२३ जेठ २०८०, मंगलबार

प्रेमको व्यापकता

प्रेमको व्यापकता (लघुकथा)

भावना खनाल

के माया गर्नलाई भ्यालेन्टाईन डे नै आउनुपर्ने हो र ? साच्चै अब म माया गर्छु भनेर गरिन्छ  र माया ? के मेरी आमाले भ्यालेन्टाइन डेका दिनदेखि  मलाई माया गर्न थालेकी हुन र ? कि मेरा साथीभाइ , इष्टमित्र  र आफन्तजनले अबदेखि म माया गर्छु भनेर यही दिन कुरेका थिए र मलाई माया गर्न ? 

के हो आखिर यो भ्यालेन्टाइन डे ? किन ? कसका लागि ?

आवश्यक छ यो भ्यालेन्टाइन ?           

        माया त हृदयको झङ्कार हो, मनको अनुभूति हो, आँखाको सुन्दरता हो, मुटुको गहिराइ हो, माया जीवनको परिभाषा हो ।     

माया मनको बहाब हो,यो स्वतः आफैं हुन्छ । कहिले, किन र कसरी हुन्छ थाहै हुदैन कसैलाई । विना जानकारी, विना सूचना, विना स्वार्थ, विना आशा, हृदयदेखि उर्लेको भाव हो माया । जुन सम्बन्ध निश्चल, पवित्र, चोखो हुन्छ र जुगौजुग रहिरहन्छ? त्यहि हो माया । जसलाई चाहेर पनि भुल्न सकिँदैन, रोकेर पनि रोक्न सकिदैन त्यही हो माया ! 

जुन आँखाले हरेक कुरा सुन्दर देख्छ, जहाँ हरेक कुरा स्वीकार्य हुन्छ त्यही हो माया ।

यस्तो अदृश्य शक्ति बनेको माया बेच्ने बजार बनेको छ भ्यालेन्टाइन डे ।   हाम्रो समाजमा नयाँ संस्कार बनेको  यो भ्यालेन्टाईन डे न त हाम्रो सभ्यता हो,न त संस्कृति । यस पश्चिमेली सभ्यतालाई अँगालेर युवापुस्तामा देखिएको विकृति र विसङ्गतिप्रति अचम्म लाग्छ । यो दिनदेखि माया गर्छु भनेर बसेकाहरुले के साच्चिकै माया गरेका हुन् त ? के यिनको माया जीवन्त रहन्छ त ?  के यिनको मायामा सत्यता छ त ? के यिनले अन्तरमनदेखि माया गरेका होलान् त ? 

अँहँ होईन भन्छ मेरो मन । यो त देखावटी माया हो,२/४ दिनका लागि, रमाइलोका लागि गरिएको माया हो यो । यसले कतै हाम्रो जीवन अधोगतितिर धकेलिरहेको त छैन ? हाम्रा संस्कार सभ्यतालाई भत्काएर सारा जीवन पीडादायी बनाएको त छैन ? सोचनीय विषय रहेको छ ।   

नयाँ पुस्तामा देखिएको प्रेम कच्चा छ वा सच्चा छ, बुझ्नु जरुरी छ । यही प्रेम जीवन हो भने यही प्रेम मृत्युको कारक पनि बन्न सक्छ । प्रेम ओखति हो भने प्रेम दुर्गति पनि बन्न सक्छ । भ्यालेन्टाइन डे को दिन गुलाब दिदैमा प्रेम गरेको भन्न मिल्छ त ? सच्चा प्रेम त मनले गरिन्छ, आँखाले गरिन्छ, हृदयले गरिन्छ । दुःख सुखमा सदाबहार रहन्छ प्रेम । प्रेमिल मन त सधै सफा रहन्छ, स्वच्छ रहन्छ, निर्मल र कञ्चन हुन्छ । दयालु मन र मायालु व्यवहार झल्किन्छ सच्चा प्रेममा । त्यसैले प्रेमिल मन गंगाको पानीजस्तै पवित्र हुन्छ । प्रेम गर्नेको मन सफा र शुद्ध हुन्छ । 

शुद्ध मनमा परमेश्वरको बास रहेको हुन्छ । धनदौलत , मोजमस्ती र ऐस आराममा प्रेम नभेटिन पनि सक्छ ।  देखावटी सुन्दरतामा प्रेम नहुन पनि सक्छ, रातो गुलाबमा प्रेम नहुन पनि सक्छ । मैलो मनले दिएको सुकिलो गुलाबको के अर्थ ? 

जेहोस्, प्रेम विनाको जीवन निस्सार, पट्यारलाग्दो र  निरर्थक हुन्छ । जीवन ज्यूनकालागि प्रेम अत्यावश्यक चिज हो, प्रेम जीवन हो, प्रेम संसार हो, प्रेम ज्ञान हो,प्रेम विज्ञान हो ।त्यसैले प्रेम त गरौ तर अन्तर हृदयदेखि गरौँ, मुटुबाट उर्लिएको प्रेमको भेल बगाउन भ्यालेन्टाइन डे नपर्खिउ, र भ्यालेन्टाइन डे पर्खिएर बसेको प्रेमप्रति विश्वास नगरौँ । सबैले सबैलाई प्रेम गरौँ, प्रेमप्रति आस्था, विश्वास र इमानदार बनौँ । सबैको जीवन प्रेममय बनोस्, प्रेमदिवसको हार्दिक शुभकामना !

बुलबुल साप्ताहिकबाट

तानसेन, पाल्पा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *