२२ असार २०७९, बुधवार

हौसला नै मेरो सम्पत्ति हो

एसपी आशा, वरिष्ठ उपन्यासकार

० तपाईको जन्म कहिले भएको हो ?
मेरो जन्म २००१ साल साउनको ३० गते काठमाडौंको सीतापाइलामा भएको हो ।

० तपाईको शिक्षादीक्षा कसरी सुरु भयो ?
हाम्रो समयमा अहिलेको जस्तो साधन थिएन । त्यो समयमा पाटी भनिन्थ्यो, त्यसमा रातोमाटोले पोतेर पेन्सिलले लेखिन्थ्यो । त्यसरी नै शिक्षा आरम्भ गरिन्थ्यो । सुरुमा मैले संस्कृत पढेँ । बाहुनको छोरोले अंग्रेजी पढ्नु हुँदैन भनेर बाले अंग्रेजी पढ्न दिनुभएन । म संस्कृतमा पूर्व मध्यमा पास गरेपछि बालाई फकाएर १८ वर्षको उमेरमा फष्ट वी भन्ने अंग्रेजीको पुस्तक पढेको थिए । त्यो समयमा मैले निजामती मध्यम परीक्षा पनि पढेर पास गरेको थिएँ । पछि सरकारले खारेज गरेको हुँदा मैले पढेको बेकार नै भयो । त्यो समयमा निजामती मध्यम परीक्षाको ठूलो महत्व थियो । एसएलसी सरहको मान्यता भएकाले खरिदार सरहको जागिर पाईन्थ्यो त्यसैले त्यो परीक्षाको साह्रै महत्व थियो । त्यो कोर्षमा ऐन, श्रेस्ताहरु पढ्नुपर्दथ्यो । प्रमाणपत्र काम लागेन, तर, ज्ञानको हिसावले भने उत्कृष्ठ नै भयो ।
जागिर खाएर पौढ शिक्षा पढे । त्यसपछि एसएलसी पास गरे । जागिरको क्रममा भैरहवा पुगे । त्यहा दुई वर्ष काम गरेपछि लोकसेवा परीक्षा दिएर टोखा अस्पतालमा प्रशासनिक इन्चार्जमा बहाली भएँ । त्यो अस्पतालमा मैले ११ वर्ष काम गरे । म साहित्यिक मान्छे अर्काको अधिनमा बसेर जागिर खान गाह्रो भयो । त्यसपछि २०३३ सालमा राजिनामा दिएँ । त्यो समयमा लेखामा काम गर्नेहरुलाई लाइसेन्स दिने व्यवस्था गरेको थियो । त्यसपछि मैले अडिट पेशा सुरु गरे । यसरी झण्डै १२ वर्षसम्म अडिटिङ गरेँ । त्यहि सिलसिलामा म बाहिरी जिल्लामा जाँदा आइकम र बिकम पनि पास गरेँ । तथापि त्यो प्रमाणपत्रको पनि सदुपयोग भएन । अडिटिङ पेसा पनि छाडिदिए । मैले (ख) श्रेणीको लाइसेन्स बनाउनका लागि बिकम पास गरेको थिएँ । तर, अडिटिङ नै मन परेन । त्यो समयमा कमिसनको व्यवस्था चल्यो । म २०३३ सालको सुरुमा काम गर्दा असिस्टेन्ट भएका व्यक्तिहरु पछि हाकिम भए । मैले पनि उनीहरुलाई टेरिन । उनीहरुले पनि मलाई टेरेनन् । साथै उनीहरुले नत मलाई नमस्ते गरेँ नत मैले नै उनीहरुलाई नमस्ते गरेँ । यो परिस्थितिमा नमस्ते गरेर मैले कमिसनको कुरा गर्न सकिन । त्यसपछि अडिट कामै छाडे ।

० तपाई साहित्यमा लाग्न कसरी प्रेरणा पाउनुुभयो ।
मैले आफ्नो पनि बाल विवाह भएका कारण यसको विरुद्धमा २०२० सालमा एउटा लेख लेखेको थिएँ । जुन टाइप गराएर पनि लामो समय राखेँ । तर, म लजालु स्वाभावको मानिस भएको कारण धेरै पछि च्यातेर फालिदिएँ । त्यसपछि फर्टिलाइजर (रासायानिक मल) को विरुद्धमा पनि एउटा लेख बनाएको थिए । त्यो पनि खेरै गयो । टोखा अस्पतालमा मैले काम गरेपछि त्यहाँको पुस्तकालय मेरो जिम्मामा आयो । म किताव पढ्ने किरो भएका कारण समय पाउने बित्तिकै पढ्न थाले । धेरै उपन्यासका पुस्तक पढेपछि लेख्ने रुचि पुनः बढ्यो । त्यो समयमा मैले अभाग भन्ने उपन्यास लेखेँ । त्यसपछि त्यहिका स्टाफहरुले त्यसको नामाकरण गरेका थिए । जुन उपन्यास ट्रेजेडी टाइपको थियो । यसरी मलाई पनि हिम्मत आयो, उत्साह पनि बढ्यो । र, जासुसी उपन्यास लेख्न सुरु गरे । तीन वटा उपन्यास लेखेँ । उक्त समयमा डिल्लीबजारको प्रख्यात एटीजे प्रकाशन कसको होला भन्दै खोज्दै गएको थिए । त्यो प्रकाशन त डा. हेमाङ्ग दिक्षितको पो रहेछ । उहाँलाई मैले पहिले नै चिनेको थिएँ । को हुनुहुन्छ माथि ? भनेर हेरपछि त माथिबाट दिक्षित आउनुभयो । उहाँलाई दुई वटा पुस्तकका पाण्डुलिपी दिए । पाण्डुलिपी दिएर छाप्न योग्य भए छापिदिनुहोला भनेको त तीनसय रुपैया दिएर तपाईले लेखेको छाप्न भइहाल्छ नी भन्नुभयो । मेरो खुशीको सीमा नै रहेन । २०२५ सालको तीन सय रुपैया भएपछि के चाहियो ? म त दौडिहाले । फेरी अर्को उपन्यास लेखेर दिक्षित कहाँ नै लगेँ । त्यसपछि उहाँले ‘तपाईले यसरी धारा प्रवाह लेख्न थाल्नुभयो अब नलेख्नुहोला’ भन्नुभयो । मैले नभनि नलेख्नुहोला, यो छापेर बिक्रीको अवस्था हेरेपछि मात्रै पैसा दिन्छु भन्नुभयो ।
त्यसपछि पनि मलाई लेख्न मन लागिरहेको थियो । तर, के गर्ने के गर्ने भइरहेको थियो । त्यसपछि तीन चारवटा पुस्तकका पाण्डुलिपी नै तयार गरिसकेको थिएँ । के गर्ने भन्ने भयो । एक जना ठेकेदारलाई पुस्तक छपाएको खण्डमा फाइदा हुन्छ लगानी गर्नुस् भनिकन फकाएँ । मलाई पुस्तकको रोयाल्टी पनि दिनुपर्दैन भने । त्यसपछि उनले तीन वटा पुस्तक प्रकाशन गरिदिए । ति पुस्तकहरु साझा प्रकाशनलाई विक्रीका लागि दिइएको थियो । कति बिक्रि भए ? कति रकम जम्मा भयो ? मलाई थाह भएन । त्यसपछि मेरो कलम चलिनै रहेको थियो । उक्त समयमा एमके प्रकाशन भन्नेले धेरै पुस्तक प्रकाशन गर्दथ्यो । त्यसपछि म पनि उक्त प्रकाशकलाई पुस्तक प्रकाशन गर्न अनुरोध गर्न पुगेँ । पछि सात आठवटा पुस्तकका पाण्डुलिपी थन्किएर बसेका थिए । के गरौं भन्ने थियो ? बा पनि स्वर्गे भइसक्नुभएको थियो । जागिर पनि छाडिसकेको थिए, पैसाले पुगेन । अडिटको काम पनि भएको थिएन । त्यसपछि किशोरजी कहाँ गएँ र ६ ÷७ वटा पाण्डुलिपी दिएर तीन हजार रुपैया मागेँ । यसरी पाण्डुलिपी लिएर गएपछि उनले तीन हजार पाँच सय दिए । यसपछि मेरो घर व्यवहार टर्न पुग्यो । पुस्तक लेखेपछि दाम र नाम दुबै हुँदो रहेछ भन्ने लाग्यो ।
मलाई भारतीय लेखकहरुको पुस्तक पढ्दा साहित्यकारहरुलाई सम्मान गरेको देखेँपछि रहर लाग्यो । नेपालमा त्यो परिस्थिति थिएन । तापनि मैले हरेस खाइन । मैले लेखेका जासुसी उपन्यासहरु छोराछोरीको अगाडि पढ्न पनि लाज लाग्ने भए । छोरा छोरी पनि बाबुले लेखेका पुस्तकहरु लाज मान्ने भएकाले ट्रयाक परिवर्तन गरी महासामन्त भन्ने पुस्तक लेँखे । जुन पुस्तक पुरा गरी लेख्न चार वर्ष लाग्यो । उक्त पुस्तक साझा प्रकाशनले प्रकाशित गरेको थियो । डायमण्ड शम्शेर राणाको सेतो बाघ र मेरो पुस्तक महासामन्त एकैदिन साझा प्रकाशनबाट छाप्नका लागि स्वीकृत भएको थियो । डायमण्ड शम्शेरले दैनिक तीन पटक बजाउने गरी रेडियो नेपालमा विज्ञापन दिनुभयो । त्यसैकारण उहाँको पुस्तक तुरुन्तै विक्री भए । मसँग पैसा नभएका कारण मेरा पुस्तकहरुको विज्ञापन गर्न सकिन । नून र तरकारी नै कसरी किन्ने भन्ने समयमा विज्ञापन दिने त कुरै भएन । जागिर पनि त थिएन । एक दिन रेडियो नेपालमा गएँ । त्यहाँ तिर्थराज सुबेदी नामका शाखा अधिकृत हुनुहुँदो रहेछ । यसरी कास्की हंसपुरका सुबेदीसँग चिनाजानी भयो । पछि उहाँले हंसपुरे सुबेदी भनेर थुप्रै अनुसन्धानात्मक पुस्तकहरु लेख्नुभएको थियो । उहाँले महिनाको दुईवटाको दरले धार्मिक र सामाजिक लेखहरु बाचन गरिदिनुभयो । यसरी उहाँले मासिक दुईवटा लेखको पचास रुपैया दिनुुहुन्थ्यो । त्यो समयमा पचास रुपैयाले पनि ठूलो खर्च टर्दथ्यो । तथापि मलाई एकदमै अप्ठ्यारो लाग्यो । त्यसपछि त्यो काम पनि छाडिदिए । म अडिट गर्नका लागि जिल्ला जाँदा होटलमा बस्ने गर्दर्थे । त्यो समयमा होटलमा बसेर अधुरा उपन्यासहरु लेखेँ र पुरा गरेँ । यसरी २०४२ सालसम्म एक दर्जन पुस्तक छापिइसकेको थिए । चारवटा सामाजिक उपन्यास र एउटा कविता संग्रह सात वटा जासुसी उपन्यास पनि प्रकाशन भइसकेका थिए ।

० अहिलेसम्म तपाईका कतिवटा पुस्तक प्रकाशन गरिएका छन् ?
अहिलेसम्म मैले ३३ वटा पुस्तक प्रकाशन गरेको छु । जसमा १३ वटा ऐतिहासिक उपन्यास, एउटा दन्त्य कथामा आधारित उपन्यास, तीनवटा सामाजिक उपन्यास, सातवटा जासुसी उपन्यास गरी २४ वटा प्रकाशित भएका छन् । त्यसपछि बिभिन्न विद्याका गरी ३३ वटा पुस्तक प्रकाशित भएका छन् ।

० अहिले साहित्यकारलाई सहयोग र सम्मानका लागि नेपाल एकेडेमी लगायतका संस्थाहरु छन् । तथापि साहित्यकारहरुलाई सहयोग र सम्मान नगरेको गुनासाहरु पनि छन् । तपाईको विचारमा कस्तो लाग्छ ?
म सरकारलाई घचघचाउन र चाकरी गर्ने कुनै पनि काममा लागेको छैन । मलाई ठूला साहित्यकारहरु सबैले चिन्नुुहन्छ । एकेडमीमा कुलपति गंगा प्रसाद उप्रेती देखि विष्णु विभु घिमिरे, देवी नेपाल, प्रा. दिनेशराज पन्तसम्मलाई मेरो हैसियत थाह छ । उहाँहरुले आदरभाव गर्नुहुन्छ । तर, मैले मेरा लागि यसो गर्नु भनेर भनेको पनि छैन, आजसम्म उहाँहरुको विवेकले एसपी आशालाई यसै गर्नुपर्छ भन्ने खुलेको पनि छैन ।

० नेपाल एकेडेमीले लेखकका पुस्तकहरु प्रकाशन गर्ने क्रममा पनि पक्षपातपूर्ण व्यवहार गरिन्छ भनिन्छ नि ?
म त्यसतर्फ प्रयास नै गरेको छैन । एकेडेमीमा पुस्तक छाप्न कहिल्यै पनि लागिन । साझा प्रकाशनमा चाहिँ खारेज हुनुभन्दा अघि नै महासामान्त प्रकाशनका समयमा पहिलो संस्करण सिद्धिएपछि प्रकाशन नै गरिएन । म जहिले जाँदा पनि टारेरै पठाउँथे एक दिन महाप्रवन्धक कहाँ गएर कुरा गरेँ । त्यस समयमा मैले थाह पाएँ पाँच हजार कपि छापेर लेखकसँग कमिसन लिने गर्दा रहेछन् । कमिसन दिएपछि अत्यन्तै कमसल पुस्तकहरु पनि छापिए । साझाका कर्मचारीहरु पनि कसरी पैसा कमाउने भन्ने दिसामा लागेँ । यसरी साझा प्रकाशनमा पनि महाप्रवन्धक देखि दर्ताका कर्मचारीसम्मले मालअड्डामा जस्तै कमाईका धन्दा सञ्चालन गर्न लागेँ । बैंकबाट ऋण लिएर सञ्चालन गरिएको साहित्यिक संस्था नै वर्वाद भयो । जग्गा त छ । अहिले मलाई पनि राम्रै आदर गर्ने प्रह्लाद पोखरेल महाप्रवन्धक बनेका छन् । बधाई मात्रै दिएको छु ।

० तपाई पुस्तक लेख्दा लेख्दै जीवनका उत्तराद्र्धमा हिड्नुभएको छ । कहिलेकाँही म अहिलेसम्म यत्तिका धेरै पुस्तकहरु लेखेँ तर, पनि केहि भएन भन्ने निरासा लाग्दैन ?
कहिल्यै पनि लाग्दैन । म साहित्यकार भएर दुःख पाए भन्ने पनि लाग्दैन । केहि फाइदा नै भएको छ । जीवनमा मेरो समय खेरा गएको छैन । निरन्तर रुपमा नयाँ नयाँ कुराहरु सिक्ने र नयाँ कुराहरुमा हात हाल्ने हौसला मिलेको छ । प्रकाशन गर्ने मानिसहरु म सँग समय लिएर आउनुहुन्छ । तपाईको लेख नराखी मैले प्रकाशन नै गर्दिन भन्नुहुन्छ । त्यो हौसला नै मेरो सम्पत्ति हो । त्यसैले मलाई औधी खुशी लाग्छ । मलाई दाल भात खान बाबुबाजेको सम्पत्तिले नै पुग्छ । अहिले पनि जग्गा बेच्दै बैंकमा राखेर ब्याजले घर खर्च चलाउने गरेको छु ।

Leave a Reply

Your email address will not be published.