१६ चैत २०७९, बिहिवार

कर्माचार्यको “जीवनको सेरेफेरो” विमोचन !

लेखक ईश्वरी कर्माचार्यको कृति “जीवनको सेरेफेरो” को विमोचन कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् ।
समाजसेवी बिष्णुनारायण श्रेष्ठ ज्यूको हातबाट दीप प्रज्वलन गरि उद्घाटन गरिएको विमोचन कार्यक्रममा बोल्दै श्रेष्ठले साहित्यले उमेर नहेर्ने भन्दै जुनसुकै उमेरमा पनि साहित्य लेख्न र पढ्न सकिने बताए ।

” कतिपय आफ्नै जीवनमा देखिएका, भोगिएका र कल्पना गरिएका कुराहरुलाई लिपिवद्ध तरिकाले लेख्न सकेमा मात्र पनि उत्कृष्ट साहित्य बन्ने गर्छ तर त्यसका लागि भने निरन्तर साधनाको आवस्यकता पर्दछ” श्रेष्ठले भने । साथै प्रमुख अतिथि श्रेष्ठले आगामी दिनमा अझै उत्कृष्ट सिर्जना पढ्न पाउने अपेक्षा गर्दै कृतिकार कर्माचार्यलाई शुभकामना दिँदै हौसला समेत दिए ।


डा. कौशिला रिजालले लेखकको कवित्व चेतमाथी प्रकाश पार्दै “जीवनको सेरेफेरो” कृतिको बारेमा समीक्षात्मक टिप्पणी गरेकी थिइन् भने पूर्व प्राध्यापक श्री भरतकुमार श्रेष्ठले कृति र कृतिकारलाई शुभकामना ब्यक्त गरेका थिए । बेनी समाज काठमाडौंको आयोजना र धौलाश्री सहकारी संस्थाको सभाहल सामाखुशी काठमाडौंमा सम्पन्न कार्यक्रममा पत्रकार उजिर मगर, समाजसेवी किस्मतमणि श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । सामाजिक र साहित्य क्षेत्रमा सक्रिय रहँदै आएका जलजला पर्वत निवासी लेखक कर्माचार्यले आफ्नो कृतिभित्र जीवनका भोगाई, दोस्रो बिबाह गर्नुपर्ने बाध्यता, यौवनकालमा देखेका सपना र तिनै सपना प्राप्तिका लागि गर्नुपरेको संघर्ष, समाजभित्रका कुरिति र कुसंस्कार विरुद्ध आफूले गरेको बिद्रोह, देशबिदेशको यात्राहरुलाई कविता, गीत र गजलको रुपमा समेटेका छन् ।
संस्थाका अध्यक्ष याम श्रेष्ठको अध्यक्षता, संस्थाका उपाध्यक्ष सरोज श्रेष्ठको स्वागत र संस्थाका महासचिव प्रदीप श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *