२२ मंसिर २०७९, बिहिवार

दुई पालिकामा जनसंख्या भन्दा मतदाता धेरै !

राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले हालैमात्र सार्वजनिक गरेको जनगणना २०७८ को विवरण अनुसार पर्वतका केही स्थानीय तहहरुमा मतदाता भन्दा जनसंख्याको विवरण धेरै देखिएको छ । पर्वतको मोदी गाउँपालिका र फलेवास नगरपालिकामा जनसंख्याको विवरण मतदाता विवरण भन्दा न्यून देखिएको हो ।

जिल्ला निर्वाचन कार्यालय पर्वतले २०७८ पौष मसान्त सम्म अद्यावधिक गरेको मतदाता विवरण र हालै सार्वजनिक भएको जनगणनाको प्रारम्भिक नतिजा अनुसार पर्वतको फलेवास नगरपालिकाको गणना भएको जनसंख्या २० हजार ७ सय २६ रहेको छ भने मतदाता संख्या २३ हजार ४ सय १५ रहेको छ । यो संख्या २ हजार ६ सय ८९ ले बढी हो । त्यस्तै मोदी गाउँपालिकाको जनगणना २०७८ अनुसारको जनसंख्या विवरण १८ हजार १८ रहेको छ भने मतदाताको संख्या १९ हजार ५ सय ९९ रहेको छ । मोदी गाउँपालिकामा पनि जनसंख्या विवरण भन्दा मतदाता १ हजार ५ सय ८१ ले धेरै रहेको तथ्याङ्कले देखाएको छ । अन्य पालिकाहरु मध्ये महाशिला गाउँपालिका, विहादी गाउँपालिका र पैञ्यु गाउँपालिकामा पनि थोरै संख्याले मात्रै जनसंख्याको विवरण मतदाता संख्या भन्दा बढी रहेको पाइएको छ ।
यस पटकको जनगणना अक्सर बसोबासका आधारमा गरिएकाले पालिका स्तरको तथ्याङ्कमा फेरबदल आएको तत्कालिन जिल्ला जनगणना कार्यालय पर्वतका जनगणना अधिकारी ज्योति केसीले बताउनुभयो । ‘६ महिना भन्दा बढी जुन स्थानमा बसोबास हुन्छ, सोही स्थानबाट गणना गरिएकाले तथ्याङ्कमा यस्तो परिणाम आएको हो’ उहाँले भन्नुभयो ‘मतदाता नामावली स्थायी हुने र जनगणना गर्दा बसोबास गरिएकै स्थानबाट गरिएको हुँदा जनसंख्या सँग तालमेल नमिलेको हो’ उहाँका अनुसार बसाइसराइका कारण स्थानीय तहमा अद्यावधिक मतदाता संख्या सँग जनसंख्याको विवरण मिल्न नसकेको हो ।
पर्वत जिल्लाको समग्र तथ्याङ्क अनुसार २०६८ सालको जनसंख्या विवरण भन्दा २०७८ को जनसंख्या विवरणमा ह्रास आएको छ । २०६८ सालमा १ लाख ४५ हजार ६ सय ६७ जनसंख्या रहेको पर्वतमा यस पटक सार्वजनिक भएको प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख ३२ हजार ३ सय ५२ रहेको छ । यो १३ हजार ३ सय १५ ले यस पटक जनसंख्या घटेको देखिएको छ । समग्रतामा पर्वतमा हालसम्म अद्यावधिक गरिएको मतदाता संख्या १ लाख २० हजार ८ सय ७८ रहेको छ । यसरी हेर्दा पर्वतको मतदाता संख्या भन्दा जनसंख्याको विवरण ११ जार ४ सय ७४ ले मात्रै बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *