१३ मंसिर २०७९, मंगलबार

घरभित्रै असुरक्षित छोरी !

शान्ति प्रियवन्दना
अघिल्लो महिना कठ्याङ्ग्रिँदो जाडोको परबाह नगरी काठमाडौंको माइतीघर मण्डलामा नेपालगन्जदेखि आएका महिलाहरू न्यायका लागि धर्ना दिइरहेका थिए । नेपालगन्जका नन्कुन्नी धोबीको हत्या तथा निर्मला कुर्मी बेपत्ता भएको घटनाको चित्तबुझ्दो छानबिन हुनुपर्ने उनीहरूको माग थियो ।
एक महिनाभन्दा बढी समय उनीहरूले चिसो सडकमा धर्ना दिए । एक त पुसको ठिही, त्यसमाथि पानी परिरहँदा आन्दोलनकारीहरूको अवस्था निकै दयनीय भएको थियो, तैपनि उनीहरूले हिम्मत हारेनन् । प्लास्टिकका बोरा ओढेर भए पनि आन्दोलनलाई निरन्तरता दिइरहे । सरकारसँगको सहमतिपछि यो आन्दोलन हाललाई स्थागित छ ।
आफ्नै घरमा पनि महिलाहरू विभिन्न बहानामा प्रत्येक क्षण हिंसाको सिकार भइरहेका हुन्छन् । नन्कुन्नी पर्याप्त दाइजो ल्याउन नसकेको आरोपमा घरभित्रै यातना भोग्न बाध्य थिइन् । उनले यातना सहन नसकेर हुन सक्छ, आत्महत्या गरिन् वा हत्या गरिएको पनि हुन सक्छ । घटनास्थलको प्रमाण र मेडिकल रिपोर्टले आत्महत्या नै हो भने पनि नन्कुन्नीका माइती पक्षले भने हत्याको आशंका गरिरहेका छन् । यस्तै, केही समयअघि एक महिला आफ्ना सन्तानसहित कर्णाली नदीमा हाम फालेको घटना सार्वजनिक भएको थियो । उक्त सामूहिक आत्महत्याको कारण थियो जँड्याहा लोग्नेले दिएको यातना । ती महिलालाई बाँच्नुभन्दा आत्महत्या सजिलो बाटो लाग्यो । यसबाट पनि थाहा हुन्छ, उनले घरमै कति ठूलो यातना भोगिरहेकी थिइन् भनेर ।
यी त प्रतिनिधि घटना मात्र हुन्, घरेलु हिंसाका चपेटामा परेका महिलाहरू समाजमा धेरै छन् । तिनले यातना सहन नसकी आत्महत्या गर्ने गरेका उदाहरण पनि प्रशस्तै छन् । महिलाहरू अझै अपेक्षित अनुपातमा आर्थिक रूपमा सबल हुन सकेका छैनन् । अर्थमा सबल नभएपछि महिलाहरू सधैं कमजोर हुन्छन्, जसले गर्दा हिंसा हुने सम्भावना अधिक हुन्छ । धेरै महिला आर्थिक रूपमा परनिर्भर भएकैले घरेलु हिंसा भोग्न बाध्य हुनुपर्छ । कानुनले व्यवस्था गरिदिए पनि महिलाहरूले अझै पैतृक सम्पत्तिको उपभोग गर्न पाइरहेका छैनन् । ‘छोरी बोझ हुन्’ भन्ने सोचबाट अझै कतिपय समुदाय मुक्त हुन सकेका छैनन् । समयमै छोरीको विवाह गरिदिएर गह्रौं भारी बिसाएको अनुभव गर्ने आमाबाबु अझै छन् । छोरीहरूलाई बोझ सम्झेरै शारीरिक र मानसिक रूपमा परिपक्व नहुँदै विवाह गर्न हतारिन्छन् आमाबाबु । ‘छोरीले सुख पाओस्’ भनेर भौतिक रूपमा सम्पन्न परिवार आमाबाबुको रोजाइमा पर्छ । तर छोरीले ‘आफ्नो खुसी र सुखका लागि स्वयं केही गरोस्’ भन्नेतर्फ भने कमै आमाबाबुको ध्यान जाने गर्छ । विवाहित छोरी खुसी छ कि छैन, परिवारका सदस्यहरूबाट हिंसाको सिकार हुनु त परिरहेको छैन भन्नेजस्ता प्रश्न छोरीलाई गर्नु र छोरीको कुरा सुन्नु प्रायः आमाबाबुको प्राथमिकतामा पर्दैन । उसो त, हिन्दु परम्परामा आमाले छोरी अन्माउँदै गर्दा, दुलहालार्ई ‘मारे पाप पाले पुण्य’ भन्ने चलन अझै छ । यो भनाइको अर्थ हो— लोग्नेले स्वास्नीलाई पाल्नैपर्छ, पाले पुण्य मिल्छ र मारे पाप लाग्छ । व्यवहारमा पनि यो भनाइ लागू भइरहेको छ । धेरै हदसम्म महिला आर्थिक रूपमा पिता वा पतिमा निर्भर छन् ।
‘विवाहित छोरीले घर गरेर खानुपर्छ’ भन्ने पनि धेरै सुनिन्छ समाजमा । यो भनाइको सार हो— परिवारका सदस्यहरूले भनेको खुरुखुरु मान्नू, उनीहरूको खानपान र आरामविरामको ख्याल राख्नू, मुख नचलाउनू, हरेक काम अनुमति लिएर मात्र गर्नू, लोग्नेले गरेका जुनसुकै क्रियाकलापमा समर्थन जनाउनू र लोग्नेलाई भगवान् मान्नू । यी सबै क्रियाकलाप महिलाहरूले नचाहँदा–नचाहँदै पनि गरिरहेका हुन्छन्, यसो गरे मात्र उनीहरूले असल बुहारीको दर्जा पाउँछन् । जब उनीहरूले आफ्नो खुसी, इच्छा, आकांक्षा, चाहना र भविष्यका बारेमा पनि सोच्न थाल्छन् तब खराब बुहारी भइहाल्छन् । विवाहिता छोरीले आफ्नो घरमा आफूमाथि भएका हिंसा र भेदभावलाई माइतीमा भन्नु राम्रो मानिँदैन । जेजस्तो परे पनि घर छोड्नु हुँदैन, घरको कुरा बाहिर ल्याउनु हुँदैन भन्ने रट लगाइन्छ । माइती आएर आफ्ना कुरा राख्ने हिम्मत गर्ने कतिपय छोरीलाई माइती पक्षले फकाएर/तर्साएर घर गरेर खानुपर्छ भन्छ, उसको अप्ठ्यारो सुन्नु र सहयोग गर्नुको बदला घरै फिर्ता पठाउने गर्छ ।
छोरीहरूले कमाएर खान सक्ने ल्याकत राख्दैनन् भन्ने ठानिन्छ । त्यस्तै एक रात पनि छोरी घरबाहिर बसे परिवारको प्रतिष्ठामा आँच आउने बुझाइ अझै छ समाजमा । यसले गर्दा छोरीहरू यातना भोग्न बाध्य छन्, यातना सहन नसक्नेहरूले आत्महत्या गर्ने गर्छन् । नन्कुन्नी धोबीले आत्महत्या नै गरेकी हुन् भने पनि यसको प्रमुख कारण सहाराविहीन हुनु हो । पटक–पटक चोट बोकेर माइती आउँदा पनि उनको कुरा सुनिएनछ ।
यो समाजले हरेक दिन छोरीलाई घर गरेर खान सिकाउँछ । यसका लागि उसले मीठो पकाउन सिक्नुपर्छ, सफासँग लुगा धुन सक्नुपर्छ, आफ्ना इच्छा–आकांक्षा दबाउनुपर्छ, मुख कम चलाउनुपर्छ र बिहानै उठेर घरधन्दा सक्नुपर्छ । घर गरेर खान सक्नु छोरीको महत्त्वपूर्ण गुण हो भनिन्छ । यसका लागि आफूमाथि भइरहेको अत्याचारलाई चुपचाप सहनुपर्छ । यस्तो मान्यता नबदलिएसम्म छोरीहरूको जीवन सुखी र सफल हुन्न । अब छोरीहरूलाई घर गरेर हैन, आफ्नो सीप तथा क्षमता अनुसार काम गरेर आर्थिक रूपमा सक्षम हुन सिकाउनुपर्छ, जसका लागि छोरीको शिक्षामा परिवारले लगानी गर्नुपर्छ । प्रत्येक परिवारले छोरीहरूको शिक्षामा लगानी गरेर उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने हो भने हिंसा सहेर बसिरहनुपर्दैन ।
कान्तिपुरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *