म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ४ स्थित दग्नाममा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा सहचालक नरजित घर्ति मगरको मृत्यु भएको छ । सोही गाउँपालिका वडा नम्बर ३ मौवाफाँटदेखि राहुघाट मंगले जलविद्युत आयोजनाको गिटी बोकेर दग्नाम तर्फ जाँदै गरेको ग १ त ६०४४ नम्बरको ट्याक्टर राति करिब साढे १० बजेको समयमा दग्नाम स्थित पानाकोटमा ब्रेक फेल भई दुर्घटना हुँदा रोल्पाको सुनछहरी गाउँपालिका –३, का अन्दाजी १८ बर्षिय घर्ती मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरिक्षक विरेन्द्रराज गुरुङका अनुसार दुर्घटनामा घाइते घर्ती मगरलाई उपचारको लागि बेनी अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको हो । ट्याक्टरमा चालक सहित तीन जना सवार थिए ।
अन्यको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । सुनछहरी गाउँपालिका –३, का २८ बर्षिय चालक जनक घर्ती मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । सोही ट्याक्टरमा सवार अर्का भूपेन्द्र बिष्ट ट्याक्टर अनियन्त्रित भएको थाहा पाएपछि हाम फालेर ज्यान जोगाउनुभएको छ । ट्याक्टर सडकदेखि साढे चार मिटर तल खसेको थियो । स्थानीयले राति साढे एक बजे प्रहरीलाई खबर गरेका थिए ।