सपना क्षेत्री
७० वर्षिय मन बहादुर विकको परिवार सानो छ । ६७ वर्षिया श्रीमती, छोरा बुहारी र एक नाति । सानो परिवार छ तर पनि बिहान खाए बेलुका के खाम भन्ने समस्याले सताइरहन्छ । टाउको दुख्दा किनेर सिटामोल खाने उपाय छैन र त बिरामी हुँदा कसैको घरमा बाँकी रहेको सिटामोल छ कि कि भन्दै गाउँ चाहार्नुपर्ने विवशतामा बाँच्न बाध्य छ मोदी गाउँपालिका-८ नेपाने चित्रेमा अवस्थित यो परिवार ।
गरिवीकै कारण विभिन्न समस्या झेल्नु परेको मनबहादुर बताउँछन् । “एक त हामी दलित हौँ, अर्को कुरा गरिब भएकैले समाजमा हुने धेरै सामाजिक कार्यहरुबाट बन्चित छौं” भेटमा ७० वर्षिय विकले भने । “वृद्ध अवस्थामा घरको एकमात्र सहारा छोरा पनि यतिबेला काम गर्न नसक्ने भएको छ । मजदुरी गर्न जाने बेलामा तीन महिना अगाडि खेतमा लडेर खुट्टामा चोट लागेको थियो अहिलेसम्म निको भएको छैन । उपचारका लागि रिण खोजेर पोखराका विभिन्न अस्पताल पुर्याइयो तर खुट्टा निकोत भएन खोजिएको रिण समयमा तिर्न नसक्दा अर्को समस्या थपियो” गहभरि आँसु झार्दै मनबहादुरले लामो सुस्केरा निकाल्दै भने- “कुन जुनीको पापले गर्दा आज भगवानको पनि नजाति भइयो ।”
सामाजिक सुरक्षा भत्ता बापत पाउने रकमले यो परिवारले यतिखेर बिहान बेलुकाको जालो खान पाएको छ । जाडोमा न्यानो लुगा लगाउनबाट बंचित यो सिंगो परिवारको पेटभरी खाने र न्यानो लगाउने बाहेक कुनै ठूला सपना छैनन् । “मीठो खान र राम्रो लगाउनत यो जुनीमा अब हामीले पाउँदैनौ है नानी?” मनबहादुरको छेउमै बसेकी ६७ वर्षिया उनकी श्रीमतीले प्रस्न गर्दा मलाई लाग्यो यस्ता हजारौं प्रस्नहरु हाम्रो समाजभित्र यतिकै दबिएका छन् । यिनका उत्तर दिने र उत्तर भेटिने निकाय कहाँ र समय कहिले होला ? भन्ने कुराले मेरो मथिङ्गल झन गह्रुङ्गो भएर आयो ।
कमाउने छोरा अशक्त, बुहारी सुस्त मनस्थिति र पाँच वर्षिय नाति बोल्न नसक्ने छन् । यो सिङ्गो परिवारको जिम्मेवार यिनै वृद्धवृद्धाले बोकेका छन् ।
अशिक्षा, असमानता, गरिबी र वातावरणीय असन्तुलनबाट समाजालाई मुक्त पार्ने भनिएको नेपाल सरकारको नारा समाजभित्र ओझेल र पीडामा बाँच्न विवश यी परिवारवारले अहिलेसम्म सुन्न समेत पाएका छैनन् । अधिकार र समानताका नारा बोक्ने कुनैपनि एनजिओ/आइएनजिओहरु यो पीँढीमा अहिलेसम्म पुगेका छैनन् ।
बाँकी कुरा गर्दैगरौंला, यतिखेर यो परिवार सहयोगी हातहरुको पर्खाइमा छ ।