१७ चैत २०७९, शुक्रवार

मेरो प्रेमको हर बिहानी तिमीबाटै शुरुहोस् !

यही प्रेमिल कविता सहित सम्पूर्ण प्रियजनमा प्रणय दिवसको हार्दिक शुभकामना ! 🌹❤️❤️🌹


उषा शेरचन

उहिल्यै देखि आज पर्यन्त
मान्छेले
प्रेमको गीत गाइनै रहेको छ
प्रेमसँग मित लाईनै रहेको छ

लाएर कहिल्यै अघाउन्न रहेछ प्रेम
लेखेर कहिल्यै सकिन्न रहेछ प्रेम
जोखेर कहिल्यै जोखिन्न रहेछ प्रेम
मासेरे कहिल्यै मासिन्न रहेछ प्रेम

त्यसैले त
यो चन्द्रागिरिको शिखरमा बसेर
घाम र जूनलाई साक्षी राखेर
म तिमीलाई
शर्त सहितको प्रेम होइन
शर्त रहितको प्रेम गर्न चाहन्छु

जसरी बादलले पानीसँग गरेको हुन्छ
जसरी नदीले समुद्रसँग गरेको हुन्छ
जसरी धरतीले आकाशसँग गरेको हुन्छ

चाहे तिमी धेरै टाढा होस्
वा मेरै नजिक
बतासजस्तै
हरदम महसुस गर्न सकुँ म तिमीलाई
र, तिमीलाई नै सम्झेर
गुलावजस्तै
हरदम मुस्कुराइरहन सकुँ

तिमी आगो हुदा
पानी हुन सकुँ म
तिमी पानी हुँदा
आगो हुन सकुँ म

तिमीसँग रिसाउँदा पनि
तिमीलाई नै प्रेम गरुँ
तिमीसँग खुसी हुदा पनि
तिमीलाई नै प्रेम गरुँ

हर बिम्ब र प्रतिबिम्बहरुमा
मात्रै तिमीलाई देख्न सकुँ
हर मोड र उकाली ओरालीहरुमा
मात्रै तिमीलाई भेट्न सकुँ

उदाहरण जतिसुकै फेरियोस्
तर नफेरियो मेरो प्रेमको उदाहरण
परिभाषा जतिसुकै बद्लियोस्
तर नबदलियो मेरो प्रेमको परिभाषा

आँखा खोल्दा पनि तिमीलाई नै भेटुँ
आँखा चिम्लिदा पनि तिमीलाई नै देखुँ

म चाहन्छु
मेरो प्रेमको हर बिहानी
तिमीबाटै शुरुहोस् !
र, मेरो प्रेमको हर रात
तिमीमा नै अन्तहोस् !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *