जनता समाजवादी पार्टीका गण्डकी प्रदेश कमिटी सदस्य याम किसान एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । म्याग्दीमा आज हुने बृहत् एकीकृत समाजवादीको भेलामा किसान पार्टी प्रवेश गर्न लागेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा नेपाल दलित मुक्ति संगठनका केन्द्रिय अध्यक्ष गणेश विश्वकर्माले भेलालाई सम्बोधन गर्ने कार्यक्रममा किसान लगायत अन्य युवाहरु पार्टी प्रवेश गर्न लागेका हुन् । दलित आन्दोलनका अगुवा किसान विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरिरहेका छन् । उनी युवा तथा दलितहरुका माझ लोकप्रिय मानिन्छन् ।
एकीकृत समाजवादीले पिछडिएका वर्गहरुका मुद्दाहरु बोकेका कारण आफू एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको किसानले बताए । उनी भन्छन् “अन्य पार्टीको तुलनामा एकीकृत समाजवादीले समाज परिवर्तनका मुद्दा बोकेको र आफूलाई यो पार्टी मन परेका कारण आफू समाजवादीमा आवद्ध हुन लागेको हुँ ।”
जिल्ला समन्वय समितिको सभा हलमा आज हुने एकीकृत समाजवादी म्याग्दीको वृहत् भेलाले समाजवादी प्रेस संगठन नेपाल म्याग्दी, अनेरास्ववियू जिल्ला कमिटी, नेपाल जनजाती महासंघ, नेपाल दलित मुक्ति संगठन, युवा संघ नेपाल लगायत संगठनहरु घोषणा गर्दैछ ।