१२ मंसिर २०७९, सोमवार

यस्तै हो भने आगामी निर्वाचनमा एमाले सिद्धिन्छ: मानन्धर !

रामवीर मानन्धर, नेता, नेकपा एमाले
पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा लागेका नेकपा (एमाले)का नेता रामवीर मानन्धरलाई पार्टीले स्थानीय निकाय र संघीय निर्वाचन गरी चार पटक टिकट दियो । सबै निर्वाचनमा उनी विजयी भए । २०७० सालको निर्वाचनमा हिसिला यमीलाई हराएपछि मानन्धरको चर्चा चुलियो । २०७४ सालको निर्वाचन पनि उनले जिते । केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारमा उनी शहरी विकास राज्यमन्त्री भए । वामपन्थी उम्मेदवार मानन्धरले पञ्चायतकालको २५ वर्षे रजत जयन्ती मनाएका शारदाप्रसाद भट्टराईलाई वडाध्यक्षमा पराजित गरेका थिए । वडाध्यक्षमा पनि उनी दोहोरिएर विजयी भएका थिए । निर्वाचित सांसद मानन्धरले एमालेको १०औं महाधिवेशनमा केन्द्रीय सदस्यको तयारी गरेका थिए । तर, जिल्ला अधिवेशनमा समेत प्रतिस्पर्धा गर्नबाट बञ्चित भए । मानन्धरसँग दृष्टिले गरेको संवाद प्रस्तुछः

केन्द्रीय सदस्यको दाबेदार हुनुहुन्थ्यो, जिल्ला अधिवेशनमा समेत किन प्रतिष्पर्धा गर्न पाउनुभएन ?

नेकपा (एमाले)मा अहिले मूल्य, मान्यता र इमान्दार कार्यकर्ताको मूल्याङकन गर्ने संस्कार हराएको छ । पछिल्लो समय सर्वसम्मतको नाममा व्यक्तिवाद हावी भएको छ । पार्टीको केन्द्रीय सदस्य त धेरै भए । पार्टीका नेताहरू पनि धेरै भए होलान् । २० वर्ष कुरेर केपी शर्मा ओली एमालेको अध्यक्ष भएका हुन् । मलाई पनि अर्को २० वर्ष पर्खनुपर्छ भने पनि कुनै आपत्ति छैन । तर, नेतृत्वमा पुग्न २० वर्ष संघर्ष गरेकाले विवेक प्रयोग गर्नुपर्छ भन्ने मेरो मान्यता हो । हिजो कार्यकर्ताको न्याय भएन भन्ने पार्टी अध्यक्ष ओलीले आज प्रतिस्पर्धा गर्नसमेत नदिएर अन्याय गर्न मिल्छ ? मेरो मनको प्रश्न हो यो ।

तपाईंको योग्यता, क्षमता नपुगेर हो कि ?

म कमिटीमा परेँ कि परिनँ भनेर नजोड्नुहोला । मभन्दा धेरै जुनियरहरू, पार्टी फेरिरहनेहरूले पटक–पटक अवसर पाउने, हामीजस्तो पार्टी भनेर निरन्तर लागिरहने कार्यकर्ता पेलिनुपर्ने ? केन्द्रीय सदस्य भएर पनि उनीहरूको हैसियत त छैन । मैले स्थानीय निकाय र संघीय निर्वाचन गरेर चारपटक टिकट पाएँ, चारै पटक जितेँ । पार्टी नेतृत्वले नपत्याए पनि मेरो क्षेत्रमा जनताले मलाई पत्याएका छन् । जनतासँग घुलमिल भएको, जनताको मनमनमा बस्ने, विकास र समृद्धिसँग जनतालाई जोड्ने मान्छेलाई पद नै ठूलो कुरो त होइन । तर, कताकता नेतृत्वले अन्याय गर्दा चित्त दुख्दोरहेछ । हिजो केन्द्रीय सदस्य नहुँदा पनि मैले दुई–दुई पटक सांसद जितेकै हुँ । जबकि, अहिले स्थायी समितिमा भएका वा महाचिव वा पार्टी अध्यक्ष स्वयं नै किन नहुन् जनताले चुनाव नहराएको नेता कोही छैन त ?

दुई–दुई पटकको निर्वाचित सांसदलाई जिल्ला अधिवेशनमा प्रतिस्पर्धासमेत गर्न नदिने अवस्था कसरी बन्यो ?

मैले १०औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचन लड्ने तयारी गरेको थिएँ । तर, सर्वसम्मतको नाममा तयार पारेको सूचीमा मेरो नाम अटाएन । त्यसपछि मैले जिल्ला अधिवेशनमा दाबी पेश गरेँ । त्यहाँ पनि सर्वसम्मत गराउने नाममा प्रतिस्पर्धाबाट रोकियो । मैले अधिवेशनको क्रममा उठेरै नियमितरुपमा नेतृत्व छानौँ भनेको थिएँ । विडम्बना, काठमाडौं जिल्लाको अधिवेशनमा कति प्रतिनिधि छन् भन्ने जानकारीसमेत दिइएन । निर्वाचन कमिटीलाई सोध्दासमेत थाहा नहुने अवस्था भयो । अधिवेशन सुरु भइसकेपछि मनोनित गरिएका प्रतिनिधिको नाम र संख्या सोध्नसमेत पाइएन । १५ जनालाई ताली पिट्न लगाएर सर्वसम्मतको नाममा कमिटी घोषणा गरियो । स्वच्छ प्रतिष्पर्धा त परैको कुरो, उम्मेदवारी घोषणा गर्ने वातावरणसमेत दिइएन । पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा, बहस, छलफललाई इतिहासको वन्दी बनाइयो । एकलौटी रुपमा अध्यक्ष, उपाध्यक्ष, सदस्यमा फलानो, फलानो भनेर घोषणा गरियो । स्वयं व्यक्ति उपस्थित छ कि छैन पनि थाहा छैन । क–कसले सपथ ग्रहण गरे भन्ने पनि टुंगो छैन । उपाध्यक्षको नाम त घोषणा गरियो तर सपथ नै गरेका छैनन् । पार्टी विकृति रुपमा अगाडि बढेका कारण हामीजस्ता निरन्तर पार्टीमा क्रियाशील कार्यकर्ता एमालेमा पछि पर्ने अवस्था बनेको छ ।

पहिला एमालेभित्र आलोचना, आत्मालोचना गर्ने परम्परा थियो । एउटा विधि, पद्धति थियो । अहिले त्यो सबै खरानी भयो । ‘टिके’ प्रथा हावी भयो । अहिले कुनै आलोचना, आत्मालोचना हुँदैन । हामी २० वर्षसम्म केपी ओली ठिक भनेर हिँडेका कार्यकर्ता हौँ । ओली अध्यक्ष भएपछि फेरि पनि हामी प्रतिपक्षी बस्नुपर्ने ? कार्यकर्ताको मनोबल कहाँनेर हुन्छ ? त्यसको मूल्याङकन खोइ ? काठमाडौंका हामी धेरै कार्यकर्ता ओली भनेर त्यो बेला किन बस्यौँ ? महासचिव, अध्यक्ष हाम्रो विपक्षमा थिए । खटेर आउने इन्चार्ज सबै हाम्रो विपक्षमा हुन्थे ।

ईश्वर पोखरेलले पेलेरै दीपक निरौलालाई काठमाडौँको अध्यक्ष बनाएको भन्छन् नि ?

ईश्वर पोखरेल हाम्रो पार्टीको वरिष्ठ उपाध्यक्ष हुनुभयो । पार्टीको स्थायी कमिटी सदस्य, हाम्रो ईन्चार्ज कृष्णगोपाल श्रेष्ठसहित पोलिटब्यूरो, केन्द्रीय सदस्यहरू अध्यक्ष मण्डलमा बस्नुभएकालाई पनि मैले सोधेँ– सर्वसम्मत गर्ने तरिका के हो ? हामीले यत्रो आवाज उठाइरहेको भएपनि उहाँहरूले सुन्नु भएन । भटाभट नाम पढेर सुनाउने क्रममा भोलि हेरौँला भन्ने शब्दको प्रयोग गर्नुभयो । के हेरौँला भनेको ? राति चिसो भयो भने तातो बनाइदिन्छु भनेको हो कि के हो ? यी संगठनात्मक विकृति हुन् । विकृत ढंगबाट आफूलाई मन परेकालाई जसरी पनि जहाँबाट पनि ल्याउने, प्रतिस्पर्धीलाई जसरी पनि सिध्याउन खोज्ने पाराले पार्टी बन्दैन । ओलाङचुङगोलादेखि सगरमाथा कै किन नहोस, आफ्नो मान्छे भनेपछि बोकेरै ल्याउने, हामी जस्तो कार्यकर्ताको बीचमा मनोबल गिराउने कुरा गर्छ भने पार्टी कहाँ रहन्छ ? मनोवल नै नभएपछि ठूला कुरा गरेर मात्र हुन्छ र ? यत्रो कार्यकर्ताको हेर्ने दृष्टिकोण त छ नि । कार्यकर्ताको बीचमा यस्तो विकृत काम भयो भन्ने सन्देश त गएको छ नि । यो सन्देश जनतामा पनि गएको छ ।
जनताले लोकप्रिय मतले विजय गराएको कार्यकर्ताले आफ्नो कुरा राख्दाराख्दै पेलेर जान मिल्छ ? हामी अन्याय सहन्नौँ । हामी आवाज बुलन्द गर्न नसक्ने कार्यकर्ता होइनौँ । हामी त हिजो राजतन्त्रविरुद्धको आन्दोलनमा गोली चलेको ठाउँमा हिँडेका कार्यकर्ता हौँ । त्यही कार्यकर्तालाई आज अर्को राजतन्त्रले सिध्याउन लागेको जसरी सिध्याउन खोजेको छ ।

एमालेमा जनताको बहुदलीय जनवाद सिद्धिएकै हो ?

जनताको बहुदलीय जनवाद भनेको एउटा व्यक्तिले हैकम चलाउने सिद्धान्त होइन । यो आन्तरिक जनवादमा विश्वास गर्ने पार्टी हो । मदन भण्डारी पनि प्रतिस्पर्धाबाटै पार्टी महासचिव बन्नुभयो । नेतृत्व तहमा पुगेको कुनै एउटा व्यक्तिको आचरणले संगठनलाई बिगार्न पर्याप्त हुन्छ । हाम्रो विचारलाई कसैले बिगार्न सक्दैन । संगठन भने एउटै मान्छेको गलत आचरणले ध्वस्त हुनसक्छ । आज काठमाडौँमा एउटा मान्छेले संगठन भताभुंग पार्न खोज्छ भने अन्य जिल्लामा कस्तो होला ? केपी ओलीलाई मेरो प्रश्न छ– केही भारदारहरूले कार्यकर्तालाई पाखा लगाउँदै जाने हो भने कम्युनिष्ट पार्टीमा हामीजस्ता इमान्दार कार्यकर्ता खोज्नुपर्ने स्थिति आउँछ । यो मेरो कुनै आग्रह पूर्वाग्रह होइन । अन्तिममा जनताको घर–घरमा जाने कार्यकर्ता नै हुन । नेताले आदेश लगाउँदैमा कार्यकर्ता जान्छन् भन्ने होइन । त्यो त नेताको व्यवहार र आचरणमा भर पर्छ ।

दुर्गा प्रसाईंजस्ता व्यक्ति केन्द्रीय कमिटीमा पर्ने तर, तपाईंले जिल्ला कमिटीमा प्रतिस्पर्धा गर्नसमेत नपाउने स्थितिमा एमाले पुग्यो ?

एमालेमा अहिले मूल्यांकनको अभाव छ । तपाईंले नाम लिएको व्यक्तिलाई समेट्न फुर्सद हुने, अनि निरन्तर पार्टीमा खटेका हामीजस्ता कार्यकर्ताबारे सोच्ने फुर्सद नहुने अवस्थामा पार्टी नेतृत्व पुग्यो । के लाभको कुराले गर्दा यस्तो भएको हो ? बदनाम मात्र हुनुपर्ने, नामको कुरै नगर्ने ? जनताले कसलाई मन पराएका छन् ? कसले लामो समयदेखि पार्टीमा रगत–पसिना बगाएको छ भन्ने मूल्यांकन पार्टीमा हुनु पर्दैन ?

ओलीको चाकरी नपुगेर कुरा बिग्रिएको हो कि ?

चाकरी गर्ने मेरो बानी छैन । मेरो सम्बन्ध व्यक्तिसँग भन्दा बढी काम र पार्टीसँग हो । १६५ वटै निर्वाचन क्षेत्र र प्रत्येक वडामा हेर्नुहोला । कहाँ नेकपा एमालेको वोर्ड झुन्डिएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ र क्षेत्र नं. ७ का सबै वडामा पार्टीको बोर्ड छ । त्यसरी बसिरहेको कार्यकर्ता हौँ हामी । १८ महिना मन्त्री भएको व्यक्ति म के गणेश होर नेताको चाकरी गर्न जाने ? पार्टीले त कार्यकर्ताको मूल्यांकन गर्नुपर्छ नि ।

तपाईंलाई नेतृत्वमा आउन नदिनुको भित्री कारण के होला जस्तो लाग्छ ?

पहिला एमालेभित्र आलोचना, आत्मालोचना गर्ने परम्परा थियो । एउटा विधि, पद्धति थियो । अहिले त्यो सबै खरानी भयो । ‘टिके’ प्रथा हावी भयो । अहिले कुनै आलोचना, आत्मालोचना हुँदैन । हामी २० वर्षसम्म केपी ओली ठिक भनेर हिँडेका कार्यकर्ता हौँ । ओली अध्यक्ष भएपछि फेरि पनि हामी प्रतिपक्षी बस्नुपर्ने ? कार्यकर्ताको मनोबल कहाँनेर हुन्छ ? त्यसको मूल्याङकन खोइ ? काठमाडौंका हामी धेरै कार्यकर्ता ओली भनेर त्यो बेला किन बस्यौँ ? महासचिव, अध्यक्ष हाम्रो विपक्षमा थिए । खटेर आउने इन्चार्ज सबै हाम्रो विपक्षमा हुन्थे । हामी ओलीको मान्छे भनेर चिनिन्थ्यौँ । आज ओली अध्यक्ष भएको बेला अब हामी कसको मान्छे भनेर चिनिने ? हामी अप्ठेरो अवस्थामा पुगेका छौँ । केपी ओलीले यो कुरा सुन्नैपर्छ । कुनै दिन यसको मूल्यांकन हुन्छ भन्नेमा छौँ । स्थायी कमिटी, इन्चार्ज, महासचिव, उपाध्यक्ष वा अध्यक्षलाई चुप लागेर बस्न दिन्नौँ । ‘मरेपछि … नै राजा’ भन्ने उखानजस्तो हो र कम्युनिष्ट पार्टी ?

एमालेमा मूल्याङकनको परिपाटी समाप्त भएकै हो ?

एमालेमा देश र जनताको लागि काम गरिरहेका कार्यकर्ता पाखा लाग्नुपर्ने अवस्था कसरी, किन आयो ? चाकरी, चाप्लुसी, गणेशभक्तिहरूले मात्रै स्थान पाउनुपर्ने अवस्थाबाट कम्युनिष्ट पार्टीका दिनहरू विस्तारै तल झर्ने हो कि भन्ने चिन्ता छ । सवाल मेरो मात्र होइन, देशभरका इमान्दार, त्यागी कार्यकर्ताको हो । ती कार्यकर्ताको मनोबल कहाँ टेकेर बस्ने हो ? मेरो उमेर ६० वर्ष पुग्न लाग्यो । आजभन्दा ४० वर्षअघिदेखि पार्टीमा निरन्तर काम गरिरहेको छु । हामी नेतृत्वमा नपर्ने अनि आज भर्खर आएको मान्छे फुत्त नेतृत्वमा पुग्दा सहन चाहिँ गाह्रो हुन्छ । तर, सहनु पर्छ । ती फुत्त उक्लिएका मान्छेलाई जनताले जिताउँदैनन् । चाहे, स्थायी कमिटीको नेता होस, चाहे अध्यक्ष वा महासचिव नै किन नहोस् ।

ओली अध्यक्ष भएपछि एमालेमा फरकमत राख्नेको हालत त देखिहाल्नुभएको छ । तपाईंलाई पनि पेलेर भित्तामा पुर्याइदेलान् नि ?

यो अन्तर्वार्ता पढेपछि तपाईंले अघि भनेजस्तै झन् भित्तैमा पुर्याउने भन्ने सोच्नुहुन्छ भने उमेर हेर्न सुझाव दिन्छु । ओलीलाई कति वर्षमा जेलजीवनदेखि पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न लाग्यो । यदि भित्तैमा पुर्याउँछु भन्नुहुन्छ भने पनि केही फरक पर्दैन । मेरो सम्पत्तिबाट एक धर्को पनि केही गर्न सक्नुहुन्छ र ? म भित्तामा पुग्नेबित्तिकै भित्ताभन्दा तल को–को पुग्छन, त्यो पनि ख्याल राख्नुपर्छ ।

चुनाव आउदै छ, सांसदको टिकट नदेलान् नि ?

टिकट जनताको मनोविज्ञानसँग जोडिन्छ । काठमाडौं क्षेत्र नं. ७ हिसिला यमीले पनि चुनाव हारेको क्षेत्र हो । कोही फुत्त आउनेबितिक्कै चुनाव जित्छ र ? म पनि पार्टीको एउटा कार्यकर्ता हुँ । हिजो कसले जित्छ भनेर पार्टीले छानीछानी टिकट दिन्थ्यो, आज जित्नेको मूल्याङकन नहोला र ? पार्टीलाई भित्तैमा पुर्याइदिन्छु भनेर अध्यक्षले नै भन्ने हो भने त अर्कै कुरा हो, हेरौँला । पार्टी कार्यकर्तालाई घरको कामकाजी मान्छे जस्तो सम्झने हो भने त के भन्नु छ र ? हामी घरको कामकाजी मान्छे त होइनौँ ।

ओलीकहाँ नधाइकन कहाँ मूल्याङकन होला त ?

देश र जनताको लागि लागेका मान्छेहरू पेलिन्छन, हेपिन्छन, थिचिन्छन । क्षेत्र नं. ७ का जनताले यो काम भएन भनेर अन्त जानुपर्ने अवस्था मैले बनाएको छैन । सबै कार्यकर्तालाई आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुस भनेको छु । ओली कहाँ धाउनैपर्ने स्थिति हो भने एमालेले धेरै कार्यकर्ताको पंक्ति गुमाउनुपर्ने अवस्था बन्छ ।

एमालेमा अहिले त सबै जायज हुन्छ नि होइन ?

सबैभन्दा माथि देश र जनता हो । देश र जनताको लागि काम गर्दा नैतिकता र इमान्दारिता हुनुपर्छ । समृद्ध नेपाल, सुखी नेपाली किन भनेको ? जनतालाई सूर्यमा भोट हाल किन भनेको ? सहज अवस्थाबाट किन पार्टी असहज अवस्थामा गयो ? एमालेलाई आज कहाँ सहज छ ? सातै वटा प्रदेशमा सहज छ कि, राष्ट्रिय सभा निर्वाचनमा ? स्थानीय तह र संघीय चुनावमा सहज होला त ? यस्तै प्रवृत्तिले एमालेले चुनाव जित्ला त ? पार्टीको अध्यक्ष बनेर मात्रै बस्ने हो भने त ठिकै छ तर, जनता र देशको लागि काम गर्ने हो भने नैतिकता र इमान्दारिता नगुमाएका कार्यकर्ता चाहिन्छ भन्ने बुझ्नुपर्छ ।

अबको निर्वाचनमा एमालेको के स्थिति होला ? सूर्य चिन्हमा भोट हाल्छन् भनेर केही नेता एमालेमै बसेको देखिन्छ नि ?

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रको डाटा हेर्दा नै धेरै कुरा स्पष्ट हुन्छ । काठमाडौँ क्षेत्र नं. १ मा एमाले तेस्रो स्थानमा हो । क्षेत्र नं. २ मा माधव नेपाल भएकाले जोडबलले जितेको हो, क्षेत्र नं. २ मा कृष्णगोपाल श्रेष्ठले उपनिर्वाचन लड्दा किन जित्न सक्नुभएन ? क्षेत्र नं. ३ मा वाम गठबन्धन हुँदा पनि झिनो मतान्तरले मात्र जितेको हो । क्षेत्र नं. ४ मा गगन थापासँग राजन भट्टराई कति मतले हार्नुभयो ? क्षेत्र नं. ५ मा ईश्वर पोखरेल दुई–दुई पटक हारेको होइन ? वाम गठबन्धनपछि मात्रै उहाँले जितेको हो । क्षेत्र नं. ६ को त कुरै गर्नुपरेन । योगेश भट्टराईले दुईपटक हारेको, केशव स्थापितले पनि हारेको । क्षेत्र नं. ७ मा चाहिँ मलाई आशा लाग्छ । क्षेत्र नं. ८ मा गठबन्धनबाट जीवनराम श्रेष्ठले जितेको हो । क्षेत्र नं. ९ मा कृष्णगोपाल श्रेष्ठले चारपटक हारेकै हो । त्यतिबेला वाम गठबन्धन नभएको भए जित्ने अवस्थै थिएन । क्षेत्र नं. १० मा पनि एमालेले जित्ने अवस्था छैन । सत्तारुढ दलहरूको गठबन्धन निर्वाचनसम्म कायम रह्यो भने काठमाडौंका कुनै पनि क्षेत्रमा एमालेले जित्ने अवस्था रहँदैन । अन्य जिल्लाको अवस्था पनि यो भन्दा फरक छैन ।

तर, ओली त जस्तो गठबन्धन बनेपछि केही फरक पर्दैन, बहुमत ल्याउछु भनिरहनुभएको छ ?

काठमाडौं जिल्ला कमिटीको अधिवेशनको एकपटक मूल्याङकन होस । त्यसपछि अवस्था के छ भन्ने देखिन्छ । कार्यकर्ताको मनोबल कस्तो छ ? विगतको निर्वाचन परिणाम कस्तो छ ? भन्ने हेक्का नै गरी बोल्ने एउटा कुरा भयो । तथ्य बेग्लै छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ वटा क्षेत्र छन् । ती मध्ये एमालेले कहाँ जित्छ ? जनताले दिएको मतको आधार खोज्नुपर्याे नि ? जनताको मत कहाँ छ भन्ने हेर्नुपर्छ । समीक्षा गरेर कार्यकर्ताको मनोबल उचो बनाउने गरी काम नगर्ने हो भने एमालेका आगामी दिन निकै कठिन छन् । खाली पैसा र के–के भएका मात्र कार्यकर्ता होइनन ? कार्यकर्ता त देश र जनताको पक्षमा काम गर्ने हुन भन्ने नेतृत्वले बुझ्नुपर्छ । आज माधवकुमार नेपाल, झलनाथ खनाल वा पुष्पकमल दाहाल प्रचण्डको पछाडि को लाग्यो ? यी नेताहरू मिले भने अवस्था के हुन्छ ? नेपाल, खनाल वा प्रचण्डसँग कार्यकर्ता नै नभएको जस्तो कुरा हामीले गर्नुहुँदैन । एउटा–एउटा वडामा निर्वाचन उल्टयाउने मत उनीहरूसँग छ । नभएको होइन नि । एक जना गएर के हुन्छ भन्ने ढंगले सोच्ने हो भने आफूसँग पार्टी पनि सिद्धिन्छ ।
दृष्टिमा यो अन्तर्वार्ता पढेपछि ओलीलाई रिस उठ्न सक्ला । तर, सत्य यही हो । सत्यको बाटोमा हिड्न कठिन छ । तर, आखिर सत्यकै जित हुन्छ । म सधैँ सत्यको पक्षमा छु । मैले यति भनिन भने त म आफैँ पनि डुब्ने हो, पार्टी पनि डुब्ने हो । त्यसकारण यसको मूल्यांकन होस, पुनः समीक्षा होस । यति भनेकै कारण मलाई भित्तैमा पुर्याउने हो भने एमाले पनि भित्तैमा पुग्छ भन्ने नेतृत्वले बुझोस् ।

भनेपछि एमालेलाई आगामी निर्वाचन इतिहासकै कठिन हुने छ ?

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर निर्वाचनमा गएकै कारण यति धेरै सिट जितेका हौँ भन्ने हामीले बिर्सनु हुँदैन । अब त सिंगो एमाले पनि बचेन । माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी खोलेका छन् । नेपालको पार्टीमा गएकाहरू पनि त एमालेकै कार्यकर्ता हुन नि !

ओलीले त चुनावमा बहुमत ल्याएर बाजागाजासहित सिंहदरबारको मूल गेटबाट भित्र छिर्छु भनिरहनुभएको छ नि ?
भन्न त पाइहालियो । यस्तै रवैया र व्यवहार रह्यो भने त्यस्तो सपना नदेखे हुन्छ । तत्कालिन राजाले ‘जनताले दुध र भात पनि खान पाएनन’ भनेकै हुन् । ओली त राजनीतिमा २० वर्षसम्म धैर्य गरेको नेता हो नि । ओलीले कार्यकर्ताको भावना बुझ्नु पर्दैन ?

नेकपा एकता भंग हुने स्थिति कसरी आयो त ?

एमालेमा लोभी, पापीहरू धेरै भए । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता कम्युनिष्ट जस्तो भएनन् । हिजो हामीलाई आचरणका धेरै कुरा सिकाइन्थ्यो । हिजो जनतासँग सिगो र धागो लिएको भए पनि फिर्ता गर्नुपर्छ भन्ने कम्युनिष्ट कार्यकर्ता थिए । आज हेर्नुस त, अवस्था कस्तो छ ! नेताहरूले त्यस्तो कुरा सम्झनुपर्छ । कार्यकर्ताले मलाई यो ठाउँसम्म पु¥याएका हुन भन्ने कुरा कसैले पनि बिर्सनु हुन्न । हिजो जनतासँग बाचा गरेका धेरै कुरा छन् । सूर्य चिह्न र हसिया हथौडाको भोट रुखमा हालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने स्थिति राम्रो हो त ? पक्कै होइन । त्यो स्थिति किन आयो, कसको कारणले आयो, जनताले बुझेकै त होला नि !

दृष्टिबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *