सारङ्गीको तालले मेरो, मेरो सानो मुरली, हे फूल चुडेर लाने, सम्हालूँ कसरीजस्ता पाँच सयभन्दा बढी चर्चित र मर्मस्पर्शी गीतका सर्जक दार्जिलिङका वरिष्ठ गायक कुमार सुब्बाको शनिबार राति १० बजे सिलिगुडीमा निधन भएको छ ।
उनी ७० वर्षका थिए । शनिबार बिहान अचानक हृदयघात भएपछि सिलिगुडीको न्यूटिया अस्पतालमा उपचारार्थ भर्ना गरिएको र उपचारकै क्रममा निधन भएको छोरी निरन्जना सुब्बाले जनाएकी छन् । करिब एक दशकअघि मस्तिष्कघातबाट गम्भीर बिरामी परेका सुब्बा त्यसयता निरन्तर अस्वस्थ थिए । उनको मुटु र मृर्गौलामा समस्या देखिएको थियो । सिलिगुडी नजिक शिवमन्दिरस्थित छोरीको घरमा उनी बस्थे ।