२० जेठ २०८०, शनिवार

बाबू ! हाम्रो कुरा सुनाइदिनू है !

सन्दीप खत्री

चर्को स्वरमा सुस्साईरहेको खोला, त्यही खोलाले बगाएका ढुङ्गाको ड्याङ्ड्याङ्, डुङ्डुङ्ले नजिकैको आवाज समेत सुन्न सकिने अवस्था थिएन । बेगखोलाको बस्तीमाथि नदी उफ्रदै थियो । उसको त्यो उफ्राई हेर्दा लाग्थ्यो उसले ठूलै युद्ध जितेको छ र जीतको खबर सबैलाई सुनाउन आतुर छ । उसलाई वेगखोलाको बस्ती वगाएर पुगेको छैन । नदीको बहावसँगै मेरो मन पनि बगिरहेको थियो । यतिकैमा मलाई पछिबाट कसैले कोट्यायो । एकजना पूर्वतिरको ट्रक ड्राईभर दाइ रहेछन् । भन्दै थिए “कति बोलाए सुन्नु भएन, कता टोलाउनु भएको थियो ? त्यसरी डिलमा नबस्नु होला” मैले कतै होइन भनेर जवाफ दिएँ । साँच्चै बेगखोलाको त्यो अवस्था देखेर मेरो मन विक्षिप्त भएको थियो । एकपटक अनुमान लगाउने प्रयास गरेँ । त्यहाँ भएका घरहरु, पुल, ठाडो खोला । पुल कता थियो कुनै पत्तो थिएन भने घरहरुको अनुमान समेत लगाउन गाह्रो थियो । 

पहिरो गएको विहान काम विशेषले म त्यहाँ जान सकेको थिइनँ । बेलुकातिर केही सङ्घ/संस्थाले प्रदान गर्न लागेको राहत सहित गएको थिएँ । सिडिओ साहेव लगायतका टोली घटना स्थलबाट फर्कदै गर्दा म त्यसतर्फ गएको थिएँ । जब घटना स्थलमा पुगेँ, एकछिन् त्यो वातावरणले मन स्तव्ध बनायो । पुरानो बसबाटो भन्दा थोरै माथि गएँ । रिवन ढुङ्गाले पुरेको थियो, पहेलो मेडलमा मेरो आँखा अड्कियो । नजिक गएर हेरेँ, भलिबलको उपाधी जितेको मेल हुनपर्छ त्यो । यस्तै अनुमान लगाएँ । त्यहाँ कुनै खेलाडीको घर थियो भनेर अनुमान लगाउन गाह्रो भएन मलाई । थोरै माथि गएँ, एक जना विद्यार्थीको स्कुलको पेटी भेटेँ । त्यसले झनै मन खिन्न भयो । कहीँकतै पाइपका टुक्रा थिए, कतै टिनका टुक्रा त कतै गुन्द्रीहरु थिए भने कतै ट्वाइलेटका प्यानहरु । धेरै बेर त्यो दृश्य हेर्न मन मानेन । त्यसपछि पीडितहरु बसेको ठाउँतर्फ लागेँ । पहिरोभन्दा केहीमाथि उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको रहेछ । चार, पाँच जना महिलाहरु ढुङ्गाको डिलमाथि गालामा हात लगाएर झोक्राएर बसिरहेका थिए । पहिरो पीडित रस्मी राम्जाली झण्डै पाँच/सात महिनाको बच्चालाई काखमा च्यापेर दूध पिलाउँदै थिइन् । रातीको बाढीले बगाएको स्थानतिर सबैको नजर थियो । बच्चालाई पढाउनका लागि उनी त्यहाँ अरुको घरमा बसेकी रहिछन् । उनी भन्दै थिइन् “सर्वस्व लुट्यो दैवले, बच्चाको एकसरो कपडा पनि लिन पाइन ।” उनीसँगको केही क्षणको भलाकुसारीपछि मेरो नजर उनीहरुलाई बस्नका लागि बनाएको पालको टहरातर्फ गयो । भुइँमा एकसरो पाल, पालकै छानो थियो । कसैले पाल ओच्छाएका थिए त कसैले पाल ओच्छ्याउने तर्खर गर्दै थिए । साँझ पर्दै थियो । के खाने टुङ्गो थिएन । केही चाउचाउका पोकाहरु देखिन्थे । रेडक्रकोे सहयोग एउटा कम्बल र बाल्टी देखिन्थ्यो । यत्तिकैमा मेरो नजर एकजना खेलिरहेको बालकमाथि पर्‍यो । तिप्ल्याङमा बोर्डिङ्मा एलकेजीमा पढ्दा रहेछन् क्षितिज सिन्जाली । उनीसँग एकैछिन कुरा गरेँ । उनीसँगको कुरापछि मेरो मन झन् कहालियो । मेरो नजिकै आएर एकछिन लुडबुडिदै मेरो क्यामेरा चलाए । मैले उनको एउटा फोटो खिचेर देखाइदिए । उनी निकै खुसी देखिए । सोधेँ “क्षितिज तिम्रो घर खोई ? ”उनी एकैछिन् बोलेनन् । अनि मलिनो मुहार बनाएर मतर्फ फकिर्एर भने “सबै खोलाले लग्यो” । अब त पढ्ने किताव पनि छैन, स्कुल जाने बाटो पनि छैन । उनले यसो भन्दैगर्दा उनको बोलिमा बालपीडा देखिन्थ्यो । उनको त्यो निर्दोष अनुहारले पढ्ने किताव र विद्यालय जाने बाटो खोजेको थियो तर नदीले उनको सबै सपना बगाएको थियो । 

त्यही पालको एक छेउमा ४३ वर्षिय नरबहादुर गर्वुजा एक्लै पालमाथि पल्टिएका थिए । उनको अनुहार र शरीर हेर्दा लाग्थ्यो उनी रातिको पहिरोले धेरै नै त्रसित र थकित छन् । घरमा उनी एक्लै बस्दा रहेछन् । एक छोरा र छोरी पोखरा भाइको घरमा बसेर अध्ययन गर्दा रहेछन् । श्रीमती ३/४ वर्ष पहिले दोस्रो विवाह गरि गएकी रहिछन् । खाली खुट्टा देखाउँदै गर्वुजाले भने “सबै लग्यो बाढीले, खुट्टामा चप्पल पनि लगाउन पाइन । एक मिनेट ढिला गरेको भए म पनि सकिने रहेछु ।” उनले आफ्नो पीडा सुनाउँदै गए । पीडा सुनिदिने मान्छे पाएको खुसी भएर आफ्नो पीडाहरुसँगै गर्वुजा बग्दै गए । जसरी उनको सारा घरबार गएराति बगेको थियो । उनी सुनाउँदै गएँ । “किन हो किन मलाई हिजो निद्रा नै परेन । मोवाइलमा गीत सनेर सुतिरहेको थिएँ । एक्कासी भूकम्प आए जस्तो भयो । घर एक्कासी थरर काम्यो । सबै बाहिर चिच्याउन थाले । म पनि जुरुक्क उठेर भागेँ । खुट्टालाई सुतुत्त ताने जस्तो गर्न थाल्यो, म झन् छिटो भागेँ । त्यसपछि हामी सबै भाग्यौँ रातभर जङ्गलमा बस्यौँ । चुक खन्याए जस्तो अँध्यारो भएकाले केही देखिएन । एक्कासी विहान हेर्दा मन थाम्नै सकिएन । अब के गर्ने ? केही सोच्नै सकेको छैन । के गर्ने कहाँ बस्ने ?” केही सम्झिए झैं गरे उनले र आफ्नै सुरमा बोल्न थाले । “माथि गाउँमा एउटा गोठ छ । अब त्यहीँ बस्ने होला । अरुको काम गरेरै भएपनि पेट त पाल्नु पर्‍यो ।” उनको भावना सुन्नु र सान्त्वना दिन बाहेक म गर्नै के सक्थेर । त्यसपछि उनको भागमा परेको पालको भागबाट म बाहिरिएँ । 

त्यहाँको वातावरणमा सन्नाटा छाएको थियो । बालबच्चा आफ्नै धुनमा खेलिरहेका थिए । यसैक्रममा एक्कासी मेरो नजर एक परिवारमा पुग्यो । जुन परिवार सबैभन्दा ठूलो शोकमा डुवेको थियो, पूणर्प्रसाद सिंजालीको परिवार । तिनै पूणर्प्रसाद जो सबैलाई बाढीबाट बचाएर आफै वेपत्ता भए । उनकी श्रीमती तमाया आँसुमा डुवेकी थिइन् । बालबच्चाहरु आफ्नै धुनमा खेल्दै थिए । अघिल्लो रात श्रीमानको समिपमा विताएकी थिइन् त्यो पनि आफ्नै काखमा आधारात । तर त्यो काख आज रित्तो थियो । आँखामा आँसु टिलपिल टिलपिल थियो । एकमन सोच,ेँ उनको पीडामा श्रीमानकै कुरा गरेर के पीडा थपु ? अर्को मनले साहस जुटाएँ । पेसा नै यस्तो परेपछि बोल्नै पर्‍यो । मैले उनको अवस्थाबारे सोधेँ । उनी भक्कानिइन् । उनका साथमा भएका आफन्त सबैको आँखा रसाए । मेरो पनि मन भरिएर आयो । तमायाको घाटीमा समस्या भएको कारण अप्रेसन गरिएको रहेछ । त्यसै त कमजोर उनी झन् श्रीमान नै साथमा नभएपछि साहस कहाँबाट आउनु । लामो समयपछि उनले हिम्मत जुटाएर मसँग कुराकानी गर्न थालिन् । उनले आफ्नो आखाँबाट बगेका आँसुसँगै आफुसँग भएका पीडा बगाउन थालिन् । “राती बाढी आएपछि उनले सबैलाई उठाउँदै गए । हामीलाई पनि घरबाट बाहिर निकाले । तिमीहरु जाउ भनेर कुन्नी के लिन गएका थिए, हामीले धेरै समयसम्म उनी गएको बाटो हेर्‍यौ तर फर्केनन्……।” उनी फेरि भक्कानिइन् । श्रीमानको कुनै पेसा नभएकोले अरुकोमा काम गरेर घरको व्यहार चलाउने गरेका रहेछन् । घरमा पैसा आर्जनको सहजता बनाउन गाउँकै सहकारीबाट ऋण लिएर चारदिन अगाडि मात्रै कुखुराको चल्ला पालेका रहेछन् । ७५ हजार ऋण लिएर भैसी र कुखुरा किनेका रहेछन् । तमाया भन्न थालिन् “कुखुरा पनि सबै बगायो, भैसीको आधा ऋण बाँकि छ । अब सहकारीले समाउने होला । भैसीको साहुले पैसा तिर्न सकेन भनेर भैसी फिर्ता लैजाने होला ।” उनका आँखाबाट आँसु बग्न छाडेको थिएन । तीन छोरी र एक छोरा रहेछन् परिवारमा । आर्थिक अभावका कारण अन्य सबैले पढ्न छाडेका रहेछन् । कान्छी छोरीले मात्रै पढ्दी रहिछन् । बारीमा भएका मकै दुईदिन अगाडि घरमा भित्राएका रहेछन् । बहिनी टेकमायाले पोखराबाट तीन बोरा चामल पठाएकी रहिछन् केही दिन अगाडिमात्र । आधारातमा आधा कपडासँग आफ्नो ज्यान बचाएकी तमाया आधा कपडामै थिइन् मैले भेट्दासम्म । पहिरो गएको खबर सुनेपछि पोखराबाट बहिनी टेकमाया पनि आएकी रहिछन् । उनीसँग अझै कुरा गरेर उनको घाउ झनै बल्झाउन मन लागेन । म कुरा टुङ्ग्याएर उठ्न खोज्दै थिएँ । तमायाले मसिनो स्वरमा भनिन् “हामी त गरिव मान्छे, केही गरि खाउँभन्दा पनि दैवले दिएन । मेरो साहारा नै लुटिदियो, अब त बाँच्न पनि मन छैन । फेरि बालबच्चा पनि हेर्नै पर्‍यो । हाम्रो पीडा सबैलाई सुनाईदिनु है बाबू ।” उनको यो अनुरोधले मलाई धेरै कुरा सोच्न बाँध्य बनायो । म त्यहाँबाट भारी मन लिएर तल झरेँ । 

दिदीबहिनी सहकारीका दिदीहरुले पहिरो पीडितका लागि लगेको राहात बोक्दै हुनुहुन्थ्यो । अरु पनि राहात लगेर गएका थिए । तर अरुले यातायातको पहुँच पुग्नेभन्दा अगाडि लगेनन् । तर उहाँहरुले आफैले बोकेर घटना घटेको ठाउँमा पुर्‍याएका थिए । मातृ शक्ति के हो ? भन्ने प्रष्ट देखिन्थ्यो त्यतिबेला । खुट्टाको चप्पल छिनेका थिए कसैका के भएका थिए । उहाँहरुले लगेको राहात स्थानीय दिदीबहिनीहरुलाई जिम्मा लगाएर म पनि फर्किएँ । साँझ झमक्क पर्न थाल्यो । एउटै कुराले मन पिरोल्न थाल्यो । एक सरो पालमा कसरी रात कटाउलान् ? त्यसमाथि खोला कम भएको थिएन । पानी अझै पर्ला जस्तो भएको थियो । बादल कालो भएर चुर भएको थियो । मनमनै उनीहरुलाई कुनै आपत नपरोस् भनेर कामना गर्दै बेनीतर्फ लागेँ ।

अध्यक्ष: म्याग्दी जेसीज

Leave a Reply

Your email address will not be published. Required fields are marked *