१६ असार २०७९, बिहिवार

सिफारिसः ‘कर्नाली ब्लुज’ को अंग्रेजी अनुवाद : के नेपाली साहित्यले विश्वबजारमा फड्को मार्दैछ ?

अंगद सिंह
‘यो खुशी !’ लेखक बुद्धिसागर लेख्छन्, ‘कर्नाली ब्लुजको प्रति हात परेको छ । यस क्षणमा अनुवादक माइकल हटलाई हार्दिक धन्यवाद । प्रकाशक पेन्गुइनलाई पनि धन्यवाद । र, धन्यवाद सम्पूर्ण पाठकहरूलाई जसको प्रेम र सद्भावले पुस्तकले १२ वर्ष लामो यात्रा तय गरेको छ । यात्रा अझै जारी छ ।’

फेसबुक मार्फत उनले आफ्नो उपन्यास अंग्रेजीमा अनुवादित भएको खुशी व्यक्त गरेका हुन् । अन्तर्राष्ट्रिय प्रकाशन संस्था ‘पेन्गुइन बुक्स’ले यसको अंग्रेजी संस्करण बजारमा ल्याएको हो । दश वर्षअघि नेपाली भाषामा प्रकाशित ‘कर्नाली ब्लुज’लाई चर्चित अनुवादक माइकल हटले अनुवाद गरेका हुन् ।

अक्सर विश्व चर्चित पुस्तकहरू नेपालीमा अनुवाद हुने गर्छन्, भएका छन् । नेपाली साहित्यले भने विश्व भाषामा रूपान्तरण हुने ‘सु-अवसर’ विरलै पाउने गर्छ । यस मानेमा बुद्धिसागरको ‘कर्नाली ब्लुज’लाई यो दुर्लभ अवसर मिलेको हो ।

खासमा बुद्धिसागरले नेपाली पाठकका लागि, नेपाली परिवेशमा, नेपाली कथालाई, नेपाली भाषामा लेखेका थिए । उनले शायदै कल्पेका थिए, एकदिन यो अंग्रेजीमा रूपान्तरण हुनेछ र विश्वका पाठकहरूमाझ पुग्नेछ । तर, उनको उपन्यासको गुरुत्वबलले अन्तर्राष्ट्रिय प्रकाशकलाई यसरी तान्यो, जसले ‘कर्नाली ब्लुज’लाई विश्वका अधिकांश पाठकले पढ्न र बुझ्न सक्ने भाषामा अनुवाद गरिदियो ।

‘एक अद्भुत पुस्तक !’ केही समयअघि पेन्गुइन बुक्स इन्डियाकी प्रकाशक मेरु गोखेलले लेखेकी थिइन्, ‘मैले आजसम्म पढेको मध्ये एक उत्कृष्ट बाल्यकालीन चित्रण । कर्नाली ब्लुजमा छोरा र बाबुको सम्बन्धबारे पढेर मन्त्रमुग्ध भएँ ।’

कर्नाली ब्लुजको अंगेजी संस्करण समाइरहँदा उनको मनमा एकसाथ दुई किसिमको भाव प्रकट भएको छ । पहिलो, उत्साह । दोस्रो, डर । उत्साह यसकारण कि, एक नामी अन्तर्राष्ट्रिय प्रकाशकले उनलाई पत्याए । डर यसकारण कि, अंग्रेजी भाषामा अनुवाद भएपछि विश्वका पाठकले कति रुचाउँलान् ?

‘यो नेपालको परिवेशमा लेखिएको नेपालीको कथा हो’ बुद्धिसागर भन्छन्, ‘यसले अंग्रेजी पाठकलाई छुन सक्छ वा सक्दैन भन्ने कुराले चाहिं मलाई अस्थिर बनाएको छ ।’

पेन्गुइन बुक्स जस्तो अन्तर्राष्ट्रिय ख्याति कमाएको प्रकाशकले कर्नाली ब्लुजलाई अंग्रेजीमा प्रकाशित गर्नु आफैंमा उपलब्धि मान्छन्, बुद्धिसागर । उनी भन्छन्, ‘ब्रान्डले पुस्तक प्रकाशनमा ठूलो अर्थ राख्छ र पुस्तकलाई लिएर निकै कौतूहल लागेको छ ।’

‘कर्नाली ब्लुज’लाई फाइन प्रिन्टले प्रकाशित गरेको थियो । फाइन पि्रन्टका प्रकाशक अजित बराल पेन्गुइन जस्तो बहुराष्ट्रिय विश्व चर्चित प्रकाशन गृहले नेपाली साहित्यलाई विश्वभरका पाठकसम्म पुर्‍याउनु नेपाली साहित्यको सफलता भएको बताउँछन् ।

‘कर्नाली ब्लुज अन्तर्राष्ट्रिय स्तरको ब्रान्डेड प्रकाशन गृहले छापेको पहिलो कृति हो’, प्रकाशक अजित भन्छन्, ‘नेपालमै खुम्चिएको नेपाली साहित्य विश्वबजारमा पुग्दैछ यो नेपाली साहित्यको ठूलो सफलता हो ।’

कर्नाली ब्लुजले विश्वभरका पाठकमा कत्तिको प्रभाव पार्छ भन्ने कुरा आफ्नो ठाउँमा भए पनि यसले अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्य चिनाउने काम गरेको बरालको भनाइ छ ।

त्यसो त नेपाली पुस्तक विदेशी भाषामा अनुवाद नै नभएका विदेशी प्रकाशन गृहले प्रकाशन नै गरेका भने होइनन् । यस शृंखलामा पारिजातको ‘शिरीषको फूल’, डायमण्डशमशेर राणाको ‘सेतो बाघ’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’ लगायत सीमित पुस्तक अंग्रेजी भाषामा छापिएका छन् । यद्यपि यी कृतिहरूले अपेक्षाकृत अन्तर्राष्ट्रिय पाठकलाई लोभ्याउन सकेका छैनन् ।

‘विदेशी पाठकले रुचाउँछन् वा रुचाउँदैनन् भन्ने कुरा महत्वपूर्ण हो’, बुद्धिसागर भन्छन् । बुद्धिसागरका समकालीन लेखक अमर न्यौपानेे पेन्गुइन पब्लिकेशनले नेपाली साहित्यलाई प्रकाशन गर्नु नेपाली साहित्यका लागि गर्वको कुरा भएको बताउँछन् ।

‘नेपाली साहित्य विश्वबजारमा गएको छ, यसले नेपाली साहित्यलाई चिनाउने मौका दिएको छ’ साहित्यकार न्यौपाने भन्छन्, ‘यो समग्र नेपाली साहित्यका लागि खुशी र गर्व गर्ने कुरा हो ।’

नेपाली साहित्य नेपालमा मात्रै सीमित रहेको बेला विश्व प्रसिद्ध प्रकाशन गृहले प्रकाशन गर्दा नेपाली साहित्यको दायर बढ्ने र पश्चिमा साहित्यले बुझ्ने मौका पाउने उनको बुझाइ छ ।

कर्नाली ब्लुजलाई विश्वभर चर्चित रहेको पब्लिकेशनले प्रकाशन गरेकाले यसले नेपाली साहित्यलाई विश्वबजारमा स्थापित गराउने आशा गरिएको फाइन प्रिन्टका बराल बताउँछन् । कर्नाली ब्लुज अहिलेसम्म विश्वको प्रतिष्ठित प्रकाशन गृहले प्रकाशन गरेको एक मात्र कृति रहेको उनको भनाइ छ ।

कर्नाली ब्लुज भन्दा पहिला पनि केही पुस्तकको अंग्रेजी अनुवाद भएको भए पनि ती पुस्तकले नेपाली साहित्यलाई विश्वबजारमा स्थापित गर्न नसकेको उनी बताउँछन् । नेपाली साहित्यको अंग्रेजी साहित्यका पाठकसँग पूर्ण सम्पर्क बन्न नसक्दा नेपाली साहित्य विश्व बजारभर पुग्न नसकेकाले नेपाली साहित्य पछाडि परेको उनको तर्क छ ।

‘पुस्तक कहाँबाट प्रकाशन हुन्छ भन्ने कुराले ठूलो अर्थ राख्छ’ बराल भन्छन्, ‘कर्नाली ब्लुजले नेपाली साहित्यको गरिमा बढाएको छ, नेपाली साहित्यलाई विश्व साहित्यसामु उभ्याएको छ ।’

नेपाली पुस्तकको अनुवाद शृंखला

कर्नाली ब्लुजभन्दा पहिला पनि अन्य पुस्तक अनुवाद भएका छन् । नेपाली पुस्तक अंग्रेजीमा अनुवाद गर्ने शृंखलाबाट भएको हो ।

पारिजातको शिरीषको फूलले अंग्रेजीमा अनुवाद भएपछि निकै चर्चा कमाएको थियो । वि.सं. २०२२ को मदन पुरस्कार विजेता शिरीषको फूल ‘दी ब्लु मिमोसा’ नामबाट अनुवाद भएको छ । यो कृतिलाई मेरिल्याण्ड विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेको छ । नेपालमा समेत निकै चर्चा कमाएको पुस्तक शिरीषको फूलमा चलचित्र समेत निर्माण गरिएको छ ।

लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनलाई आनन्दप्रसाद श्रेष्ठले अंग्रेजीमा अनुवाद गरेका छन् । मुनामदनलाई भारतको निराला प्रकाशन गृहले प्रकाशन गरेको थियो । जसलाई ‘अ प्ले इन दी झ्याउरे फोक ट्रेडिसन’ नाम दिइएको छ ।

त्यस्तै सन् १९७३ मा नेपाली भाषामा प्रकाशित डायमण्डशमशेरको ऐतिहासिक उपन्यास सेतोबाघ अंग्रेजीका साथै फ्रेन्च र जापानी भाषामा समेत अनुवाद भएको छ । उक्त पुस्तकलाई ‘दि वेक अफ दी हृवाइट टाइगर’ नाम दिएर बालिका राणाले अनुवाद गरेकी हुन् ।

मञ्जुश्री थापाले इन्द्रबहादुर राईको पुस्तक ‘आज रमिता छ’ लाई ‘देयर इज अ कार्निभल टुडे’ नाम दिएर अनुवाद गरेकी छन् ।

त्यस्तै लेखक नारायण वाग्लेको पुस्तक ‘पल्पसा क्याफे’ अंग्रेजी, फ्रेन्च, कोरियन र सिंहाली भाषामा प्रकाशन भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको अनुवाद शाखा

नेपाली साहित्य कृतिको अनुवादका लागि भनेर नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्य अनुवाद विभाग नै गठन गरेको छ ।

२०६७ सालमा छुट्टै विभाग स्थापना गरेको भए पनि विभागले उल्लेख्य मात्रामा नेपाली पुस्तकको अनुवाद हुनसकेको छैन ।

नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य अनुवाद विभाग प्रमुख प्राध्यापक डा. उषा ठाकुरका अनुसार साहित्य अनुवाद विभागले करीब ४० कृति विभिन्न भाषामा अनुवाद गरेको छ ।

डा. ठाकुरका अनुसार नेपाली साहित्य तथा कृतिलाई विश्वबजारमा पुर्‍याउन अंग्रेजी र हिन्दी भाषामा साहित्यिक कृतिको अनुवाद गर्ने गरिएको छ ।
‘विभागमा कविता, उपन्यास र निबन्ध बढी मात्रामा अनुवाद भएका छन्’ उनी भन्छिन्, ‘नेपालीबाट भोजपुरी, मैथिली, नेवारी, अवधी भाषामा र हिन्दी अनि अंग्रेजी भाषामा पनि अनुवाद गरिरहेका छौं ।’

वर्तमान अवस्थामा नेपालमा प्रेसको संख्या, सर्वसाधारणको साक्षरतादर बढ्दै गए पनि गुणस्तरीय अनुवादको अभावले अनुवाद कृति निकै कम रहेको र अनुवादित कृतिले समेत आफूलाई स्थापित गर्न नसकेको अवस्था छ ।

नेपाल बाहिर नेपाली साहित्यको बजार नभएका कारण नेपाली बजारभन्दा बाहिर नेपाली साहित्यले आफ्नो पहिचान गर्न नसकेको प्रकाशक बराल बताउँछन् ।

नेपाली साहित्य विश्वबजारमा जानुअघि त्यसको लेखनस्तर बलियो हुनुपर्नेमा प्रकाशक बराल सहमत छन् ।

‘राम्रो कृतिका लागि राम्रो लेखन कला आवश्यक पर्छ’ उनी भन्छन्, ‘नेपाली साहित्यले विश्वबजारको ध्यानाकर्षण गर्न राम्रो कृतिका साथै प्रस्तुत शैली नवीनतम हुनुपर्छ ।’

नेपालीमा अनुवाद भएर आएका कृतिको स्तर राम्रो भए पनि नेपाली पुस्तकको अनुवाद निकै कमजोर रहेको उनको भनाइ छ । लेखक तथा साहित्यप्रेमीले नेपाली साहित्यको स्तर उकास्नुपर्ने भन्दै बरालले कर्नाली ब्लुजले नेपाली साहित्यलाई थप उँचाइमा पुर्‍याएको बताए ।

‘सानो नेपाली बजारमा मात्रै सीमित नेपाली साहित्य अन्तर्राष्ट्रिय साहित्यमा समेटिएको छ’ उनी भन्छन्, ‘नेपाली साहित्यको दायरा फराकिलो हुँदै गएको छ नेपाली साहित्यमा अवसरका ढोका खुल्नुका साथै आफूलाई चिनाउने मौका आइरहेको छ ।’

बुद्धिसागर माइकल हटको प्रतिभा देखेर मोहित भएका छन् । माइकलको राम्रो र गुणस्तरीय अनुवाद भएकै कारण पेन्गुइन पब्लिकेशनले कर्नाली ब्लुज प्रकाशन गरेको उनको भनाइ छ ।

कर्नाली ब्लुजको सर्वाधिकार लेखकका रूपमा आफूसँग, अनुवादकका रूपमा माइकल हटसँग र प्रकाशकका रूपमा पेन्गुइनसँग रहेको बताउँछन् बुद्धिसागर ।

तर, नेपाली साहित्य अंग्रेजी पाठकलाई मन पर्छ/पर्दैन यसबारे भने उनी दोधारमा छन् । भलै केही पाठकले कर्नाली ब्लुज पढेर राम्रो प्रतिक्रिया दिएका छन् ।

पुस्तक तथा साहित्यले पाठकलाई मात्रै नभई भूगोललाई समेत नजिक्याउने तर्क छ उनको ।

बुद्धिसागर नेपाली साहित्य विश्वबजारमा पुगेकाले निकै खुशी भएका छन् । नेपाली साहित्यलाई अंग्रेजी पाठकसम्म पुर्‍याउन पाउँदा उनको साहित्य मोह झनै झाङ्गिएको छ । यद्यपि नेपाली साहित्यले अंग्रेजी साहित्यमा आफ्नो स्थान र पहिचान बनाउन सक्ला त्यो हेर्न भने बाँकी नै छ। साहित्यपोष्ट

Leave a Reply

Your email address will not be published.