कृष्ण आचार्य
प्रकृतिका दृश्यमा खै के जादू हुन्छ कुन्नि ! यसले मोहित नबनाएको मानिस सायदै भेटिएला। कवि, गीतकार, कथाकार, काव्यका महारथी, उपन्यासकार, नाटककार आदि सबैका सबै यसको मोहनीले खिचिएर आफ्ना रचनामा मादकता भर्दछन् कि ! त्यही मोहनीको जादुगरी छ माछापुच्छ्रेमा र त सबैलाई आफूतिर तानिहाल्छ पहिलो दर्शनमै । यस अर्थमा प्राकृतिक बिम्बमा रमाउने दुर्गा किरण तिवारीलाई माछापुच्छ्रेले मोहनी नलगाउने कुरा कसरी सम्भव हुन सक्थ्यो र ? गहिरै माया लगाएछ र त उनका नजरभरि ऊ बस्न सक्यो र आयो मुक्तककृति नजरभरि माछापुच्छ्रे । म “नयनभरि माछापुच्छ्रे” नामक मुक्तक सङ्ग्रह अगाडि राखेर पढ्दै केही लेख्न उद्यत बनेको छु ‘कहाँबाट थालूँ’ को द्विविधाले तर पिरोलेकै छ मलाई ।
दुर्गालाई म साहित्यिक नाताले चिन्दछु, पोखरेली चेली भनेर चिन्दछु, अनि चिन्दछु- उनका समय सापेक्ष, समाज सापेक्ष, जीवन संघर्षका पाटाको उद्घाटन गर्ने दर्द मिश्रित शृङ्गारिक, व्यङ्ग्यात्मक एवं राजनीतिका विकृतिमाथि तीक्ष्ण प्रहारका मुक्तक, गीत र गद्य कविताका रचनाकार भनेर पनि। गण्डकी सामाजिक परिषद्को सदस्यका रूपमा उनको योगदान पनि स्मरणीय छ। सञ्जालमा प्रायजसो आइरहने मुक्तक र गद्यकविताको आस्वाद लिने अनेकौं पाठकमध्ये म अग्रपङ्क्तिमै पर्दछु जस्तो लाग्छ । मलाई दुर्गाका रचना मनपर्छन् । मन पर्छन् यस अर्थमा कि त्यहाँ नेपाली हृदय प्रतिबिम्बित बनेको हुन्छ गरीब, निमुखाका अवाजहरू बुलन्द बनेर उद्घोष गरिरहेका हुन्छन् कि यो नैतिकताविहीन, दण्डहीन, आचारहीन समाजको स्वरूप बदलिनु पर्दछ । युवापुस्ताले विकृतिको मार्ग रोज्न विवश बन्नु परेको पक्ष होस् वा राजनीतिमा सिस्नो बढेर बाबरी र तुलसीहरू दबिएका होऊन् वा ऐजेरु लागेर मूल वृक्षले आफ्नो अस्तित्व जोगाउन धौ धौ परेको अवस्था होस्, साहित्यिक विकृतिको जगजगी बढेको विषय होस् या नारी अस्मिताको रक्षाको विषय होस्, उनका रचनामा व्याप्त छन् । यस अर्थमा उनी विद्रोही कवि पनि हुन् । मूल कुरा जीवनका संघर्षको अनुभूति मर्ममा रहेको छ र सकारात्मक सन्देशको आभा चतुष्पदी मुक्तक र अलि लामो आयामका गद्यकविता, सबैमा छ ।
मुक्तककार दुर्गा किरण तिवारी
दुर्गाको संघर्षको कथालाई गहिराइमा बुझ्न उनका रचना सहायक छन् । लामो समय जुधाइमा पिल्स्याइमा परेर पनि त्यसबाट उत्रिएर साहित्यमा अनवरत लागिरहेकी दुर्गामा एउटा जीवन्त उत्साह छ । आफ्नै शारीरिक स्वास्थ्यका समस्याले जेलिएर पनि उनले हार खाएकी छैनन् । एक प्रकारले एकल जीवन व्यतीत गरिरहेकी दुर्गा समयचक्रमा पेलिँदै छन् र पनि उनको साहित्य लेखन निरन्तर जारी नै छ । नजरभरि माछापुच्छ्रे त्यही निरन्तरताको प्रतीक हो । यहाँ विविध विषय र क्षेत्रका बिम्बात्मक प्रतीकात्मक प्रस्तुतिका अनेक मुक्तकहरू मनमोह छन् । फेवामा नाचेको माछापुच्छ्रे माथि हेर्दा भन्दा पानीभित्र राम्रो देखिए दुर्गाका मुक्तमा उनिएर प्रकृति र भावनाले शृङ्गार र सामाजिकतामा चम्किने मौका पाएका छन् । तर, शृङ्गारिकता उनको प्रमुख पक्ष रहेको छ मुक्तकमा पनि । हेर्नुस् त:
तिम्रो साथ अनि चियाको मात, उस्तै लाग्छ मलाई ।
चुस्की लिँदै मारेका मिठा बात, उस्तै लाग्छ मलाई ।
चियासँगै उम्रिन्छ मनमा तिम्रो प्रेमको तलतल प्रिय !
सपनीमै मस्किने उन्मादको रात, उस्तै लाग्छ मलाई ।
दुर्गा चियाको सच्चा पारखी पनि हुन् भन्ने म जान्दै छु, अचेल यस्तै मुक्तकका लहरबाट । साहित्यिक रचना समाजको ऐना हो भन्ने कुरा दुर्गाका मुक्तक पढेपछि सजिलै स्वीकार्य बन्दछ । जीवन किन गल्दै छ र कसरी थिल्थिलिँदै पाइला चाल्दै छ भन्ने कुरा उनका मुक्तकमा व्यक्त राजनीति, राष्ट्रियता, कष्टकर दैनिकी, संघर्षले पेलेका बेलाको कथन, त्यसबाट मुक्त हुनका लागि खोजिएका उपचार र सम्भावनाका पक्ष आदि आदि सामयिक विषय यहाँ उनिएका पाइन्छन् । धर्म दर्शनको अभिव्यक्ति मानव सेवाको समर्थनका निमित्त गरिएको छ । आफ्ना निजी अनुभूतिलाई बिम्बमा ढालेर सार्वजनिक बनाएको छ । पाठक आफ्नै मनका कुरा त्यहाँ व्यक्त भएको पाउँदा आनन्दित बन्दछन् । यही त हो साहित्यको मिठास र सामाजिकताको समन्वित रूप । जति प्रशंसा गरे पनि नसकिने दुर्गाका रचनाको सँगालो यो मुक्तक संग्रहको सफलता अनि म उत्तरोत्तर परिष्कृत रचनाका निमित्त शुभकामना भन्छु र पोखरेली नजर माछापुच्छ्रेसँगै नेपाली प्रकृतिको सौन्दर्य र संघर्षशील नेपाली जीवनका कि संवेदनशील पक्षको उद्घाटन गर्नमा पारखी बन्दै जाऊन्, शुभकामना !