१६ चैत २०७९, बिहिवार

देउवा क्याबिनेटमा हिरो आले !

 अनिस तामाङ
सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेको यतिबेला चौतर्फी प्रशंसा भइरहेको छ । २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा डोटीबाट तत्कालीन भौतिक पुर्वाधार तथा यातायात मन्त्री, नेपाली कांग्रेसका नेता वीर बहादुर बलायरलाई १ हजार ६३२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका आले खड्गप्रसाद ओलीको नेतृत्वमा सरकारमा वन तथा वातावरण मन्त्री बनेका थिए ।
नेकपा एमाले विभाजन हुनुभन्दा अगाडि खड्गप्रसाद ओली निकट नेताको रुपमा चिनिएका आले तत्कालीन वन तथा वातावरण हुदा निकै विवादित मन्त्रीको रुपमा चिनिन्थे । सामुदायिक वन उपभोक्त महासंघ नेपालको आठौं राष्ट्रिय परिषदको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रुखबाट मानिसले कार्बनडाइक्साइ पाउने र मानिसले अक्सिजन फाल्ने भनेर दिएको भाषणको कारण उनी निकै ट्रोल बनेका थिए । वनमन्त्री जस्तो व्यक्तिले रुखबाट कुन ग्यास पाउँछ भन्ने गलत तथ्य राखेपछि उनको व्यापक आलोचना भएको थियो ।
त्यसैगरि मन्त्री आलेले सार्वजनिक कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न काठ व्यवसायीले एक अर्ब पैसाको प्रलोभन देखाएको कुरा बताएपछि फेनफिटले विज्ञप्ति निकालेर घुस अफर गर्ने व्यक्तिको नाम सार्वजनिक गर्न चुनौती दिएसँगै उनी फेरि आलोचित बनेका थिए ।
पाँच महिना ११ दिन वनमन्त्री पदमा रहुन्जेल उनी विभिन्न कारण विवादित बनिरहे । बोल्दा चिप्लिएको पत्तो नपाउने आले आफ्नो कार्यकालमा आधा दर्जनभन्दा बढी कुरामा विवादित बनेका थिए । ०७७ पुस १० गते वनमन्त्री नियुक्त भएका आलेले ‘सरकार अब सात नम्बर गियरमा जान्छ’ भन्दै आक्रामक शैलीमा ‘फुँ फुँ फुँ’ गर्दै बोलिरहेको भाषण सामाजिक संजालमा भाइरल बनेको थियो ।
आफू सम्मिलित सरकार नै जनताप्रति उत्तरदायी नभएको सरकार भनेर भाषण गर्नसमेत भ्याएका थिए, आलेले । त्यही आलेको चिप्लिएको भाषणले गर्दा ओलीको धोती आफ्नै मन्त्रीले खुस्काइदिएको टिप्पणी धेरैले गरेका थिए । कोरोना संक्रमणको उच्च बिन्दुमा पुगेको बेला बेड नपाउने र अक्सिजन नपाएर मृत्युुवरण गर्नुपर्ने बेला एउटा जिम्मेवार मन्त्रीले अक्सिजनको उपलब्धतालाई ध्यानदिनु पर्ने बेला ‘घाटमा दाउराको कमी हुँदैन, मैले निर्देशन दिइसकेको छु’ भनेपछि मन्त्री आले असंवेदनशील भएको भन्दै सामाजिक संजाल प्रयोगकर्ता उनिमाथि खनिएका थिए ।
स्वास्थ्य सामग्री लिएर आफ्नो गृह जिल्ला डोटी पुगेका आलेले त्यतिबेला चीन सरकारले उपलब्ध गराएको अक्सिजन सिलिन्डरमा आफ्नो फोटो टाँसेर वितरण गरेको घट्नाले समेत आले विवादित भएका थिए ।
तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो कुर्सी बचाउन ७८ जेठ २१ गते जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर लगायत ८ मन्त्री र २ राज्यमन्त्रीलाई दिनेक्रममा खड्ग ओलीको मन्त्रिमण्डलबाट रिङ आउट भएपछि आले ओलीसँग असन्तुष्ट बनेका थिए ।
त्यसपछि माधव नेपाल निकट भीम रावलको बालुवाटार अर्थात् खड्गप्रसाद क्याम्पमा इन्ट्रि भएसंगै प्रेम आले ओली पक्षबाट एक्जिट हुने ढोका खुलेको थियो । नवौं महाधिवेशनमा माधव प्यानलबाटै वैकल्पिक केन्द्रीय सदस्य जितेका आले २०७४ सालको चुनावमा रावलले टिकट नदिने भएपछि मात्रै उनी ओली पक्षमा लागेका थिए । आलेका लागि माधव गुट नयाँ थिएन । पार्टी विभाजनपछि पनि उनी माधवकै नयाँ पार्टी एकीकृत समाजवादी पार्टीमा लागे ।
जतिबेलासम्म एमालेमा रहे उनी अज्ञानी नेताको रुप ट्रोल बनिरहे । उनी आफनो विवादित बोलीमा पनि त्यतिबेला अडिग थिए । ओली क्याबिनेटमा उनलाई ‘जिरे’मन्त्री भनेर पनि सहकर्मीहरुले जिस्काउँथे ।
खड्ग प्रसाद ओलीको क्याबिनेटमा रहुन्जेल सधैं सामान्य ज्ञान समेत नभएका मन्त्रीको रुपमा चिनिएका आले शेरबहादुर देउवाको क्याबिनेटमा हुँदा सबैले हाई हाई गरिरहेका छन् । एकदिन त उनलाई प्रधानमन्त्री देउवाले समेत भने, ‘मेरो क्याबिनेटमा मैले एकजना हिरा पाएको छु, मैले भन्न खोजेको हिरा प्रेम आले नै हो ।’
ओलीसँग भएका साधारण कार्यकर्तादेखि माथिल्लोस्तरका नेताहरूको कार्यशैली र बोली हेर्दा उनीहरुमा छुट्टै किसिमको दम्भ भेटिन्छ । गोकुल बाँस्कोटा, महेश बस्नेत देखि सुर्य थापासम्मको गतिविधि नियाल्ने हो भने उनीहरुमा कम्युनिस्ट चरित्र, वर्गीय पक्षधर केही भेटिँदैन । हिजो प्रेम आले पनि ओलीसँग हुँदा उनीहरु भन्दा पनि बढी अराजक नेताको रुपमा चिनिन्थे तर आज उनी बद्लिएका छन् । कुनै पनि तस्कर उनको छेउसम्म पुग्ने हिम्मत गर्दैनन्, छेउमा पुगे पनि गलत कुराको प्रस्ताव राख्ने दुस्साहस गर्दैनन् । जनताको पक्षमा बढी दौडधुप देख्दा उनी दिनप्रतिदिन लोकप्रिय हुँदै गइरहेका छन् ।
अखिर खड्ग ओलीसँग हुन्जेल सबै पात्रहरु किन जनविरोधी हुने अनि उनको साथ छोडेपछि लोकप्रिय काम गर्ने ? उदाहरणको लागि योगेश भट्टराईलाई लिन सकिन्छ । भट्टराई जुनदिनसम्म माधवको साथमा थिए त्यतिबेलासम्म उनी युवाहरूमाझ लोकप्रिय पात्र थिए । आज ओलीसँग हुदा सर्वाधिक गाली खाने पात्रमा भट्टराई पर्छन् । कतिपयले ओली भनेको एउटा नसा हो, उनको नसामा हुन्जेल सबै अराजक र अनैतिक हुन्छन् तर जुनदिन यो नसाबाट मुक्त हुन्छ एउटा सुधार केन्द्रबाट घर फर्केका युवा जतिकै स्वच्छ हुन्छ भनेको पनि सुनिन्छ ।
आज ओली गुट छाडेर माधव गुटमा लागेर एकीकृत समाजबादी पार्टीका नेताको रुपमा चिनिएका आलेलाई जनताले हिन्दी नायक फिल्मको हिरो अनिल कपुरको संज्ञा दिन थालेका छन् । पर्यटन मन्त्रीको पदभार समालेपछि एकएक माफियाहरुविरुद्ध धावा बोल्न थालेपछि यतिबेला उनको राम्रै चर्चा चलिरहेको छ ।
तत्कालीन संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सिंहदरबार भित्र बतास समूहलाई रेष्टुरेन्ट सञ्चालन गर्नदिएको निर्णयलाई खारेज गर्दै सबै संरचना भत्काएपछि उनको लोकप्रियता ह्वात्तै बढेको हो ।
विशेषगरी बतास समूहले पशुपति धर्माशाला भित्र बनाएको होटल देखि पहिला भएका विवादित निर्णयहरुको फायल पल्टाएर एक्सनमा उत्रेपछि उनको सामाजिक सञ्जालमा हाई हाई भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *