पर्वतमा म्युजिक भिडियो मात्र होइन चलचित्रहरुको सुटिङ गर्ने क्रम बढ्दो छ । पछिल्लो समय चलचित्र ‘ह्यारीकी प्यारी’को छायांकन शुरु गरिएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका रहने चलचित्रको छायांकन सोमबारदेखि पर्वतमा शुरु गरिएको हो । छायांकन अगाडि चलचित्रको शुभ-मुहूर्त समेत गरिएको थियो ।
अहिले यो चलचित्रको पर्वतको भुक देउरालीमा छायांकन भइरहेको छ । अभिनेता जितु नेपालले शुभमुहूर्त र सुटिङको तयारीका लागि मेकअप गर्दै गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका छन् ।
अभिनेता जितुले यो रोमान्टिक पारिवारिक चलचित्र भएको बताए । चलचित्रका निर्देशक डा. कपिल रिजाल हुन् । उनी यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।छायांकनका लागि जितुसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रमेश अधिकारी लगायतका कलाकार यतिबेला पर्वतमा छन् । अभिनेत्री सामाज्ञी भने केही दिनमा मात्र त्यहाँ पुग्ने बताइएको छ । स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै चलचित्रको छायांकन भइरहेको निर्माण टिमले जनाएको छ । चलचित्रमा जितु र साम्राज्ञी प्रेमी-प्रेमीकाको भूमिकामा देखिने बुझिएको छ । चलचित्रलाई सुदीप बरालले खिचिरहेका छन् ।