१७ असार २०७९, शुक्रवार

गलकोटबाट बेपत्ता आमाछोरा दिल्लीमा भेटिए !


रामबहादुर थापा
चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका–७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिएका छन् । घरदेखि हराएको दुई सातापछि विक आइतबार दिल्लीमा भेटिएको उहाँका श्रीमान् राजेन्द्रले जानकारी दिए ।
श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल फर्किरहेको उनले बताए । खोजी गर्दा भारत गएको जानकारी पाएपछि राजेन्द्र श्रीमती र छोरा लिन सोही दिन दिल्ली पुगेका थिए । दिल्लीको एक कोठामा अपरिचित महिलासँग बसेको अवस्थामा भेटाएपछि त्यहाँबाट छुटाएर ल्याएको राजेन्द्रले बताए ।
‘आमाछोरा दिल्लीमा सकुशल भेटिए, अहिले साथमा लिएर घर फर्कंदैछु”, उनले टेलिफोनमा भने, ‘कपिलवस्तु घर भएकी महिलाले काममा लगाइदिन्छु भनेर दिल्लीसम्म पु¥याएकी रहिछिन् ।’ श्रीमतीलाई ती महिलाको नामसमेत थाहा नभएको राजेन्द्रले बताए । राजेन्द्रका अनुसार उनीहरुबीच फोनमा कुराकानी भएपछि दिल्ली जाने योजना बनाइको थियो । रोजगारीको लोभले अपरिचित महिलाको लहैलहैमा लागेर श्रीमती दिल्ली पुगेको उनको भनाइ छ ।
गत पुस २६ गते छोरासहित आफ्नो लुगाफाटो लिएर घरबाट निस्कनुभएकी विक आँगाखेतबाट जीप चढी बुटवल र त्यहाँबाट दिल्ली पुगेको पाइएको छ । राजेन्द्रले बेपत्ता आमाछोराको खोजीका लागि प्रहरी र वडा कार्यालयमा निवेदन दिएका थिए ।
बेपत्ता भएको दुई साता बित्न लाग्दासमेत स्थिति पत्ता लाग्न नसकेपछि परिवारजन चिन्तामा थिए । टेलिफोनको ‘कल डिटेल’ अनुसन्धानका लागिसमेत जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको थियो । घरबाट गएको साँझ श्रीमानसँग कुराकानी हुँदा भाइकोमा आएकी छु भनेपछि विकको मोबाइल एकाएक बन्द भएको थियो । त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन् । पछि फेसबुक म्यासेन्जरमा कुराकानी हुँदा श्रीमतीले आफूहरु दिल्लीमा रहेको बताएपछि खोजीमा गएको राजेन्द्रले बताए ।

Leave a Reply

Your email address will not be published.