३ चैत २०७९, शुक्रवार

विद्यालयको आम्दानी विद्यार्थीलाई नै वितरण गर्दै विदाइ !

उदय भुसाल, फलेवास न.प.-४, पर्वत

प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मूल नाराका साथ २०७० सालदेखि संचालित श्री माटेदेवल जनसहयोगी मा.वी मुडिकुवाको नमुना विद्यालयमा संचालित बाली विज्ञानतर्फ १ वर्षे अनिवार्य OJT कार्यक्रमका विकास विद्यार्थीहरुको एक कार्यक्रमका बीच विदाइ कार्यक्रम सम्पन्न भएको छ।

विदाइ कार्यक्रमका विशिस्ट अतिथि फलेवास नगरपालिका-४, मुडिकुवाका अध्यक्ष टिकाराम गौडेलले विद्यार्थीहरुले विद्यालयबाट सिकेको सीप सर्टिफिकेटमा मात्र सिमित नराखेर आफ्नो गाउँ, ठाउँमा पनि प्रयोगमा ल्याउन विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो । “तपाईहरुको ज्ञान र सीप सामान्यभन्दा सामान्य कृषकहरुको खेतवारीमा पनि प्रयोग हुन पाओस् जसले गर्दा तपाईहरुभित्रको विज्ञता अझै बढेर जानेछ” गौडेलको भनाई रहेको थियो । नगर शिक्षा अधिकृत टंक आचार्यले पछिल्लो समय कृषि विज्ञहरुको अभाव भैरहेको परिपेक्षमा यस विद्यालयले वर्षेनी यतिका धेरै कृषि विज्ञहरु उत्पादन गर्नु चानचुने कुरा नभएको बताउँदै विद्यार्थीहरुको दक्षताका कारण कृषि उत्पादनमा वृद्धि हुने विस्वास ब्यक्त गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले कृषि शिक्षाको अध्ययनमा आकर्षण बढाउनका लागि विद्यालय ब्यवस्थापनलाई फरक ढंगले अगाडि बढाउने बताउनुभयो । सरकारले प्रति विद्यार्थी १२ हजार  र विद्यार्थीहरु आफ्नो पढाइ, बुझाइ र सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक स्वरुप दिएर विद्यालयबाटै उत्पादित कृषि उपज बेचेर प्रति विद्यार्थी ७ हजार गरि जम्मा जनही १९ हजार रुपैयाँ विद्यार्थीलाई वितरण गरिएको थियो। विद्यालयको आन्तरिक स्रोत र खर्चको ब्यवस्थापन गरेर गरिएको च्याउ, काउली, बन्दा आदिको उत्पादन तथा विक्री, प्याज र लहरे तरकारीका बेर्ना उत्पादन र विक्री गरेर आएको जम्मा आम्दानीदेखि २५ प्रतिशत विद्यालयलाई नै लगानी वापतको रकम फिर्ता र बाँकी ७५ प्रतिशत आम्दानी विद्यार्थीलाई नै वितरण गरिएको प्रधानाध्यापक रामप्रसाद रिजालले जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालय नगर शिक्षा अधिकृत टंक आचार्य, अतिथिहरु पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वर्तमान सदस्य धनेश्वर रेग्मी, सदस्य दिपक भुसाल, विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजाल लगायतको उपस्तिथि रहेको थियो भने विद्यार्थीको तर्फदेखि विजय सुवेदीले मन्तव्य समेत राख्नुभएको थियो ।

ब्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालको अध्यक्षता, फ.न.पा ४ मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलको विशिष्ट आतिथ्यता, कृषि प्रशिक्षक केदार सापकोटाको स्वागत र संचालन प्राविधिक संयोजक कृषि प्रशिक्षक अजय ज्ञवालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *