पर्वतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण उच्च दरमा बढ्न थालेपछि निषेधाज्ञा थप गरिएको छ । । शनिबार जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय पर्वतले माघ १६ गते देखि लागु हुने गरी जिल्ला भर निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा भर जिल्लाका सवै शैक्षिक संस्था सिनेमा हल ,पार्टी प्यालेस, जिमखाना, स्पोर्ट क्लव, व्यूटिपार्लर, शैलुन आमसभा, जुलुस तथा धेरै मानिस भेला हुने क्रियाकलापहरु अर्को आदेश नभए सम्मका लागि वन्द गर्न भनिएको छ ।
सार्वजनिक यातयात स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र संचालन गर्न भनिएको छ भने मठ मन्दिरमा नित्य पुजा बाहेक अन्य क्रियाकलाप बन्द गर्न आदेश जारी भएको छ ।
जिल्ला प्रशान कार्यालयबाट जारी आदेशलाई अवज्ञा गरिएमा कानुन बमोजिम कार्बाही गरिने चेतावनी समेत प्रशासन कार्यालय पर्वतले दिएको छ ।
पर्वतमा हाल ५२८ जना संक्रिय संक्रमित रहेका छन् । यो संख्या हाल सम्मकै उच्च रहेको स्वस्थ्य कार्यालय पर्वतले जनाएको छ । संक्रमित मध्य ५२७ जना होम आइसोलेसनमा र १ जना पर्वत अस्पतालको आइसोलेसनमा छन् ।