१७ असार २०७९, शुक्रवार

आत्म केन्द्रित चिन्तन नै आजको जड समस्या !

बैकुण्ठ भुसाल

 भनिन्छ मूलनै धमिलिएपछि खोला कसरी सङलिन्छ र ? नेपाली राजनीति ,समाज ,सँस्कृति र अर्थ प्रणालीमा देखिएको मुख्य समस्या यही नै रहेको छ । धेरै पहिला उखान सुन्न पाइन्थ्यो नेपाल हल्लै हल्लाको देश हो । कतै हामी त्यही उखानलाई चरितार्थ बनाउन लागिरहेका त छैनौँ, सोच्नै पर्ने वेला आएको छ । जति उफ्रे पनि भ्यागुतो कान्लै मुनि भने झैँ, विश्व सेरोफेरोमा नेपालको स्थिर र परिपक्व उपस्थिति किन हुन सकिरहेको छैन । आजको एक्काइसौँ सताब्दीमा पनि नेपाली अर्थ राजनीतिले किन परिपक्वता हासिल गर्न सकेन । समस्या पहिचान र समाधानका उपायहरुको खोजी र कार्यान्वयन अहिलेको टड्कारो आवश्यकता हो भन्न सकिन्छ ।सम्भावनै सम्भावना ले युक्त देशमा हामी किन सम्भावनाहिन हुन पुग्यौँ त अब पानी माथिको ओभानो हुन खोजेर उम्किन सकिँदैन, दुधको दुध पानीको पानी छुट्याउनु पर्दछ । प्रकृतिले कसैलाई हिरो र कसैलाई जीरो बनाएर जन्म दिएको हुँदैन यसैले आइ एम सुपर हिरो भन्ने मुर्खताले आफैंलाई कतै जिस्काइरहेको त छैन भन्ने हेक्का रहनु पर्दछ । हरेक व्यक्तिमा एउटा न एउटा प्रतिभा लुकेको हुन्छ ,फूलबारीमा जति फूल फुलेपनि तिनीहरुको आ आफ्नै शोभा शौन्दर्य र सुवासना हुन्छ ।सबै मिलेर नै फूलबारीलाई शोभायमान बनाइरहेका हुन्छन् ।मानव समाज पनि त सबैको सहभागितामा सबैको उठाइमा समानता र सह अस्तित्वमा नै शोभा सौन्दर्य बन्न सक्दछ । हामीले हरेक महामारीबाट पाठ सिक्नु पर्ने होइन र । ०७२को भूकम्पले राजनीतिक क्षेत्रमा निकटता, उदारता र सचेतनाको पाठ सिकाएको कुरा ब्यवहारबाट नै पुष्टी भएको थियो । कोभिड को महामारीबाट जे जति सचेतना हुनु पथ्र्दयो, दूरतामा हल्ली खल्ली र नकरात्मक टकरावमा रुमल्लिनु भन्दा एकतामा नै सबलता खोज्नु पर्नेमा खिचातानीमा अल्झिने र गालीगलौज, अहङ्कार र मखिमुन्टे चित्तमा नै नेपाली राजनीति मञ्चित हुँदै जाँदा जनमानसिकतामा आशावादिता होइन निराशा छाइरहेको छ ।सफल राजनीतिले समाजलाई वदल्न सक्नु पर्दछ, समाजका इच्छा, आवश्यकतालाई सम्बोधन गर्दै, सपनाहरुलाई फुलाउन र फलाउन सक्नु पर्दछ । म सुरक्षित छु ,म राज्यबाट पूणर् संरक्षित छु, भन्ने भाव जबसम्म हरेक नागरिकमा अन्तष्करणबाट नै जुर्मुराउँदैन तबसम्म राजनीति र राज्य संचालकको उच्च सम्मान, आस्था र मर्यादा कायम हुन सक्दैन ।परिस्थितिले सिद्धान्त निर्माण गर्ने हो कि सिद्धान्तले परिस्थिति निर्माण गर्ने हो गहन सोचनीय विषय रहि आएको छ । नेतृत्व समाजलाई गतिशील, स्वच्छ, मर्यादित र सङ्लो बनाउन चाहिने हो की गतिहीन, अस्वच्छ, अमर्यादित र धमिलो बनाउन आवश्यक हुन्छ भन्ने गम्भीर प्रश्न बनेको छ । अस्वच्छ टकराव र नग्न उदाङ्गीकरणको संस्कारले हामी कति उच्च संस्कारित भइरहेछौँ, बेँसीकै यात्राबाट हामी कति अग्लीइरहेछौँ सबैमा हेक्का रहनु पर्दछ ।म, म, फेरि पनि म, मैले, मैले फेरि पनि मैले, मलाई, मलाई, फेरि पनि मलाई भन्ने भावबाट हामी कति दम्भी भइरहेछौँ, हाम्रा अहङकारबाट कति नीरिह बसिभूत भइरहेछन् ।

हामी किन हामीको भावमा उच्च सँस्कारयुक्त नवीन युगका सभ्य, सुसंस्कृत मानव बन्न सकिरहेका छैनौँ । शिक्षाले हामीलाई बदल्यो कि शिक्षालाई हामीले बदल्यौँ, समस्या यहीँ नै छ ।हामी कुन धरातलमा उभिएर अरुलाई होच्याइरहेछौँ, अरुलाई होच्याइ रहँदा आफू कति अग्लो बन्यौँ, कति सङलो बन्यौँ, देशको सार्वभौमिकता कति उठायौँ भन्ने कुराको अध्ययनबिना नै हाम्रा कार्य व्यवहार संचालित हुँदा संस्कारहिनता र मूल्यहिनतामा नै  कुहिरोको कागसरि हामी रुमल्लिइरहेछौँ ।कति रुमल्लिइरहने, शब्दाडम्बरमा कति कुर्लिरहने, हिमानी रम्यभूमिमा कुरुपताको खेती कसरी गरियो,कसले गर्यो, किन गरियो, समय अवरुद्घ कसकसले गरिरहेछन् ? एक एक जवाफ खोज्नै पर्ने वेला आएको छ । लाभ लागत विश्लेषणबिनाको कार्यले समस्या ल्याइरहेछ, जसका कारणअर्थतन्त्रमा अपेक्षकृत सुधार हुन सकिरहेको छैन, हेलो इफेक्टका आधारमा भन्दा पनि आवश्यकता र महत्वका आधारमा योजना छनोट र कार्यान्वयन हुनु पर्दछ । न्यूनतम लगानी र अधिकतम प्रतिफलका आधारमा वातावरण मैत्री र मानव मूल्य सिद्धान्तमा आधारित न्ययोचित विकास नै आजको सर्वोपरि आयवश्यकता हो ।प्राथमिकता निर्धारणका लागि उच्चस्तरीय स्वतन्त्र संयन्त्र बन्नु पर्दछ । त्यो वास्तवमा नै स्वतन्त्र र परदर्शी बन्न सक्नु पर्दछ ।आफ्नो सम्मान चाहनेले अरुको पनि सम्मान गर्न सक्नु पर्दछ । आखिर अरुलाई होच्याएर आफू कदापि अग्लो हुन सकिँदैन, अरुलाई अग्लो हुन दिएर मात्र आफू पनि अग्लो हुन सकिन्छ । सकारात्मक चिन्तनबाट नै संसार बदल्न सकिन्छ ।कतै डाइजन खानु पर्ने, पचाउन ,कतै डाइजन खानु पर्ने बाँच्न भने झैँ निम्न पूँजीवादी दलदलका कारण नाता वाद कृपा वाद, शान, मान र अवसरको आडमा पदमा टिकीरहने यत्न, अर्कोतर्फ उसैलाई महान मान्ने भ्रमित मोहजालमा परेर महामानव, युवा नेता भनेर पुलकित गर्दै क्षणिक अवसरको स्याल घुमाइ नै युगानुकूल नेतृत्व स्थापित हुन नसक्नुको प्रमुख समस्या हो । असल र इमान्दार नेतृत्वबिना  कुनै देशपनि युगान्तकारी परिवर्तनको दिशामा अगाडि बढ्न सक्दैनन् । आज नेतृत्वलाई अति दानवीकरण र देवत्वकरण गर्ने परिपाटी विकसित भएको  छ । नाङ्गे राजाको कथाजस्तै सवलता दुर्वलता को ख्याल नगरी कुर्लने आडम्बरी शैली नहटेसम्म सक्षम र सवल नेतृत्व न त स्थापित हुन नै सक्दछ, न त त्यस्तो व्यक्तिले अवसर नै पाउँदछ । मन पर्नेको कुरुपतालाई पनि सुरुप देख्ने मन नपर्नेको सुरुपतालाई पनि कुरुप देख्ने प्रवृत्तिले नै नेतृत्वले आफूलाई समयसापेक्ष सुधार गर्ने अवसर पाउँदो रहेनछ । सरदर सबै मानिस मानिस नै हो, सबैले आत्म गौरव गर्ने, प्रतिभा प्रष्फुटित गर्ने र आफ्ना सपना साकार पार्ने अवसर पाउनु पर्दछ ।समय अवरुद्धी नै आजको मुख्य समस्या हो । समयको प्रवाहसँगै सामाजिक, राजनैतिक, आर्थिक, साँस्कृतिक गतिशीलता किन हुन सकिरहेको छैन ? यसैले अवरुद्धीबाट सबैको जीवनमा आउने असर र प्रभावको गहन अध्ययन गरिनु पर्दछ र त्यसै अनुसारको सुधार गरिनु पर्दछ । आज राजनैतिक क्षेत्रमा यति धेरै असन्तुष्टि आउनुको कारण के हो, किन राजनैतिक स्थिरता र सुशासन कायम हुन सकिरहेको छैन सबैले हेक्का राख्नु पर्दछ ।भ्रष्टाचार मात्र नियन्त्रण गर्न र निर्वाचन प्रक्रिया स्वच्छ र सरल एवम् धाँधलीरहित बनाउन नसक्ने नेतृत्वले गफै ठूला गरेर मात्र हुन्छ र ? यसैले आजको पहिलो आवश्यकता भनेको यो वा त्यो नाममा गरिने ठगी धन्दा र भ्रष्टचार नियन्त्रण नै हो । एउटाले दसौँ वर्ष कमाउने रकम अर्कोले एकै वर्षमा नै कुम्ल्याउँछ अनि मेहनत गर्नेलाई कहाँबाट आउँछ काम गर्ने जाँगर र उत्साह । विदेश जानेले जीवनभर दुःख गरिरहन्छ यता अर्कोले नातावाद कृपावाद र  चाकडीका आधारमा अवसर पाइनै रहन्छ, उसले सोचे जस्तो, देखे जस्तो देश बन्दैन अनि किन नआओस निराशा र हिनता ? यसैले हाम्रा कार्य शैलीले उत्पादनमा लाग्नेलाई समेत उत्साह होइन हतोत्साहित बनाइरहेछ अनि कसरी हुन्छ नेतृत्वप्रति विश्वास र कसरी हुन्छ देशको समृद्धि र रुपान्तरण । हाम्रो पुरस्कार र दण्ड व्यवस्था नै आग्रहरहित ,स्वतन्त्र र पारदर्शी हुन कहिल्यै सकेन । गर्ने गोरु खाने घोडा भने झैँ, जबसम्म योग्यता, क्षमता, रुचि र तत्परताका आधारमा समन्यायिक वितरण प्रणाली स्थापित हुन सक्दैन तबसम्म समता, समानता र न्यायपूणर् समाज स्थापनाको नारा भट्याइरहनुको कुनै उपादेयता रहँदैन ।यसैले आ अफ्नो क्षेत्रमा अनुशासित बन्न सक्नु नै आजको आवश्यकता हो । ११७औँ स्थानमा भ्रष्टाचार गर्ने देशको सुचिमा परिरहँदा हामी सबै मिलेर भ्रष्टाचारीलाई कडाभन्दा कडा कार्वाही गर्दै भ्रष्टाचारलाई किन निर्मूल गर्न सकेनौँ, अनि यति काम समेत गर्न नसक्ने हामीले किलोको होडबाजी गर्दै माला लगाइदिने र माला लगाउने खोक्रो आडम्वर कति व्यवहारिक होला सबैले म, म गर्दै सच्चिनु पर्ने वेला आएको छ । कितावका माछा नखाने खोलाका माछा खाने हाम्रो प्रवृत्ति नै वर्तमान समस्याको मूलभूत कारक बनिरहेको छ ।सिद्धान्तलाई मागी खाने भाँडो बनाउने, भौतिक लालसाको होडले मोहान्ध हुने म कहाँ छु ,मेरो धरातल कुन हो भन्ने बिर्सने ,देशको अवस्था कहाँनेर छ ,विश्व श्रम बजारमा कति गलित, थकित र अपहेलित भावमा रगत, पसिना, परिश्रम र आँसु सिँचने असल सपूतहरुको कारुणिक कथा र गाथा कति हृदयस्पर्शि र मर्मस्पर्शि छ त्यसलाई हेक्का राखेर राजनीतिक ,साँगठनिक, पद र अवसरहरुको पुनरसंरचना गरिनु र त्यसै अनुसारको साँगठनिक ,राजनैतिक ,सँस्थागत र क्षेत्रगत अनुशासित र निष्ठावान एवम् कर्तव्यनिष्ठ नेतृत्व र संगठन निर्माण नगरिएसम्म समृद्धि, रुपान्तरण र सुशासन कायम हुन सक्दैन । यसैलाई मध्यनजर गर्दै आ आफ्नो कर्तव्य क्षेत्रमा तन ,मन र वचनले लाग्नु नै हामी सबैको आजको प्रमुख अभिभारा हो ।

बुलबुल साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published.