१७ चैत २०७९, शुक्रवार

“तिमीसम्मन् आइपुगेपछि….”

कविता “तिमीसम्मन् आइपुगेपछि….”

नेत्र एटम

बाहिरको अँध्यारो केही होइन
बिहानको सिरेटो केही होइन
पकेटबाहिर छिटो-छिटो हल्लिरहने चिसा हात
परेलाबाट तप-तप चुहिने शीत
धुले बाटो
एक क्षणलाई नजर नै धमिल्याइदिने गाडीका बत्ती
चोकमा यस्सो अलमलिएर जहाँ पनि पुग्न सकिने यात्रा
मिर्मिरे हुने बेला चमचमाइरहेका बिलाउनुअघिका प्रिय ताराहरू
सब-सब
केही पनि होइनन्
बस !
म हिँड्दै छु
तिमीमा हराउँदै
समयको यो नितान्त निजी पल
केवल तिमीसितको अन्तर्संवादमा मुस्कुराउँदै
जिन्दगीको अद्भुत स्पर्श पाइसकेपछि
घटना, स्थान, काल, पात्रका
यी सब अवरोध
अब केही होइनन्
केही पनि हुँदै होइनन्
तिमीसम्मन् सकुशल आइपुगेपछि….

Leave a Reply

Your email address will not be published. Required fields are marked *