लक्ष्मण विसी
विश्वकै दोस्रो लामो दाबी गरिएको पर्वतको कुश्मामा निर्मित सुपरम्यान शैलीको जीपलाईन संचालन भएको छ । द हार्नेस प्रालीले साहसिक खेल सुपरम्यान शैलीको जीपलाइन व्यवसायिक रुपमा सञ्चालनमा ल्याएको हो ।
उक्त जीपलाईनको शनिबार कुश्मा नगरपालिकाका प्रमुख एवं द हार्नेस प्रा.लिका प्रमुख संरक्षक रामचन्द्र जोशीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै जोशीले पछिल्लो समय पर्वत साहसिक पर्यटकका लागि हप बन्दै गइरहेको बताउँदै जीपलाईन सञ्चालन भएसंगै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटक भित्र्याउन सफल हुने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा द हार्नेस प्रा.लिका अध्यक्ष विदुर पौडेलले पर्यटन प्रवर्द्धन लागि जीपलाइन सञ्चालनमा ल्याएको बताउँनुभयो । विश्वकै दोस्रो लामो दाबी गरिएको जीपलाईन करिब १५ करोड लागतमा निर्माण गरिएको द हार्नेस प्रालिका सञ्चालक सूर्य क्षेत्रीले जानकारी दिनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जीपलाइन दुबईमा रहेको र पर्वतको जीपलाइन त्यसपछिको लामो भएका कारण पर्वतमा पर्यटकहरूलाई आकर्षित गर्नको लागि जीपलाइन महत्त्वपूर्ण हुने उहाँले बताउँनुभयो ।
कुश्मा नगरपालिकाका -५ चाक्लेको डिलदेखी कालीगण्डकीको खोचहुँदै साउनेबगर सम्म १ हजार ४ सय ८० मिटर लम्बाई रहेको जीपलाइन करिब १ मिनेट ३० सेकेन्डमा पार गर्न सकिनेछ । साहासिक पर्यटकले प्रतिव्यक्ति ३५ सय तिरेर जीपलाईनको मज्जा लिन सक्नेछन् । त्यस्तै द हार्नेस प्रा.लिले जीपलाइन अवतरण हुने स्थान कालीगण्डकी किनारमा एडभेन्चर रिसोर्ट निर्माण गरिरहेको छ ।
बन्जी,साइकिलिङ तथा अग्ला र लामा झुलुङे पुलले परिचित कुश्मामा एकपछि अर्का आकर्षक गन्तव्य थपिदै गएका छन् । जीपलाइन संचालनमा आएपछि साहसिक आन्तरिक तथा बाहृय पर्यटकका लागि कुश्मा थप बढी पर्यटकीय हबको रुपमा विकास हुने भन्दै स्थानीय हर्षित भएका छन् ।