१२ असार २०७९, आइतवार

सामाजिक कार्यमा सक्रिय “शितको थोपा” !

नविना बानियाँ

यतिखेर जाडो बढ्दै गएको छ । जाडोकै कारण सामान्य नागरिकहरुको जनजीवन प्रभावित बनेको छ । कमजोर आर्थिक अवस्था भएका समुदायहरु जाडोमा कठ्याङ्ग्रिएर बाँच्न विवश भएको बेला “शितको थोपा” अभियानले केही भएपनि राहत दिएको छ ।


विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको शितको थोपा नामक सामाजिक संस्था गत शुक्रबार पनि यस्तै सामाजिक काममा जुट्यो । श्री भानु माध्यमिक विद्यालयको प्राङ्गणमा कमजोर आर्थिक अवस्था भएका पाँच जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । त्यसैगरि श्री उपल्लोचौर आधारभूत विद्यालयका तीन विद्यार्थीहरु र तीन वृद्धवृद्धा गरेर एघार जनालाई न्यानो कपडा वितरण गरिएको शितको थोपा अभियानका संयोजक सुनिल दामलले बताउँनु भयो ।


वितरण कार्यक्रमका प्रमुख अतिथि टेकबहादुर थापाले “शितको थोपा”ले गरेको कामहरु अन्य सामाजिक संस्थाहरुले सिक्नुपर्ने बताउँनुभयो । थापाले भन्नुभयो “च्याउसरी संस्थाहरु उम्रनु ठूलो कुरा होइन, के कामका लागि संस्था स्थापना गरिएको हो? त्यही अनुसार काम गर्नु ठूलो कुरा हो” भन्दै वितरण कार्यलाई निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि श्री भानु माध्यमिक विद्यालयका प्र.अ. भरत खत्रीले दुःख र अभावले थिचिएका जनतासामु यो संस्था पुगेर पीडामा मलम लगाउन सकोस् भन्दै संस्थाको प्रगतिको लागि शुभकामना ब्यक्त गर्नुभयो । अतिथि विक्रम सुवेदीले पनि शुभकामना मन्तब्य राख्नु भएको थियो ।

त्यसैगरि रामचन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा पनि स्कुल ब्यवस्थापनका अध्यक्ष चक्रबहादुर थापामगरको प्रमुख आतिथ्यतामा रामचन्द्र माविका ५ जना, ज्ञानकुंज आधारभूत विद्यालयका १ जना र ६ जना अन्य वृद्धवृद्धाहरु गरेर १२ जनालाई न्यानो कपडा वितरण गरिएको थियो । प्रमुख अतिथि थापामगरले शितको थोपा नामक सामाजिक संस्था साच्चै समाजसेवा गर्नकै लागि स्थापना भएको बताउँनुभयो । विशेष अतिथि पदमबहादुर थापाले आफूले धेरै संस्था देखेको तर यो संस्था काम गर्नकै लागि जन्मिएको भन्दै संस्था जन्माउने पदाधिकारीहरुलाई धन्यवाद समेत दिनुभयो । कार्यक्रममा ममता बोहोरा, पवित्रा परियार, सृजना थापा, रंजिता बुढाथोकी, समीक्षा नेपाली, सुहाना थापा लगायतका कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
शितको थोपा अभियानकी सचिव मंजु परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन अभियानका संयोजक सुनिल दामलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.