बबिता बस्नेत
‘सन्चै हुनुहुन्छ ?’- कसैसँग भेट्दा सबैभन्दा पहिला प्रायः हामी यही प्रश्नबाट कुराकानी सुरु गर्छौं । हाल खबर सोध्ने क्रममा कसैले ‘कस्तो छ तपाईंलाई ?’ भन्ने गर्छन् भने अङ्ग्रेजी बोल्नेले ‘हाउ आर यु ?’बाट कुराकानीको सुरुवात गर्छन् । जवाफमा प्रायः ठिक छ, बेसै छ, राम्रै छ, आइएम फाइन भन्ने गरिन्छ । तर अहिले यस्तो समय आयो, कसैले ‘सन्चै हुनुहुन्छ ?’ भनेर सोध्दा ‘म सन्चै छु, या ठिकै छु,… आइएम फाइन’ भन्न सक्ने अवस्था छैन । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले घर-घरमा मानिसहरू बिरामीले थलिएका छन् । काठमाडौं शहरका टोलहरू सुनसान छन्, बनिरहेका छन् । घ-घरमा बिरामीको सङ्ख्या बढ्दै गएको छ । एउटा निको हुन्छ, अर्कोलाई सुरु हुन्छ, अर्को निको भयो अर्कोलाई, एकपछि अर्को बिरामी थपिँदैछन् । मानिसले आफ्नो जीवनकालमा एउटा अनौठो परिस्थिति भोगिरहेका छन् । कसैले सन्चै हुनुहुन्छ ? भनेर सोध्दा एकछिन अकमकाउनुपर्ने अवस्था छ, सन्चै छु भनुँ भने सन्चो छैन, बिरामी छु भनुँ भने सन्चै हुनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा ‘म बिरामी छु’ भन्ने बानी छैन । विगतमा ‘आइएम फाइन’ या मलाई ठिक छ भन्ने जवाफ परिवर्तन भएर ‘अँ… अहिले यस्तै त हो…’मा परिणत भएको छ ।
मानसिक उल्झन, मनको दुःख र शारीरिक कष्ट फरक रहेछ भन्ने महसूस पनि शायद मानिसहरूले अहिले गरिरहेका छन् । जतिसुकै पीडा र उल्झनबाट गुज्रिरहेका भए पनि पनि प्रायः हाउ आर यु ? को जवाफमा ‘आइएम फाइन’ नै भन्ने गर्छन्, गरिन्छ । जिन्दगीमा कति कुरा ठिकठाक नचलिरहेका बेला पनि फिस्स हाँस्दै ‘मलाई ठिक छ’ भन्नेहरूको सङ्ख्या नब्बे प्रतिशतको हाराहारीमा होला । तर शारीरिक कष्ट भने मनको दुःख झैँ लुकाउन नसकिँदो रहेछ भनेर शायद धेरैले अहिले ‘फिल’ गरिरहेका होलान् । अस्वस्थ अवस्थाले मानिसको जीवनमा अनेकौँ पाठ सिकाइरहेको हुन्छ । एकर्कालाई हेर्ने दृष्टिकोण, माया-ममता, आफ्नोपन लगायतका धेरै कुरा मानिसले बिरामी भएका बेला महसूस गर्न पाउँछन् ।
कुनै पनि आपतविपद अवसर लिएर आउँछ भन्ने भनाइ छ । बिरामी हुनुको सबैभन्दा राम्रो पक्ष परिवार तथा आफूवरिपरिका मानिसहरूको ब्यवहारको पहिचान हो । आफूलाई दुःख परेको बेला कसले के गर्छ, कस्तो ब्यवहार गर्छ भन्ने कुराको महसूस गर्ने अवसर हो बिरामी अवस्था । ‘के खाने ?’ भनेर कसले सोध्यो, ‘यो खाउ न..’ भनेर कसले खानेकुरा अगाडि राखिदियो, ‘खानैपर्छ’ भनेर कसले कर गऱ्यो र कसले चाहिँ त्यस्ता कुराहरूको मतलबै गरेन – बिरामी अवस्थाले मानिसलाई स-साना लाग्ने तर तात्कालिन समयमा ठुलो अर्थ राख्ने यस्ता कुराको जानकारी दिलाउँछ ।
ओमिक्रोनले आछ्यान परेपछि सरकारी कार्यालयमा कार्यरत एकजना बहिनीले यो पङ्क्तिकारसँग भनिन्- ‘विवाह भएदेखि म यसरी बिरामी परेकी थिइनँ, मेरा पति भने बेला-बेलामा बिरामी पर्थे, उनका लागि मैले कति पटक कार्यालयमा बिदा लिएर बसेकी छु, स्याहारसुसार कति गरेँ त्यसको त कुरै भएन । तर अहिले मलाई पर्दा उनले आफूलाई फूर्सद नभएको भनेर वास्तै गरेनन् । एकदिन पनि छुट्टी बसेनन् । ‘के खान मन छ ?’ भनेर सोधे तर ‘यो खाउ न’ भनेर दिएनन् । थरथर काम्दै मैले नै खानेकुरा बनाएँ र आफ्नो केयर आफैले गरेँ । बिरामी पर्दा उनको मप्रतिको ब्यवहारले ‘यस्तो मान्छेसँग कसरी जिन्दगी बिताउनु ?’ भन्ने ठाउँमा मलाई पुऱ्याएको छ ।’ यो उनको मात्रै भोगाइ होजस्तो लाग्दैन, हाम्रो समाजका धेरै महिलाको भोगाइ हो । सबै पुरुषहरू उस्तै छैनन् तर धेरैको ब्यवहार पत्नी बिरामी हुँदा फरक हुने महिलाहरूको अनुभव सुनिन्छ । चाणक्यले भनेका छन्- ऋण लागेको बेला पत्नी चिन्नु, बिरामी भएको बेला पति चिन्नु ।
मानिसले जीवनमा धन र मानका लागि गर्न मिल्ने-नमिल्ने अनेक काम गर्छन् । सम्पत्ति नहुनेलाई पैसा भए त जिन्दगीमा अरु केही चाहिँदैनथ्यो भन्ने हुन्छ । जब पैसा हुन्छ, सम्पत्ति भन्दा ठुलो त नाम हो मान हो भनेर त्यतातिर लाग्छन् । अहिले ठुला ब्यापारी धनाढ्यहरू पैसा खर्च गरेर सांसद, मन्त्री हुनुको कारण त्यही हो । पैसा कमाइसकेपछि उनीहरूलाई अरु नै कुरा ठुलो लाग्न थाल्यो । तर मानिसले जे-जे काम गरे पनि, जति ठुला कुरा गरे पनि अन्ततः चाहनेचाहिँ खुशी नै हो । खुशी र आफ्नोपन ठुला कुरा या महँगो सामानमा नभइ स-साना कुरामा लुकेको हुन्छ । जब मानिसलाई भौतिक सुख-सुविधा पर्याप्त हुन्छ त्यसपछि उसलाई महँगो कार या हिराको हार भन्दा ‘तिमीलाई कस्तो छ ? सन्चै छौ ? खाना खायौ ? आज सँगै बसेर खाउँ न..’ जस्ता कुरा महत्वपूर्ण लाग्न थाल्छन् । केयरिङ र सेयरिङले मानिसलाई आफू बाँचिरहेको महसूस गराउँछ । तर हामी भौतिक संसारमा यसरी दौडिरहेका छौँ कि वास्तविक जीवन बाँच्ने कुरा टाढा-टाढा हुँदै गएको छ । अझ सामाजिक सञ्जालले हामीलाई बनावटी र फेक बनाउँदै लगेको छ । बिरामीलाई कस्तो छ भनेर बुझ्नुअघि फोटो खिचेर सामाजिक सञ्जालमा राख्न हामीलाई हतार हुन्छ । उसँग रोगसँग जुध्नका खाने औषधी किन्ने पैसा छ कि छैन ? उसले समयमा खाना पाएको छ कि छैन ? हामीले सोध्नै छोड्यौँ । विगतमा बिरामी हेर्नका लागि फलफूल बोकेर अस्पताल या घरसम्म पुग्ने चलन पनि अब त पुरानो भइसक्यो । बिरामी भएको थाहा पाएपछि फोटो राखेर स्वास्थ्यलाभको कामना गर्नुलाई हामीले आफ्नो दायित्व झैँ ठान्न थालेका छौँ । कति लाइक र कमेन्ट आयो, कस-कसले गरे भनेर त्यसैमा रमाउन थालेका छौँ जुन लाइक/कमेन्टले बिरामीको अवस्था सुधारका लागि कुनै मद्दत पुग्दैन । हामी वास्तविक संसारबाट टाढा र फेक दुनियाँसँग नजिक हुदैछौँ । बाहिरी संसारमा त चल्थ्यो नै अब त आफन्त, निकटवर्ती र पारिवारिक सदस्यहरूबीचमा पनि यो हाबी हुन थालेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फेक सम्बन्धहरूको बिस्तार तीव्र रूपमा बढि रहेको छ । जसले मान्छेभित्रको मान्छेलाई मार्दै बनावटी मान्छे जन्माइरहेको छ ।
जिन्दगीको सबैभन्दा ठुलो त्रास मृत्यु हो । मृत्युको भय नहुँदो हो त मानिसलाई महामारी या कुनै पनि बिरामी अवस्थाको मतलबै हुने थिएन । महाभारतमा यक्षले युधिष्ठिरलाई गरेका प्रश्नहरूमध्ये एक थियो- सबैभन्दा ठुलो आश्चार्य के हो ? जवाफमा युधिष्ठिरले भनेका छन्, मृत्यु जीवनको अन्तिम सत्य हो तर मानिसहरूलाई आफ्नो जीवनको अन्तिम सत्य मृत्यु हो भन्ने लाग्दैन त्यो नै सबैभन्दा ठुलो आश्चार्य हो । अहिलेका जस्ता महामारी आए पनि नआए पनि मानिसको जीवनमा मृत्यु अपरिहार्य छ । त्यसैले मर्नुअघि मानिसले बाँच्नु आवश्यक हुन्छ । बाँच्नका लागि आफूवरिपरिका मानिसहरूको साथले महत्व राख्छ, विशेषगरी अस्वस्थ भएको बेलामा । त्यसैले यो महामारीमा आफ्ना निकटवर्तीहरूको केयर गरौँ, मर्नुअघि बाँचौँ ।