पृथ्वीनारायण शाहले अंग्रेजसँग द्वन्द्वमा नगई कम्पनी सरकारको साथ र समर्थनमा राज्य गरेको देखिन्छ । राज्य-विस्तार र राज्यलाई बलियो बनाउन मधेसको मैदानी भूमि अत्यन्त महत्त्वपूर्ण थियो । मधेस भू-भाग भएको कारणले बलियो सेन राज्य २५० वर्षदेखि एकछत्र टिकिरहेको थियो । सेन राजाको बारेमा लेख्नेहरूले हरिहर सेनको दक्षिणी सिमाना गंगासम्म थियो भन्ने उल्लेख गरेका छन् । तथापि यतिचाहिँ भन्न सकिन्छ- सेन राज्यमा वर्तमान नेपाल र भारतको मैदानी क्षेत्रको विस्तृत भू-भाग समेटिएको थियो । ठूलो संख्यामा सेना राख्न, सैन्य कमाण्डरहरूको लागि जागिर र रसदको प्रबन्ध मिलाउन, भाडाका गैरमुलुकी सैन्य राख्न मधेसको आम्दानीबाट मात्र सम्भव हुन सक्थ्यो ।
उतिबेला पनि मधेस कति महत्त्वपूर्ण मानिन्थ्यो भने ऐतिहासिक स्रोतहरूका अनुसार सुगौली सन्धिको बेला गोर्खालीहरू काली पारिका सारा भू-भाग छोड्न तयार थिए । तर, तराई मधेश छोड्न तयार भएनन् । चौतरीया बम शाहलाई उद्धृत गर्दै लेखिएको कथनअनुसार मैदानी भू-भाग छोडेर पहाडी भूगोल मात्र राख्दा नेपालको कुनै अस्तित्व रहँदैन भन्दै तराई समर्पण गर्नुभन्दा बरु गोर्खालीहरू फेरि युद्ध गर्न तम्सिएका थिए । र, यो पटक अंग्रेजप्रति सहानुभूति राख्ने भारदारहरू पनि एकजुट भई लड्ने तरखर गरेका थिए । अंग्रेज पक्षका अनुसार तराईप्रतिको गोर्खालीहरूको यही भावनाको कदर गर्दै र तराईको जमिनमा निर्भर गोर्खाली सरदारहरूको लागि जीवन-यापनमा कठिनाइ हुने देखेपछि नयाँ मुलुक छोडेर सबै मैदानी भू-भाग फिर्ता गरियो ।
पृथ्वीनारायण शाहको उदय एउटा सत्ताको परिवर्तन मात्र हो । गोर्खाली सत्ताको स्थापना भनेको नेवा, मैथिली, किराँत, लिम्बुवान सत्ता वा सभ्यताको अवसान पनि थियो, जुन सयौँ वर्षदेखि नेपालको धर्तीमा टिकिरहेका थिए ।
अर्कोतर्फ चुक्ली लगाउने प्रवृत्तिले नेपालको राजनीतिमा बाहिरी प्रभावको माध्यमबाट पात्रहरू स्थापित हुने वा समाप्त हुने घटना मध्यकालदेखि चलिआएको परम्पराको निरन्तरता हो भन्ने प्रमाणित गर्छ । ब्रिटिसहरूले पनि पृथ्वीनारायणविरूद्ध चुक्ली
लगाउनेलाई महत्त्व दिएनन् र उनको विरूद्ध विरोधीहरूले हालेका मुद्दालाई पनि खारेज गरिदिए । यसरी पर्सादेखि टिस्टासम्मको भूमि पृथ्वीनारायणले कम्पनी सरकारको साथ र समर्थनमा पाएका थिए ।
पृथ्वीनारायण शाह क्रूर र तानाशाही राजाको छविका कारण वर्तमान नेपाली समाजमा ध्रुवीकरणको प्रतीक बनिरहेका ऐतिहासिक व्यक्तित्व हुन् । क्रूरताको चरम उदाहरणमा जयप्रकाश मल्लका जनरल जयन्त रानामगरलाई पुत्रशोकको किरियामा बसेको अवस्थामा घरबाटै समातेर नुवाकोट दरबारमा ल्याई आफैंले जिउँदै छाला काढेर हत्या गरेको घटनालाई लिन सकिन्छ । त्यस्तै मकवानपुरका एक जना मधेसी सैनिकलाई जुत्ता नलगाई सलाम गरेको दोषमा हत्या गरेको घटना र गोर्खालीको जितपछि कीर्तिपुरका जनताको नाक-कान काटेको प्रसंग प्रमुख रूपमा उठाइन्छ । इतिहासकारहरूको एउटा तप्का यस्ता घटनालाई समेत काल्पनिक ‘एकीकरण’ सँग जोडेर क्रूरताका पराकाष्ठाको पनि बचाऊ गरिरहेका भेटिन्छन् । बुझ्नुपर्ने मुख्य कुरा के हो भने विश्वको वर्तमान भूगोल तत्कालीन साम्राज्यवादी शक्तिहरूले उतिबेला लिएको राजनीति एवं रणनीतिको परिणाम मात्र हो । नेपाल पनि यसमा अछुतो छैन । पृथ्वीनारायणले अंग्रेज रिझाउन लिएको नीतिबाट नै यो कुरा प्रष्ट हुन्छ ।
पृथ्वीनारायण शाहको उदय नेपालको तत्कालीन राजनीतिक इतिहासमा महत्त्वपुर्ण परिघटना थियो । तर, यसलाई बंगाल-बिहारमा जरा फैलाउँदै गरेको इष्ट–इण्डीया कम्पनीको रणनीति, राजनीति वा उसको व्यापारिक स्वार्थको आलोकमा हेरिनुपर्दछ । पृथ्वीनारायण शाह अंग्रेजलाई चाहिएको सहयोग दिन तत्पर देखिन्थे र आफूलाई अंग्रेजबाट आवश्यक पर्ने सहयोग लिन पनि उनी हिच्किचाएको देखिन्न । अहिलेको समयमा त अर्को ५ वर्षमा कुन पार्टीको बहुमत आउँछ भन्ने अड्कल काट्न सकिन्न भने तत्कालीन समयमा भर्खर बंगालमा स्थापित हुँदै गरेका अंग्रेजहरूले भविष्यमा सम्पूर्ण भारतमाथि कब्जा गरी नेपालको डाँडाकाँडामा समेत प्रवेश गर्नेछन् भन्ने पृथ्वीनारायण वा अन्य कसैले उतिबेला कल्पना गर्न सक्ने अवस्था थियो भन्नु फजुल तर्क वा प्रोपोगाण्ड मात्र हो ।
यस अवस्थामा पृथ्वीनारायण शाहको कार्यलाई उनको शक्ति विस्तारको स्वार्थबाहेक अन्य कुनै अभियानको रूपमा अर्थ्याउन सकिँदैन । पृथ्वीनारायण शाहको उदय एउटा सत्ताको परिवर्तन मात्र हो । गोर्खाली सत्ताको स्थापना भनेको नेवा, मैथिली, किराँत, लिम्बुवान सत्ता वा सभ्यताको अवसान पनि थियो, जुन सयौँ वर्षदेखि नेपालको धर्तीमा टिकिरहेका थिए । त्यसैले कुनै सभ्यताको अवसानमा हामीले उत्सव मनाउनु उचित पनि हुँदैन ।
नेपालको राजनीतिक इतिहासमा कैयाैँ मोडहरू आएका थिए । कुन मोडबाट मोडिँदा कहाँ पुगिन्थ्यो अन्दाज लगाउने विषय मात्र हो । यस्तै एउटा मोडमा वि.सं. २००७ सालमा शाह वंशको पुर्नस्थापना भएको हो । यदि इतिहास यतातिर नमोडिएर अन्तै कतै लागेको भए सायद पृथ्वीनारायण शाह पनि अन्य राजा–महाराजाहरूजस्तै पुस्तकको कुनै पानामा थोरै अक्षरमा सीमित हुन्थे ।