता पाउनेछन् । फलेवास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद श्रेष्ठले दिएको जानकारी अनुसार नगरपालिकाबाट भत्ता पाउने विधुर एकल पुरुष तथा एकल महिलाहरुको संख्या ८५ रहेको छ । जसमध्ये विधुर पुरुषको संख्या ७० र एकल महिलाको संख्या १५ रहेको छ । नगरभित्रका निम्न आर्थिक अवस्था भएका एकल पुरुष तथा महिलालाई थोरै भएपनि राहत पुगोस् भन्ने उद्देश्यले भत्ता उपलव्ध गराईएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले बताए ।
नगर प्रमुख पदमपाणि शर्माले नगरभित्रका विधुर पुरुष तथा एकल महिला वा पुरुषलाई सामाजिक संरक्षण प्रोत्साहन भत्ता वितरण गर्न सुरुवात गरेको बताए । उहाले पहिलो चरणमा नगद र अर्को पटक बैकिङ्ग प्रणली मार्फत भत्ता उपलव्ध गराईने उनको भनाई थियो ।