२३ जेठ २०८०, मंगलबार

विचारविहीन बनाउने विचारको एकल प्रतीक एमाले !

–अर्जुन राई
२०४८ सालको आम निर्वाचनमा नेकपा एमालेको तर्फबाट सांसद पदका उम्मेद्वारहरुको पोष्टर टाँस्दै शुरु गरेको राजनीतिक यात्राका दिनहरु गिन्ती गर्दा जीवनका लामै समय व्यतीत भएको छ । बिगत ९ महिनादेखि म एमालेमा छैन । हुन त एमाले नै कहाँ छ र ? सर्वोच्च अदालतलाई प्रभावमा पारी सुनियोजित, षड्यन्त्रपूर्ण, वाम आन्दोलनलाई क्षत बिक्षत बनाउने कुत्सित चालले प्राविधिक रुपमा एमालेको नाम र चिन्ह ब्युँताइएको कुरा दिनको घाम जत्तिकै छ । परन्तु एमाले मेरो जीवनमा पनि अभिन्न हिसाबले जोडिएको छ । त्यसैले यसको बारेमा थोर बहुत जानकारी छ, बुझ्न सकिन्छ, भन्न सकिन्छ ।
विधान महाधिवेशनको फैसला र त्यसको दुई महिना पछि सम्पन्न महाधिवेशनले विधान महाधिवेशनको फैसला विपरित गरेको कार्य, दुबै महाधिवेशनमा छलफल हुन नसकेको वा नगरेको नगराएको आफ्नै समीक्षा, राजनीतिक कार्यक्रम, कार्यदिशा र भर्खरै सम्पन्न भएको वा हुँदै गरेको जिल्ला अधिवेशनहरुलाई हेर्दा साँचो अर्थमा एमाले अब संशोधित नयाँ खाले समूह हो भनेर भन्न कुनै गा¥हो छैन । धनकुटाको हकमा बजार हल्लाहरु जे जे चले त्यसमा मलाई कुनै ध्यान वा वास्ता छैन । सामुहिक जीवनलाई आत्मसात गरेर हिंड्नेहरुले बैयक्तिक विषयमा चासो दिनु नि छैन । तर एउटा जिवन्त पार्टी भित्र लोकतान्त्रिक प्रणाली र पद्वतीलाई कसरी आत्मसात र अभ्यास गर्नु पर्दछ भन्ने कुरालाई निर्ममतापूर्वक कुल्चिएपछि पार्टी र संगठनात्मक सिद्वान्त त अमुक ब्यक्तिको खल्तीमा पुग्यो नै ! खल्तिमा पुग्ने प्रणाली, राजनीति र संगठनको बिषयले अन्तत्वगत्वा विचार र आदर्शको मृत्यु नै हो । कसैलाई यो नलाग्न पाउँछ तर प्रमाणित हुन समय लाग्छ । खाली समयलाई धैर्य गर्न सकौं ।
भिडभाडको नाममा, नाम र चिन्हको नाममा चरम अवसरवाद, व्यक्तिवादले ग्रस्त तर आफूलाई मै हूँ ठान्ने अवसरवादीहरु बाहेक एमालेलाई माया गर्नेहरु, साँच्चै आदर्श ठान्नेहरु र एमालेले नै साँचो अर्थमा रुपान्तरण र समाजवादी आन्दोलनको अझै नेतृत्व गर्न सक्छ भनेर लामबद्व हुनेहरु प्रति मेरो अन्तहृदयबाट श्रद्वा र सम्मान छ । तर त्यस पंक्तिले गहिरो गरि अध्ययन, मनन गर्न भने जरुरी म ठान्दछु । क. पुष्पलालले नेकपा स्थापना गर्नु हुँदा नेपाली समाजको आर्थिक सामाजिक चरित्र पहिलो पटक बैज्ञानिक र वस्तुगत हिसाबले अर्धसामन्ती र अर्धऔपनिवेशिक भनेर खुट्याउनु भएको थियो । ०६२/६३ को जनआन्दोलन वा जनक्रान्तिले हाम्रो सामाजिक र आर्थिक चरित्रलाई परिवर्तन गरि पुँजीवादी युगमा प्रवेश गराएकोको कुरा एमालेको २०७१ असार अन्तिममा सम्पन्न नबौं महाधिवेशनले फैसला र स्वीकार गरेको महत्वपूर्ण विषय हो । त्यति मात्रै होईन उक्त महाधिवेशनले नेपालमा विद्यमान पुँजीवादको प्रकट रुप दलाल नोकरशाही चरित्रको रहेको र हामीले त्यसलाई तोड्दै निर्माण गर्न चाहेको आर्थिक सामाजिक प्रणाली, वितरण प्रणाली, राष्ट्रीय पुँजीको निर्माण, समतामुलक समाजको निर्माण लगायतका अभिभाराहरुको समेत स्पष्ट फैसला गरेको छ । साथै एमालेको न्युनतम लक्ष्य समाजवादको आधार तयार पार्ने हो भन्ने कुराको समेत स्पष्टताको साथ किटान गरेको छ । अतः हामीले सत्ता सम्हाले पछि सोही मार्गनिर्देशन र फैसलाहरुलाई अक्षरशः कार्यान्वयन गर्नु भन्दा अर्को विकल्प थिएन । तर वडादेखि राष्ट्रको सर्वोच्च सँस्थासम्म एकछत्र विजय प्राप्त गरेको स्वर्णिम र युगान्तकारी अवसरलाई हाम्रो मार्गनिर्देशन अनुसार रुपान्तरण र परिवर्तनको स्पीरिटमा काम गर्न नसकेको ध्रुबसत्य हो । हामीले जितेको स्थानको स्थानीय सरकार र अरुले जितेको स्थानको स्थानीय सरकारको काम, असर र परिणाम फरक देखाए मात्रै पनि स्वीकार गर्न सकिएला तर सबै उस्तै उस्तै ! बिगतको निरन्तरता ! उही ढिलासुस्ती, भ्रष्टाचार, कमिशन, बेथीति, व्यक्तिवाद, अवसरवाद ! अनि कसरी अरु भन्दा फरक ? संघीय र प्रदेश सरकारहरु पनि त्यो भन्दा फरक रहेन, बरु उल्टै हाम्रो मुख्य जिम्मेवारीमा रहेको दलाल, नोकरशाही पुँजीवादलाई अन्त गर्दै राष्ट्रिय पुँजीको निर्माण गर्ने दिशाबोध हुनुको सट्टा सबैभन्दा बढी दलाली र कमिशनको काण्डहरु यहि समयमा उद्घाटित हुन पुग्यो । तल तल उपभोक्ता समितिहरु मार्फत भएको सेटिङ्ग भन्नुस वा माथि यती र बतास जस्ता थुप्रै दलाली समूहहरुको संरक्षण र विकास भन्नुस ! यो कुनै पनि हालतमा समाजवादी बाटो थिएन र होइन । कसैले अप्रिय मान्नै पर्दैन । मुख्यतया यहि कारणले र पार्टी प्रणालीको विरुद्वमा पटक पटक हुकुमी निर्णयहरुकै कारणले आज हामी यस ठाउँमा उभिन पुगेका छौं ।
यहाँ स्थापित प्रणालीभित्र रहेर कम्युनिष्ट आन्दोलनको उदेश्य, विचार, आदर्श र मूल्य मान्यतालाई आत्मसात गर्दै कार्यान्वयन गर्नु सबभन्दा ठूलो र मुख्य बिषय थियो । तर हाम्रो यात्रा दौडिरहेको रेल भित्रको यात्री आफैं दगुरेर दुरी पार गरेको गफ दिए जस्तो मात्रै हुन पुगेको छ । अहिले एमाले पंक्तिभित्र धेरैले भन्ने गर्छन, विचार त छदै छ नि हामी त काम गर्ने हो काम ! ओहो यो भन्दा स्खलित बुझाई र प्रस्तुती एउटा कम्युनिष्ट पार्टीको कार्यकर्ताको निम्ति अर्को के हुन्छ ? विचार र मार्गदर्शनलाई हृदयङ्गम नगरी, वेवास्ता गर्दै, अझ भनौं मूल्य र आदर्शको मृत्युको मलामी भएर कामको कुरा गर्नु त असाध्यै ढोङ्गी र संशोधनवाद भन्दा उपल्लो स्तरको बिकृत रुप हो र सामाजिक भविष्यलाई गोलमटोल गर्ने भयंकर अज्ञानता हो । त्यसो नगरी व्यक्तिवाद, अवसरवाद, एकाधिकारवाद, भ्रष्टाचार र कमिशनबाट टाढा रहन सकेको मात्रै भए पनि नेपालको कम्युनिष्ट आन्दोलनले यो दुर्दिन भोग्न पर्दैन थियो । बिडम्बना आज जे नगर्नु पथ्र्याे र नहुनु थियो त्यो भएरै छाडेको छ ।
भनिन्छ कालो बादलको पनि किनारामा चाँदीको घेरा हुन्छ । सच्चा कम्युनिष्ट कार्यकर्ताहरुले यस कुरालाई बुझ्न जरुरी छ । परिवर्तनको यात्रीहरुले दवाब र जागरणको भूमिका निभाउन सक्ने ल्याकत राख्नै पर्दछ । बैयक्तिक प्राप्ति र दास मानसिकताले हामीलाई पु¥याउने ठाउँ भनेको लम्पसारवाद र आत्मसमर्पणको कित्तामै हो अनि बिचारको आर्यघाटमा नै हो । आज नेपालको वाम आन्दोलन र राजनीतिमा सबै भन्दा बढी दवाब र जागरणको भूमिका आवश्यक्ता छ भन्ठान्छु । प्रजातन्त्र आएको यतिका वर्षहरु बिते र लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि १५ वटा बर्षहरु बितिसके तर पनि व्यवस्था बदलियो अवस्था किन वदलिएन भन्ने सम्बन्धमा सुझबुझ र आलोचनात्मक चेतका साथ घोत्लिनु आजको अहम कार्यभार हो । नकि उपयोगवाद, उपभोक्तावाद, चरम अवसरवाद, व्यक्तिवाद, आत्मसमर्पण !
यस मानेमा बितेका ५ वर्षमा एमालेले असाधरण सौर्य र शक्तिको साथ सत्ता सञ्चालन गरेको हरेक दिनहरु, गरेका राजनीतिक निर्णयहरु र सांगठनिक गतिविधिहरुलाई हेर्दा तीब्र हिसाबले बिसर्जनको बाटोमा देखिएको छ । सजिलै भन्न सकिन्छ “सबै नेपाली पञ्च र सबै पञ्च नेपाली“ भन्ने मान्यता राख्दै “हाम्रो राजा प्राणभन्दा प्यारो छ“ भन्ने जमात हाम्रै समाजका थिए र आज “बा“ आई लव यू भन्नेहरु पनि हाम्रै समाजका हुन् । यी दुवै नाराको केमेष्ट्री एउटै हो भन्न कसैले छेक्दैन । एउटै मानसिकता, चिन्तन र सोंचको उपज हुन् । यस मानेमा मूल्य, मान्यता र निष्ठाका साथ लामबद्व मित्रहरुमा कहिँ कतै भ्रम हुन सक्छ । म भन्न चाहन्छु मित्रहरु भ्रममुक्त हुन सकौं । यो गोलमटोलको बाटोबाट कहिँ पुग्न सकिन्न । भन्ने गरिन्छ, पश्चिमाहरुको एउटा प्रखर बिचार छ रे ! त्यो भनेको “दुनियाँलाई विचारबिहीन बनाउनु । “ एमाले आज त्यही बाटोमा छ । त्यही विचारको प्रतीक बनेको छ । नहुँदोथ्यो त सम्पन्न भएका महाधिवेशनहरुमा समीक्षा, कार्यक्रम र कार्यदिशाको बारेमा गम्भीर बहस छलफल हुने थियो नै । तर ती सब व्यर्थ भए । यस्ता गम्भीर विषयहरुको सम्बन्धमा समयमै वस्तुनिष्ठ भइ निक्यौंल गर्न सकौं । आउनुस स्वाभिमानका साथ उन्नत सहकार्य गरौं । इतिहास बनाउने तपाईं हामीले नै हो । परिवर्तन र रुपान्तरणको आन्दोलनलाई दक्षिणपन्थी बिसर्जनवादबाट बचाउँदै सार्थक र अर्थपुर्ण सहकार्य गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *