१३ असार २०७९, सोमवार

पृथ्वीनारायणको मधेशकी कन्यासँगको रोचक विवाह !


पृथ्वीनारायण शाहको विवाहबारे इतिहासमा विभिन्न चर्चा गरिएका छन् । इतिहासकार बाबुराम आचार्यले उनको विवाह र त्यसको उद्देश्यबारे समेत लेखेका छन् ।
वास्तवमा राजाको विवाह पनि राजनीति हुन्छ । मित्रता पनि राजनीति हुन्छ । पृथ्वीनारायण शाहका पिता नरभूपाल शाहले छोरालाई राजकाज र कूटनीतिको राम्रो तौरतरिका सिकाएका थिए । पिताबाट यीनै मामला सिकेकाले पृथ्वीनारायण कलिलो उमेरमै परिपक्व र प्रभावकारी बनेका थिए ।
पृथ्वीनारायण शाहले महारानी नरेन्द्रलक्ष्मीसँग विवाह गर्नुमा पनि राजनीति नै थियो । नरभूपाल शाह र उनीभन्दा अघिका गोरखाका कुनैपनि राजाहरुले मधेशतिरका कन्यासँग विवाह गरेका थिएनन् । गोरखामा मात्र नभई लमजुङ, कास्की, भीरकोट, आदि क्षेत्रका राजा र राजकुमारहरुले त्यसअघि मधेशका कन्या विवाह गरेका थिएनन् । पृथ्वीनारायण शाह नै मधेशको कन्या विवाह गर्ने त्यस भेगकै पहिलो राजकुमार थिए । यो विषय इतिहासकार बाबुराम आचार्यले उल्लेख गरेका छन् । पृथ्वीनारायाण शाहको मान र क्षमता देखेरै उनलाई मधेशका खानदानीले कन्या दिन तयार भएको उल्लेख छ ।
आचार्यका अनुसार चौबीसीराजाहरुका बीचमा महाभारतका डाँडादेखि दक्षिणपट्टि तलहट्टका मैदानमा मधेससम्म ठकुराइ जोडिएका सेनराजाहरुको मधेसका राजपूतसँग विवाहसम्बन्ध जोडिएको उल्लेख ‘सेनवंशावली’मा गरिएको छ । पछि खण्डहर भइरहेको पुरानो पाल्पानगरका संस्थापक राजन रुद्र सेनका मधेशी राजपूत (मध्यदेशीय राजपूत) की छोरी आसनमालापट्टिका छोरो राजा मुकुन्दे सेन (प्रथम) मधेशी राजपूत (मध्यदेहीय राजपूत) पुरुषेत्तमसिंहका दौहित्र (छोरीका छोरा) थिए । त्यहीँका राजकुमार धर्माङ्गद सेनका छोरा रुक्माङ्गद सेन (द्वितीय) का छोरा राजा कामरिदत्त सेन बाँसीका राजकुमार केशरीसिंहका दौहित्र थिए । तर, महाभारतका डाँडादेखि उत्तरपट्टि मात्र ठकुराइ फैलिएका लमजुङ्ग, कास्की, भीरकोट आदिका राजाहरुले मदिसे राजपूतहरुकी छोरी विवाह गरेको उल्लेख पाइएको छैन ।
पृथ्वीनारायण शाहको मधेशी राजकुमारीसँगको विवाह रोचक छ । अहिले नेपालको समथर भूभागलाई मधेश भन्ने गरिन्छ । तत्कालीन समयमा नेपालको समथर भूभाग र भारतको विहार र उत्तर प्रदेशका नेपालसँग सीमा जोडिएका भू-भागलाई समेत मधेश भनिन्थ्यो जहाँ विशाल जङ्गल पर्दथ्यो । पृथ्वीनारायण शाहको विवाह भएकी नरेन्द्रलक्ष्मी गोरखपुरकी हुन् । उक्त क्षेत्रलाई पनि बाबुराम आचार्यले मदेस भनी उल्लेख गरेका छन् ।
बाबुराम आचार्यले गोरखा र आसपासका राजकुमारहरुले मधेशी कन्या विवाह नगर्नुमा हावापानीको विषय उल्लेख गरेका छन् । उनले लेखेका छन्,‘गोर्खाराजवंशमा पनि नरभूपाल शाहसम्म कुनै राजाले पनि मदिसे राजपूतका छोरीहरुसँग विवाह गरेको देखिँदैन ।’ महाभारतभित्रका चौबीसीरजौटाहरुमा र गोर्खामा सकेत ठण्डा हावापानी भएको हुनाले मधेशी राजपूतका कन्याहरुलाई अनुकूल नहुने हुँदा विवाहसम्बन्ध नजोडिएको उनको तर्क छ । वास्तवमा पहाडको जीवन कठिन थियो । समथर भूभागमा उत्पादन राम्रो हुने र जीवन पनि सहज हुने भएकाले राज्य पनि समृद्ध र बलियो हुन्थे । त्यसैले पहाडका विपन्न राजा र तिनका सन्तानका लागि समथर भू-भागको कन्या पाउन मुश्किल पर्दथ्यो ।
पाल्पा र तनहूँका ठकुराइका तलहट्टी रहेका र हिउँदभर राजाहरु त्यहाँ ९तलहट्टीमा० रहने हुनाले त्यहाँको हावापानी मधेशी राजपूतहरुका कन्याहरुलाई अनुकुल हुने र गर्मी र बर्सादमा पहाडखण्डको हावापानी गरम हुँदा मधेशी राजपूतका कन्या विवाह भएका बाबुराम आचार्यले उल्लेख गरेका छन् ।
गोरखा चीसो ठाउँ हो । त्यहाँको पहाडी इलाकामा जीवन कठिन नै थियो । बाबुराम आचार्यका अनुसार गोरखामा मधेशी राजपूतका कन्यालाई हावापानी अनुकूल नभए तापनि पृथ्वीनारायण शाहलाई मधेशी राजपूतकी कन्या खोजियो । यसमा नरभूपाल शाहको छोरालाई बलियो बनाउने रणनीति पनि थियो । इतिहासकार आचार्यले पनि मधेशी राजपूतकी कन्या विवाह गर्न पृथ्वीनारायण शाहलाई आवश्यक भएको उल्लेख गरेका छन् ।
गन्धर्व सेनको सहायता लिई भानु जोशीलाई डोला खोज्न पठाएर गोरखपुरका जमिन्दार दयारामसिंहकी कन्या डोला ल्याएर विवाह भएपछि नरेन्द्रलक्ष्मी भन्ने नयाँ नाम राखिएको उल्लेख गरेका छन् । यसकारण पनि पृथ्वीनारायण शाह मधेशका ज्वाईं हुन् । उनको ससुराली गोरखपुर हो जुन हाल भारतमा पर्दछ ।

Leave a Reply

Your email address will not be published.