२३ जेठ २०८०, मंगलबार

“गुलाबहरूको तमासा”

गुलाबहरूको तमासा

शान्तिप्रिय वन्दना

हप्तादिनदेखि
गुलाबहरूको तमासा छ
शहरमा

आज भ्यालेन्टाइन्स डे हो

हात–हातमा गुलाब बोकेका छन्
प्रेमी र प्रेमिकाहरूले

मेरा हजुरबा र हजुरआमा
दङ्ग छन्, चकित छन्

उनीहरूको युगौँ लामो प्रेममा
कहिल्यै गुलाबको उपस्थिति भएन
यत्ति हो,
हजुरआमा सजाउँथिन् पूजाको थालीमा गुलाब

एउटै गुलाब नसाटी
उनीहरूले बसाएका छन्
प्रेमको दुनियाँ
अनवरत गुडाएका छन्
जीवनरथ

म उनीहरूको प्रेममाथि
घोत्लिएर बसेकी छु
उनीहरूको प्रेमको भाषा सरल छ
सलल बग्ने नदीजस्तै सरल

हजुरबा–हजुरआमा छक्क छन्–
प्रेम पनि कहीँ बजारमा पाइने कुरो हो ?

हप्तादिनदेखि
गुलाबहरूको तमासा छ
शहरमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *