७ जेठ २०८०, आइतवार

एमसीसी विरुद्ध समाजवादीको मोटरसाइकल र्‍याली सम्पन्न !

नेकपा एकीकृत समाजवादी म्याग्दीले एमसीसी सम्झौताको विरोधमा मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ । आज एकैपटक देशव्यापी विरोध सभा गर्ने क्रममा एकीकृत समाजवादी म्याग्दीले विरोधको रुपमा मोटरसाइकल र्‍याली गर्दै बेनी बजार परिक्रमा गरेको हो ।


करिब ५० मोटरसाईकल र्‍यालीमार्फत बेनीबजार परिक्रममा गरेका समाजवादी निकट जनवर्गीय संगठनहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।
बजार परिक्रमापछि विरेन्द्रचोककोसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष तथा एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले आफ्नो पार्टीले एमसीसी कुनै पनि हालतमा नस्विकार्ने बताउनु भयो ।

“राष्ट्रहित विपरित गरिने कामहरु एकीकृत समाजवादीले हिजो, आज र भोलीका कुनै पनि समयमा स्विकार गर्ने छैन” विकको भनाई रहेको थियो । ‘संविधान जोगाउन पार्टी विभाजन भयो,‘राष्ट्रियताका लागि आवश्यक परे अर्को आन्दोलनमा जान्छौ’ विश्वकर्माले भन्नुभयो । उहाँले संविधान विपरित प्रतिनिधिसभा विघटन गर्दा नेकपा एमालेबाट अलग भएको बताउँदै एमसीसी सम्झौता राष्ट्रघाती भएकाले सडक आन्दोलनमा आएको बताउनुभयो ।

नेपालको संविधान अनुकुल हुनुपर्ने बताउँदै अनुदानको नाममा हस्तक्षेप गर्न नपाइने बताउनुभयो । उहाँले यथास्थितीमा एमसीसी सम्झौता तत्काल फिर्ता हुनुपर्ने नभए आफ्नो पार्टीले शसक्त प्रतिकारको चेतावनी समेत दिनुभयो । विरोध सभामा नेकपा समाजवादीका जिल्ला नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । विरोधसभाको सञ्चालन कार्यालय सचिव रुद्र किसानले गर्नुभएको थियो ।


बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

आज दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । सरकारले अब बस्ने संसद बैठकबाट एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको छ तर सत्ता गठबन्धनभित्रै पनि एमसीसीका बारेमा मतान्तर रहेपनि सत्ता साझेदार एकीकृत समाजवादीले एमसीसीका केही बूँदा आपत्तिजनक रहेको निष्कर्ष निकाल्दै विना संशोधन पास गर्न नहुने अडान राखेको छ । तर एमसीसी मुख्यालयले हुबहु सम्झौता पास गर्न फागुन १६ को समयसीमा समेत तोकेर ताकेता गरेपछि समाजवादी आन्दोलित बनेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *