पौराणिक महाकाव्य युगका महान् विभूति, महाभारत अठार पुराण, श्रीमद्भागवत, ब्रह्मसूत्र, मीमांसा अादि अद्वितीय साहित्य र दर्शनका प्रणेता वेदव्यासको जन्म आषाढ शुक्ल पक्षको पूर्णिमा तिथिका दिन द्वापर युगमा भएको थियो ।
प्राचीन कालमा सुधन्वा नाम गरेका एकजना राजा थिए । ती राजा एक दिन शिकार खेल्ने उद्देश्यले वनतर्फ गए । उनी वन गएउपरान्त उता दरबारमा नै रहेकी उनकी पत्नी रजस्वला भईन् । चार दिनमा पनि राजा फर्किएर अाएनन् । अाफ्नो ऋतुदानको समय अाएको समाचार उनले एउटा पन्छीमार्फत राजालाई पठाईन् । उक्त समाचार पाएपछि राजाले अाफ्नो वीर्य झिकेर पातको दुनामा राखी त्यसै पन्छीलाई दिए । चरो दुनो बोकी पुनः दरबारतर्फ उड्यो । बाटोमा त्यसले अर्को चरो भेट्यो । दुबै एकअापसमा लडाइँ गर्न थाले । दुबैमा ठुङाठुङ हुँदा चुच्चोले च्यापेको दुनो मुखबाट खस्यो र यमुना नदीमा पर्यो ।
त्यो दुनो खसेको समयमा ठिक्क मुनि यमुना नदीमा एउटा पोथी माछो विचरण गरिरहेको थियो । ब्रह्माले दिएको श्रापका कारणा एउटी स्वर्गकी अप्सरा मर्त्यलोकको यमुना नदीमा उक्त माछो भएर जीवन यापन गरिरहेकी थिई । माछाको रूपमा रहेकी अप्सराले चराको चुच्चोबाट झरेको दुनामा रहेको वीर्य फेला पारी । कुनै मिठै खाने कुरो हो भन्ने ठानेर उसले त्यो वीर्य खाइदिई । त्यसरी संयोगवश राजा सुधन्वाको वीर्य निलेकी हुनाले त्यो माछोका रूपमा रहेकी अप्सरा गर्भवती भई । गर्भ पूर्ण भएपछि एउटा निषादले त्यस माछालाई अाफ्नो जालमा पार्यो । उसले घरमा गएर माछो बनाउँदा त्यस माछाको भुँडीमा पूर्णरूपमा विकसित भइसकेका मानवाकृति एक जोडी बालबालिका भेट्यो । यसरी माछाको पेटबाट जुम्ल्याहा छोरा र छोरी फेला पारेपछि राजाज्ञा लिन ऊ राजाको दरबारमा गयो र ती दुबै बालबालिकालाई महाराज सुधन्वासामु प्रस्तुत गर्यो । छोरो नभएका कारण सुधन्वाले बालक चाहिं अाफैंले राखे र बालिका निषादलाई नै फिर्ता पठाइदिए । कालान्तरमा सुधन्वाले छोरो बनाएको त्यही बालक त्यस देशको राजा भयो र मत्स्यराजका नामले चर्चित भयो । उता निषादले पालनपोषणको जिम्मा पाएकी ती कन्याको शरीरबाट माछो गन्हाउने भएकाले तिनको नाम मत्स्यगन्धा रहन गयो । बढ्दै जाँदा चालचलन र शीलस्वभाव विचार गरी तिनको नाम सत्यवती राखियो ।
पिता निषादराजको वात्सल्य र मायाममतामा हुर्कँदै जाँदा सत्यवती बाह्र वर्षकी भईन् । सानै उमेर भए पनि उनले डुङ्गा खियाउन र बटुवालाई वारिपारि ल्याउने लैजाने काम जानी सकेकी थिईन् । त्यसैले अब उनी कहिलेकाहिं अाफ्ना पितालाई पालो दिन घाटमा जान थालेकी थिईन् । त्यस्तै समयमा एक दिन महर्षि पराशरले उनले खियाएको नाउमा बसेर यमुना नदी पार गर्नु पर्ने भयो । नदीको बीच भागमा पुग्दा नपुग्दै उनी सत्यवतीको रूपसौन्दर्यमा लट्ठिए र प्रणय अनुरोध गर्दै भन्न थाले – “देवि! म तिम्रो रूपमाधुर्यमा लट्ठ परेको छु, मेरो कामवेगलाई मैले थेग्न सकिंन, अहिले यत्ति खेरै म तिमीसँग सहवासको इच्छा राख्छु ।” ऋषिका कुरा सुनेर सत्यवती झस्किईन् । ऋषिको अनुनयलाई वेवास्ता गरेमा श्राप पाइने र मान्दा अाफ्नो कुमारीत्व भङ्ग हुने डर, सत्यवतीलाई कसरी यो कुरो टार्ने बडो अप्ठ्यारो पर्यो । उनले नम्र स्वरमा ऋषिको प्रणय अनुरोधको प्रतिकार गरिन् र प्रत्युत्तरमा भनिन् – “मुनिवर! हजुर ब्रह्मज्ञानी ब्राह्मण हुनुहुन्छ, तर म निषादकी छोरी मझिनी, त्यसमाथि तपार्इंको याैवनले परिपूर्ण भारिभरकम शरीर अनि म बाह्र वर्षकी सानी बालिका । हाम्रो सहवासको सम्भावना देख्दिन ।” त्यसपछि पराशरले पुनः फकाउँदै भने, “बालिके! तिमीले चिन्ता गर्नुपर्दैन, म योगबलले तिम्रो शरीरलाई बढाएर अावश्यकता बमोजिमको शरीर बनाउने छु, अनिमात्र भोग गर्नेछु, मैले भोग गर्नाले तिमीले एउटा युगपुरुषलाई जन्म दिनेछ्याै र सुत्केरी भए पनि तिमी कुमारी अवस्थामा नै रही रहने छ्याै ।” ए बाबै यी बुढा ऋषिले नछाड्ने भए भन्ने सोच्दै फेरि पनि उनले प्रतिकार गरिन् र भनिन् – “तपार्इं त सबै कुराका ज्ञाता हुनुहुन्छ, याैनसम्पर्क परम गोपनीय कार्य हो । उज्यालोमा र सूर्यको उपस्थितिमा सम्भोग गर्न मनाही गरिएको छ, यसरी दिउँसै सहवासको इच्छा गर्नु त नीतिविरुद्ध हुन जान्छ, त्यसैले हे ऋषिवर अहिले सहवासको विचार गर्नु उचित होइन ।” यति भनेर अनिच्छा प्रकट गर्दा पनि पराशरले मत्स्यगन्धालाई अाश्वस्त तुल्याउँदै भने – “हे बालिके, म योगबलले अहिले अँध्यारो बनाउछु, तिमीले लाज मान्नु पर्दैन । मेरो तेजबाट तिम्रो कोखमा यस युगको इतिहासले जन्म लिने समय अाएको छ र यस सहवासले सुन्दर भविष्यलाई डोर्याउने सङ्केत देखिंदैछ ।” बाबै नमान्ने भए भन्ने ठानेर सत्यवतीले सहमति जनाईन् । उनको सहमतिको सङ्केत पाउनासाथ ऋषिले अाफ्नो योगबलले चारै दिशामा बाक्लो कुहिरो उठाई अन्धकार तुल्याए र सत्यवतीका साथमा भोग गरे । त्यसपछि अाशीर्वाद दिंदै उनले सत्यवतीलाई भने, हे बालिके तिमीले मलाई सन्तुष्ट तुल्यायाै । त्यसैले तिम्रो शरीरबाट जुन माछाको गन्ध बाहिर अाउने गर्दछ, अाजबाट त्यो गन्ध सुगन्धमा परिणत हुनेछ ।
समय पूर्ण भएपछि सत्यवतीको कोखबाट कृष्णद्वैपायनको जन्म भयो । काला भएकाले तिनलाई कृष्ण भनिएको हो भने यमुनाको टापु (द्वीप) मा जन्मिएकाले कृष्णपछि द्वैपायन शब्द थपिएको हो । यिनको जन्म नेपालको तनहुँ जिल्लामा भएको हो भन्ने मत पनि देखिन्छ । व्यासको जन्म पवित्र नदी सेती र मादीको सङ्गम स्थलमा भएको प्रसङ्ग त्यस भेगमा प्रचलित रहेको पाइन्छ । जहाँ जन्म भए पनि यिनी जन्मनासाथ हलक्कै बढे र लक्का जवान भए । अनि अाफ्नी माता सत्यवतीसित तपस्या गर्न जाने अनुमति माग्न थाले । भर्खरै जन्मिएको बालकले अामासँग विदा माग्दा कुन अामाले विदा दिन्छिन् होला र? विचरा सत्यवती पनि छोराका वन जाने कुरा सुनेर खिन्न भईन् । अामाको मानसिकतालाई विचार गर्दै व्यासले पुनः अाश्वस्त तुल्याउँदै भने, “माते! तपार्इंले कुनै अापत पर्यो भने मलाई सम्झनु, म तुरुन्त अाउने छु । अहिले मलाई तपस्या गर्न जाने अनुमति दिनुहोस् ।” यति भन्नासाथ माता सत्यवतीसित अाज्ञा लिएर व्यास तपस्या गर्न हिमालय पर्वततर्फ लागे । नेपालको तनहुँ जिल्लाको दमाैलीमा रहेको व्यास गुफा उनले तपस्या गर्ने थलो हो भन्ने लोकमान्यता छ । पाँचहजार वर्ष पहिले दमौलीको यही गुफामा बसेर भगवान् गणेश र महर्षि व्यासले कलम नबिसाइकनै महाभारत लेखिसिध्याएकाले गुफाको नाम व्यास गुफा रहन गएको हो भन्ने गरिन्छ । पछि वेदको व्याख्या र सम्पादन गरी चार भागमा विभाजन गरेकाले उनको नाम वेदव्यास रहन गएको हो । यसरी विभिन्न कल्पहरूमा जन्मिएका व्यासहरूमध्ये वेदको सम्पादन, अठार पुराण, महाभारत र वेदान्त सूत्रका रचयिताको रूपमा अठ्ठाइसौं व्यास कृष्णद्वैपायनलाई नै वेदव्यास भन्ने पदवी प्रदान गरिएको हो ।
हिन्दू धर्म शास्त्रमा उल्लेखभए अनुसार महर्षि व्यास त्रिकालज्ञ थिए र उनले दिव्य दृष्टिका माध्यमबाट अनुभूति गरिसकेका थिए, कलियुगमा धर्म क्षीण हुनेछ, धर्म क्षीण भएपछि मनुष्य नास्तिक, कर्तव्यहीन र अल्पायु बन्न जान्छ । एउटा विशाल वेदको साङ्गोपाङ्ग अध्ययन उसको सामर्थ्यभन्दा बाहिर हुनेछ । त्यसैले थोरै बुद्धि र कम स्मरणशक्ति भएका अल्पज्ञ कलियुगका मानवहरूले पनि वेदको अध्ययन गरून् भनेर उनले वेदलाई चार भागमा विभाजन गरे । चार भागमा विभाजित भएका वेदहरूको नामकरण भयो – ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदलाई उनले क्रमशः अाफ्ना शिष्यहरू पैल, जैमिनि, वैशम्पायन र सुमन्तुमुनिलाई पढाए । वेदमा निहित ज्ञान अत्यन्त गोपनीय र कठिन भएकाले उनले पाँचाैं वेदका रूपमा पुराणहरूको रचना गरे, जसमा वेदभित्रका ज्ञानराशिलाई रोचक कथाका माध्यमबाट प्रतीकात्मक ढंगले अर्थ्याउने काम भएको छ । उनले रचना गरेको पुराणको सङ्ख्या १८ वटा छ । ती पुराणलाई उनले अाफ्ना अर्का शिष्य रोमहर्षण सुतलाई पढाए । यसरी व्यासले अाफ्ना शिष्यको रुचि र चरित्रको मनोवैज्ञानिक अध्ययन गरी बुद्धिबमोजिम एउटै वेदलाई अनेकानेक शाखा र उपशाखामा रूपान्तरण गरे । पुराणको रचना पूर्ण भएपछि यिनै व्यासले विशालकाय ग्रन्थ महाभारतको पनि रचना गरे । असाधारण व्यक्तित्व भएकाले वेदव्यासलाई भगवान् विष्णुको अट्ठाराैं अवतार मानिन्छ । व्यासको अध्ययन, मनन र ज्ञान बाँड्ने शैली देखेर उनको सम्पर्कमा आएका सबै दङ्ग पर्थे । अध्ययनसँगै लेखन र सम्पादन कार्यमा पनि व्यास सिपालु थिए । वेदलाई सम्पादन गरेपछि उनले भन्दै र गणेशले लेख्दै गरेर दुई वर्ष छ महिनामा विशाल ग्रन्थ महाभारत तयार भएको थियो । हाम्रो अास्थासँग जोडिएको प्राचीन ग्रन्थ महाभारत अहिलेसम्मको विश्वकै ठूलो महाकाव्य हो ।
महाभारतका महत्त्वपूर्ण व्यक्तिहरूको जन्मको श्रेय व्यासलाई जान्छ । सत्यवतीको विवाह हस्तिनापुरका नरेश शन्तनुसँग भएको थियो । सत्यवतीले चित्राङ्गद र विचित्रवीर्य नामका दुईजना छोरालाई जन्म दिएकी थिइन् । युवराज चित्राङ्गद विवाहपूर्व नै युद्धमा मारिए । राजा शन्तनुको गङ्गाबाट जन्मिएका छोरा भीष्मले भाइ विचित्रवीर्यको विवाहका लागि काशी नरेशका पुत्रीहरू अम्बा, अम्बिका र अम्बालिकालाई जबर्जस्ती अपहरण गरेर ल्याए । अम्बाले विवाह गर्न मानिनन् । अम्बिका र अम्बालिकाको विचित्रवीर्यसँग विवाह भयो । सन्तान नजन्मँदै विचित्रवीर्य मरे । हस्तिनापुरको गद्दीमा बस्ने उत्तराधिकारी कोही भएनन् । राजमाता सत्यवतीले धेरै गमेर, विचार गरेर, आफ्नो राज्य सुरक्षित राख्ने उपाय सोचिन् । उनको पराशर ऋषितर्फको छोरो व्यासलाई बोलाइन् । व्यास अामाले बोलाएपछि हस्तिनापुर अाए, उनको चिन्ताको विषय थाहा भयो । उनले आमा सत्यवतीको आज्ञाअनुसार नियोग प्रथाद्वारा सन्तान जन्माउने निर्णय गरे । महाभारतकालमा पतिद्वारा सन्तान नहुने भएमा परिवारका अग्रज वा गुरुजनको आज्ञाले अन्य विशिष्ट पुरुषद्वारा गर्भधारण गर्ने व्यवस्था थियो । नियोग प्रथाद्वारा जन्मिएका सन्तानका जैविक बाबुहरू फरक-फरक भए पनि थर भने कानूनी रूपका बाबुकै राखिन्थ्यो । प्राचीन समयमा एउटी स्त्रीले नियोग प्रथाद्वारा तीन पल्टसम्म सन्तान जन्माउन सक्थिन् । ऋषि व्यासले नियोग प्रथा अपनाए । अम्बिकाबाट धृतराष्ट्र, अम्बालिकाबाट पाण्डु र दासी वनिताबाट विदुरको जन्म भएको थियो ।
पत्नी आरुणीको कोखबाट उत्पन्न उनका पुत्र हुन् – महान् बालसन्त योगी श्री शुकदेव स्वामी । शुकदेवको भक्ति र ज्ञानको चर्चा शास्त्रहरूमा पाइन्छ । ऋषि व्यासले रचना गरेका श्रीमद्भागवतको सरल र व्यावहारिक ढंगले प्रचार-प्रसार शुकदेवले गरे । आजसम्म पनि एकाह, सप्ताह, नवाह, चौमासा र एक वर्षसम्म श्रीमद्भागवत महापुराण वाचन गर्ने व्यापक चलन छ । विभिन्न धार्मिक यज्ञयागादिका क्रममा पण्डितलाई वाचन गर्न लगाएर व्याख्या गराउने र धेरै श्रोताहरू एकैपल्ट जम्मा भई एकचित्त भई सुन्ने चर्चित पुस्तक श्रीमद्भागवत नै हो । त्यसरी पुराणमा कथावाचन गर्ने पण्डितलाई व्यास नै भन्ने गरेको पाइन्छ । महाभारतलगायत अठारवटा प्रमुख पुराणहरू रचना गरेर व्यासले ज्ञान, कर्म, भक्तिको मार्ग अवलम्बन गरी सजिलै मोक्ष प्राप्त गर्न सकिने सरल उपाय सुझाएका छन् । विशाल ग्रन्थ महाभारतमा वेदको रहस्य र विस्तार, उपनिषदको सम्पूर्ण सार, इतिहास, पुराणको आशय, ग्रह—नक्षत्र, तारा आदिको परिमाण, न्याय, शिक्षा, चिकित्सा, दान, तीर्थ, नदी, पहाड, वन र समुद्रको पनि वर्णन छ । विश्वप्रसिद्ध ग्रन्थ “गीता” महाभारतकै अंश हो । व्यासले रचना गरेका अठार पुराणहरूको निचोड हो- अरुको उपकार गर्नु पुण्य हो र अरुलाई दुःख दिनु, मर्का पार्नु पाप हो – ‘अष्टादश पुराणेषु व्यासस्य वचनं द्वयम् । परोपकाराय पुण्याय पापाय परिपीडनम् ॥’