१७ चैत २०७९, शुक्रवार

“आज मुडिकुवामा गज्जब भएको छ ।”

आँखामा बसेकाहरु ओझेल परेपछि हराउँछन्
मनमा बसेकाहरु ओझेल परेपछि मात्र उदाउँछन्
तिमी त मेरो मनको मान्छे
तिमीसँग छुटेपछि मात्र
मेरो प्रेमको उदय भएको हो !
मंगलबार लय हालेर कविले कविता वाचन गर्दा दर्शकहरु लट्ठ परेर कविता सुनिरहेका थिए । कविताका पङ्तिहरुले मन छुँदा दर्शकहरुको मुखवाट घरीघरी वाह भन्ने शब्द फुत्किन्थ्यो भने घरीघरी ताली बजाएर कविहरुको कवितालाई समर्थन गर्थे । कविता सुन्ने र कवितामै रमाउने माहोलको सिर्जना भएको थियो “पलेटीमा तीन कवि” नामक कार्यक्रममा जसको आयोजना गरेको थियो अनेरास्ववियू प्रारम्भिक कमिटी श्री माटेदेवल उच्च मावी मुडिकुवाले ।


“मुडिकुवामा पहिलोपटक यसरी कविता सुन्न पाइयो” दर्शक र स्रोता बनेर कविता सुनिरहेका इन्जिनियर अर्जुन गौतमले भने । “मैले यही स्कुलबाट एसएलसी पास गरें । स्कुले जीवनमा सामान्य साहित्यिक कार्यक्रम हुन्थे र म पनि ती कार्यक्रममा सहभागी हुन्थें तर यस्तो कार्यक्रम यस स्कुलमा भएको पहिलोपल्ट हो” गौतमले भने । कार्यक्रमको शुरुदेखि अन्त्यसम्म कविता सुनेर आनन्द मानिरहेका गौतमले फेरि हौसिँदै भने “आज मुडिकुवामा गज्जब भएको छ ।” युवा ब्यवसायी आनन्द गौडेलले पनि लामो समयपछि मुडिकुवाको उच्च माविमा साहित्यिक कार्यक्रम भएको सुनाए । गौडेल भन्छन् “स्कुले विद्यार्थीहरुका छिटफुट रुपमा कविताहरु सुनिएपनि एकैठाउँमा बसेर बाहिरी कविहरुका कविता सुनेको यो नै पहिलोपटक हो ।” श्री माटे देवल उच्च माविको प्राङ्गणमा पौष २० गते मंगलबारका दिन “पलेटीमा तीन कवि” नाम दिएर तीन कविहरुले पालैपालो आफ्ना१५ कविताहरु वाचन गरेका थिए ।


“पलेटीमा तीन कवि” नाम दिइएको यस साहित्यिक कार्यक्रममा फलेवास नगरपालिकाभित्र रहेर साहित्यमा निरन्तर कलम चलाउने तीन कविले आफ्ना कविताहरु वाचन गरेका थिए । तीन कविहरुमा क्रमशः बैकुण्ठ भुसाल, रुद्र दुर्लभ र घायलश्रीले आफ्ना कविताहरु वाचन गरेका हुन् । भुसाल प्राध्यापन पेसा छाडेर हाल सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील ब्यक्ति हुन् जसले दुई दसकदेखि निरन्तर साहित्यमा कलम चलाइरहेका छन् । कार्यक्रममा उनले ५ प्रगतिशील कविताहरु सुनाएर दर्शक तथा स्रोताहरुलाई कविता मार्फत जागरुक बनाएका थिए ।


दुर्लभको पूरा नाम रुद्र सापकोटा हो । हाल फलेवास नगरपालिकाको स्वास्थ्य प्रमुख रहेका दुर्लभ पेसाले स्वास्थ्यकर्मी भएपनि दुई दसकदेखि विभिन्न साहित्यिक र सामाजिक संघ/संस्थामा आवद्ध छन् । स्कुल तथा कलेज जीवनमा साहित्य साधनामा निकै सक्रिय रहेका उनले प्रेम, मिलन र विछोड सम्बन्धि आफ्ना पाँच कविताहरु पस्किएका थिए । कवितामा मार्फत उनले हाल देस दुखेको अनुभूति गराएका थिए ।
त्यसैगरी घायलश्रीको उपनामले आफूलाई चिनाउन चाहाने लोकनाथ भुसाल पत्रकारिता र साहित्यमा रुचि राख्छन् भने विभिन्न साहित्यिक र सामाजिक संघ/संस्थाहरुको नेतृत्व गरिरहेका छन् । उनका सुनाएका कविताहरुमा रहरभन्दा पनि धेरै बाध्यताहरु भेटिन्थे । कवितामार्फत् नेता र समाजलाई मात्र होइन प्रेमिकालाई समेत दर्जनौं प्रस्न गरेका थिए घायलश्रीले।


कार्यक्रमका प्रमुख अतिथि पर्वत साहित्य संगमका अध्यक्ष गजलकार डिल्लिराम शर्माले अब साहित्यमा युवा पुस्ताहरु अगाडि बढ्नुपर्ने बताए । “युवाहरुमा जोस र उत्साह हुने हुनाले साहित्यमा पनि विचारशील सक्षम युवाहरु अगाडि आउनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ” शर्माको भनाई रहेको थियो । कार्यक्रमका विशिष्ट अतिथि स्कुल ब्यवस्थापनका कार्यवाहक अध्यक्ष काशिनाथ गौडेलले यस्ता खाले कार्यक्रमका लागि स्कुल स्वागत गर्न सदैव तयार रहेको जानकारी गराए । फलेवास नगरपालिका-४ का वाड अध्यक्ष टीकाराम गौडेलले कविहरुको सम्मान गर्न सके समग्र समाजको सम्मान हुनेमा आफू सहमत रहेको भाव ब्यक्त गरे । प्रधान अध्यापक रामप्रसाद रिजालले आफूभित्र लुकेर रहेका प्रतिभाहरुलाई प्रष्फुटन गराउन यस्ता खाले कार्यक्रमहरुले निरन्तरता पाउनुपर्नेमा जोड दिए ।


पर्वतको मुडिकुवामा फरक खाले साहित्यिक कार्यक्रम गरेर साहित्यमा निरन्तर कलम चलाउने कविहरुलाई प्रोत्साहन गर्न खोजिएको अनेरास्ववियू प्रारम्भिक कमिटीकी अध्यक्ष तथा कार्यक्रम संयोजक सूचना सुवेदीले भनाई रहेको थियो । “साहित्यमा निकै पछाडि रहेको मुडिकुवालाई आजको कार्यक्रमले अब साहित्यिक कार्यक्रम गर्न थप हौस्याएको सुवेदीको भनाई थियो । उनले पहिलोपटक आफूहरुले साहित्यिक कार्यक्रम गर्ने प्रयास गरेको र फरकफरक समयमा फरकफरक कार्यक्रम गरेर मुडिकुवामा साहित्यिक माहोल सिर्जना गर्न चाहेको समेत बताइन् । कार्यक्रममा समाजसेवी बालमुकुन्द घिमिरे, अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनाम, सह सचिव उदय भुसाल, युवासंघ फलेवास नगरपालिका संयोजक सुमन गौडेल, समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्मा, सचिव सदिच्छा पोखरेल, आफन्ती शिरीष लगायतको उपस्थिति रहेको थियो भने पर्वत साहित्य संगमका सह सचिव निर्मल पौडेल र शिक्षक तुलसीराम तिवारीले मुक्तक र कविता वाचन गरेका थिए ।
प्रारम्भिक कमिटीकी अध्यक्ष सूचना सुवेदीको सभापति, पर्वत साहित्य संगमका अध्यक्ष डिल्लिराम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन कमिटीकी सचिव रोजिना तिवारीले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *