१७ असार २०७९, शुक्रवार

‘बा’ राजनीति भनेको यही हो ? 

उमेश बन्जाडे

हाम्रा राजनीतिज्ञहरुमा बडो गजबको खेती फस्टाएको छ । त्यो खेती राजनीतिक बहसका रोष्ट्रमदेखि सामाजिक सञ्जालका भित्तासम्म कहीँ बाँकी छैन । अब त खेती अल्ली मत्थर होला कि भन्यो, झन् उत्पातै छ ।

राजनीतिमा एउटा सेलाएझैँ गर्छ, अर्को अगुल्टो लिएर मच्चिन्छ । एउटाले समझदारीको कुरा गर्छ, अर्काले दाइँ लगाउँदै हिँड्छ । एउटाले निकासको रोटी सेकाउँछ, अर्कोले डढाइदिने फुइँ देखाउँछ । लोकलाई अजीब लाग्ने र आजित पार्ने यो तमासा केही समय अघिदेखि निकै उत्कर्षमा पुगेको छ ।
यो मच्चिने र थच्चिने क्रमले मुलुकको भविष्यलाई अन्योलमा त पारेको छ नै, सिंगो राजनीतिमा पनि गम्भीर प्रश्नचिन्ह उब्जाएको छ । के साँच्चिकै राजनीति भनेको यही हो त ?

सामान्य गाउँमा एउटा जनप्रतिनिधि आउने कुराको प्रसंगले करिब महिना दिनअघिदेखि खुबै हल्लीखल्ली चल्यो । एउटा नेता गाउँ शहर पुग्दा विचौलिया, ठेकेदार, आसेपासेदेखि पार्टी सम्वद्ध सबैले मरिमेटी धुमधाम तयारी गर्छन् ।
वर्षेनी पहिरोले घरखेत खाएकादेखि शीतलहरले परिवार गुमाउनुपरेका अनुहारहरु रुपमै भए पनि केही प्रफुल्लित हुन्छन् । खाडीमा एघार वर्षसम्म बेल्चा नचाउनेदेखि खुला आकाशमुनि रात कटाउनेसम्म पनि झिनोरुपमै किन नहोस् आशावादी बन्छन् ।
नबनुन् पनि कसरी ? चार वर्षअघि चुनाव जितेपछि दिन्छु भनेको सबै बाचाहरु ज्यूँको त्यूँ उधारै बाँकी छन् । के थाहा ? चुनावको मुखमै पो पूरा गर्दिने हुन् कि त ! सोच्न त पाइयो नि !

एकाबिहानै उठेर यसो टेलिभिजन खोल्यो ! …‘प्रचण्ड–माधव नेपालहरु मासिए ! गए… । सक्किए..! जनादेशको सरकार ढालेर परमादेशको खाल्डोमा डुबुल्की मर्दैछन् ! चुनावपछि ठूलै भागशान्ति खान्छन् …लच्छिन…! अलच्छिन…! के के हो–के के !’ अर्थात ‘बा’ राजनीति !


पर्खाइको घडी सकिन्छ । सानमानसँग एउटा जनप्रतिनिधि लाखौंको हेलिकोप्टर चार्टर्ड गरेर गाउँ पुग्छ । खासमा ऊ ती भुइँमान्छेहरुसँग सुख दुःख साट्न होइन । मात्रै एउटा सहकारीको रिबन काट्न । नेता मात्रै होइन, ऊ त राजनीतिको गतिलो अभिनेता पनि हो । कयौं चुनावहरु त उसले गाउँहरुसँग प्रशस्त उधारो अभिनय गरेर जितेको छ ।
मञ्चबाट सञ्चालकले सम्बोधनका लागि उसको नाम उद्घोष गर्छ । महिना दिन अघिदेखि उसको भाषण सुन्न कान तेस्र्याएका गाउँहरु अलि टाढिन्छन् । यद्यपि, सम्बोधन गर्न रोष्ट्रमसम्म पुगेको जनप्रतिनिधिको अनुहारमा सुरुवातमै केही बादल लागेजस्तो देखिन्छ । सायद ऊ यो बखत सत्ता बाहिर हुनुपर्छ ।
निस्लोट अन्धकार भुइँमा ओर्लिएपछि उसलाई थाहा छैन अहिले उसको मन दुखेको हो कि मस्तिष्क ? परन्तु ऊ चाहन्छ प्रचण्ड राप र तापले अब यो भन्दा बढी मेरो भाग्य नपग्लियोस ! र सुरु गर्छ उही आफूलाई सत्ताच्युत गर्नेहरुप्रति तथानाम गालीगलौजबाट भाषण । कान थापेर चुनावको उधारो वाचा भर्ने आश गरेका गाउँहरु नेताका शब्दोचारण सुनेर उल्टो कान बन्द गर्छन् ।
एकाबिहानै उठेर यसो टेलिभिजन खोल्यो !…. ‘प्रचण्ड–माधव नेपालहरु मासिए ! गए… । सक्किए..! जनादेशको सरकार ढालेर परमादेशको खाल्डोमा डुबुल्की मर्दैछन् ! चुनावपछि ठूलै भागशान्ति खान्छन् ….लच्छिन…..! अलच्छिन….! के के हो–के के !’
फेरि अर्को बोल्छ ।
‘अब देखाइदिन्छौँ ! फलानो पार्टीको दम्भ र घमण्डको प्रतिफल ! आउने चुनावपछि छर्लङ्ग हुनेगरी देखाउँछौँ ! हामीलाई कमजोर ठानेर ठूलो भुल गर्यौं ! …भित्तामै पुर्याइदिन्छौं…..!’
अरे बाफ्रे…!
यो राजनीतिक मैदान हो कि रेस्लिङको रिङ ?
यी र यस्तै शब्दहरु लजालु स्वभावमा दौडिरहेका छन् अचेल देशका अर्गानिक समाचारका हेडलाइनमा । गाउँघरमा सामान्य केटाकेटीले साथीहरुसँग झगडा पर्दा प्रयोग गर्ने अपाच्य शब्दहरु अचेल राजनीतिक मञ्चको रोष्ट्रमबाट तँछाडमछाड गर्दै फुत्किरहेका छन् ।
मुखमा समृद्धिको अचार मोलेर अत्मामा कुत्सित विचार खाँद्ने राजनितीज्ञहरु हिजोआज सतहमै छर्लङ्ग देख्न सकिन्छ । खै ? कुन युगको कस्तो समृद्धि पथमा पुग्नलाई यिनीहरु यतिविधि हतारो गर्दैछन् ? सिंगो लोक नै रनभुल्लमा परेको छ ।
यो प्रतिस्पर्धात्मक आरोप–प्रत्यारोपको खेलले आजका चिचिला केटाकेटीहरुको दिमागमा के प्रभाव पार्ला ? जसलाई भविष्यको कर्णधार पनि भनिन्छ । भोलि मेरै वा तपाईं कसैका छोराछोरीले हामीमाथि यी प्रश्नहरु खन्याए भने हामीले के जवाफ दिनु ?
जस्तैः
– बा ! राजनीति भनेको के आफू धुरीमाथि बसेर अर्काको छानोमा ढुंगा हान्ने खेल हो ?
– अथवा, आरोपप्रत्यारोपको खेती गरेर विपरीत विचारलाई सक्दो खुइल्याउनु हो ‘बा’ ?
– कि राज्यको लाखौं रकम खर्चिएर ठड्याएका मञ्च उक्लिएर घाँटी सुकुन्जेल अरुलाई सत्तोसराप गर्नु नै राजनीति हो बा ?
– भन्नुस् न ‘बा’ राजनीति गर्न पढ्नुपर्ने यस्तो फोहरी पाठशाला कहाँ खोलिएको छ ? अनि, कति कक्षा उत्तीर्ण गर्नुपर्छ त्यो कुहिगन्धे स्कुलमा ?
– अनि के ‘बा’ ! अस्ति हाम्रो स्कुलको वार्षिकोत्सवमा आएका एक जना राजनीतिज्ञले ‘कागलाई कुखुरा र स्याललाई चितुवा’ भनेर पो ढिपी गर्दै थिए ! साँच्चै राजनीतिमा यस्तै हुन्छ त ‘बा’ ?
०००
भोलि छोराछोरीले हामीलाई लगातार यस्तै यक्ष प्रश्न गरे भने अनौठो मान्नुपर्ने ठाउँ सायदै भेटिएला । यो प्रविधिको युगमा अचेलका बालबालिका आमाबुबाभन्दा पहिला मोबाइल चिन्न सक्छन् । बढ्दो इन्टरनेटको गतिसँगसँगै उनीहरुको फराकिलो मस्तिष्कले आँ गर्दा अलंकार बुझ्ने भइसके ।
के अब आउने पुस्ताले राजनीति भनेकै गालीगलौजको व्यापार हो भनेर बुझ्नुपर्ने हो ? आरोप–प्रत्यारोपको खेती गरी विभिन्न नामधारी राजनीतिक पार्टीका पसलबाट बेच्ने साधनजस्तै बनाइएको छ राजनीतिक सिद्धान्त ।
नीति के हो ? सिद्धान्त कता बगेको छ ? विधि र पद्धतिले के निर्दिष्ट गरेको छ ? उसलाई बाल मतलब ! जतिसुकै अग्रगामी किन नहोस् अर्को विचारविरुद्ध कठोर शब्दहरुको ओइरो लगाउन सक्नुपर्याे । भए÷नभएका कुण्ठाहरु ओकेल्न सक्नुपर्यो । त्यसपछि त उही नेता, उही अभिनेता । बस ! उसलाई हत्केला पुत्याउन्जेल ताली ठोक्दिने कार्यकर्तारुपी कारिन्दाहरु अगाडि हाजिर हुनुपर्यो । टाउकोले शासन गर्ने वा टाउकोमाथि शासन गर्ने ? यिनीहरुलाई मतलब छैन । बेलगाम राष्ट्रिय ढुकुटी कनिका छरेजस्तै छरेका छन् । देश दौडाहा भन्दै मस्ती गरेका छन् । यिनको देश दौडाहाको रोजाइमा शीतलहरबाट कठ्याङ्ग्रिएको मुसहर बस्ती कहिल्यै पर्दैन । भित्र्याउन ठिक्क पारेको धान आँसुसँगै बगाएका कृषकहरुका झुपडी टेक्दा यिनीहरुलाई माटो कुच्नुपर्ने त्रास छ । कर्णाली र कालिकोटलाई त यिनीहरुले वर्षौंदेखि सौतेनी व्यवहार गरिनैरहेका छन् ।
राजनीतिलाई व्यवसाय ठान्दै कहिले जाँडको व्यापार त कहिले माडको व्यापार गर्न तल्लीन यो पुस्ताले पुस्तान्तरणको पनि अलि बढी नै गफ दिन्छन् । भर्खरै देशका ठूला पार्टीहरुका महाधिवेशनहरु पनि सम्पन्न भए । मूल नेतृत्व पुरानै भए पनि यदाकदा एक÷दुई अनुहार फेरिए । ती अनुहारको अलि बढी नै चर्चा पनि भयो । दशकौंदेखि यही राजनीतिक मैदानमा रहेर आफ्नो चर्तिकला देखाइसकेका नयाँ भन्नेहरु एउटा खुड्किलो उक्लिँदा यतिजाद्रो वहकिनु पर्ने जरुरी छैन । उनै पुराना अनुहारहरु तलमाथि हुँदैमा दङ्ग नपरौँ । २००७ साल र ०६२÷६३ मा त झन राज्यसत्तै परिवर्तन भएको होईन र ? खोइ त ! अवस्था उस्तै छ क्यारे ।
वैदेशिक हस्तक्षेपले राष्ट्र जसरी थिलोथिलो बन्दैछ, त्यो भन्दा खतरनाक भ्रष्टाचारले जेलेको छ । न्यायालय, सुरक्षा निकाय, शिक्षालय लगायतका संस्थाहरु ब्यापारीक केन्द्र बनिरहेका छन् । भ्रष्टाचारले हाम्रा खाद्य पदार्थहरु समेत अति दुषित हुँदैछ । अस्पतालहरु मृत्युका केन्द्र जस्तै भैसके ।
मन्त्री प्रधानमन्त्री नै भ्रष्टाचारका संरक्षक बनिसके । नियमन निकाएहरु सत्ताको रसपानले लठ्ठीएर चिर निद्रामा घाँटी बजाइरहेका छन् ।
टाउकोमा राष्ट्रसेवकको पगरी गुथेर यो देशको सरकारी टेबलमा बसेर कलम नचाउनेहरु देशकै नाम लेखिरहेका छन् कि लुटको ब्याकरण ? रातभरि गोप्य मिटिङमा ब्यस्त भएको नेता दिनभर संसद् भवनको रोष्ट्रम छोपेर विपक्षीहरुप्रति किन चिच्याउँछ ? के दशकौंसम्म सत्ताको रसपानमा लठ्ठिँदाको बखत ऊ देश र जनताप्रति मदहोस थियो ? कि यो देश र यहाँको राजनीतिलाई उसले आफ्नै पेवा सम्झन्छ ? आम नागरिकले अब यी प्रश्नहरुको यथोचित जवाफ खोज्नुपर्छ ।
हाम्रा हत्केलाहरु ताली बजाउन र औंलाहरु मतपत्रमा ल्याप्चे ठोक्नका लागि मात्रै होइनन् । मस्तिष्कको प्रयोग गर्दै सही र गलत छुट्याएर यो देशको भविष्य निर्माण गर्नका लागि पनि हुन् । ‘दमनकारी आज्ञा ईश्वरको होस् वा पुरोहितको एक न एक दिन त्यो अवस्य तोडिन्छ र त्यो तोड्न जरुरी पनि छ ।
हामीले जति नयाँ व्यवस्थाका गगनभेदी नारा घन्काउँछौं शासकहरु उतै नै सन्किएका छन् । लाज, घिन र मर्यादा भन्ने कुरो यिनीहरुको मथिंगलबाट कोशौं टाढा भागेको छ । आकाशमा दनदनाइ रहेको सूर्यलाई त बेलुका भएपछि ओझेल पर्नुपर्ने बाध्यता छ भने, यहाँ कसैले आफैँलाई अजम्बरी ठान्नु जरुरी छैन ।

दृष्टि न्युज

Leave a Reply

Your email address will not be published.