१७ चैत २०७९, शुक्रवार

म लेख्न सक्दिन फूल जस्तो कविता !

सुमिना
मलाई पनि लेख्न त मन लाग्छ 

भर्खर जन्मेको नानी समाएजस्तै गरी

संवेदनशील भएर बिस्तारै समाउनुपर्ने संवेदनशील कविता 

तर के गरौँ 

निमुखा निहत्था विवस र लाचार जनतामाथि 

बारम्बार दमन थिचोमिचो र यातनाको अतिबृष्टी गरिरहने 

यो अत्याचारी संवेदनहिन क्रूर व्यवस्थाको छातिमा  

क्रुर भएरै घन बजार्नुपर्छ कविताले !


मलाई पनि लेख्न त मन लाग्छ 

बेस्सरी पाना पल्टाउदा 

अलि बेस्सरी पढ्दा 

या अर्को कितावमुनी थिचेर राख्दा पनि 

दुख्ला कि भनेर सोच्नुपर्ने मायालाग्दा कविता

तर के गरौँ  

दु:खले मानिसलाई स्पात बनाउदो रहेछ 

यो विभेदकारी संरचनाको पीँधमा

पिल्सदा पिल्सदै म स्पात भएछु 
अब कसरी लेखुँ फलाम जस्तो गह्रौ मुटु लिएर 

फूल जस्तो नाजुक कविता ? 
जवकी मलाई र मेरो अस्तित्वलाई 

निमिट्यान्न पार्न बारम्बार प्रयासरत 

यो संरचनाको जगलाई निर्दयी भएरै

उखेलेर दफनाउनु पर्छ कविताले ! 
मलाई पनि मन पर्छ 

शान्ति अहिंसा  

भद्रता शालीनता 

तर के गरौँ

शोषण दमन अन्याय अत्याचारको

चरम रेखामा उभिएर 

अट्टहास गरिरहने 

शासक सामन्तहरूको गर्धनमा 

तरबार हान्नुपर्छ कविताले !
मान मर्यादा 

आस्था धर्म संस्कार र संस्कृतिको नाममा 

खुल्लमखुल्ला लुटको व्यापार 

अन्धविस्वासको खेती गरिरहने 

छद्मभेसी समाजको शिरमा 

उग्र भएरै चेतनाको प्रचण्ड मसाल 

बाल्नुपर्छ कविताले !
साथी,

दिल बहलाउने कोरा भावुकता

र संवेदनाको खेती मात्रै पनि त रहेनछ कविता

फूलको सौन्दर्यता र जुनको बयान भन्दा पर  

संवेदनहिन मुटुहरूमाथिको बज्रप्रहार 

र रोएकाहरूको इन्कलाव पनि त रहेछ कविता !
मैले देखिरहेकी छु काँडाहरूको अत्याचार 

कोमलताहरूले भोगेको रक्तमुछेल दुरदशा

अहँ म लेख्न सक्दिन फूलजस्तो कविता !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *