२० मंसिर २०७९, मंगलबार

आमा हराएपछि थिलथिलिएको परिवार !


 एकवर्षदेखि बेपत्ता जलजला-५, लेखफाँट पर्वत निवासी ४६ बर्षिया दुर्गादेवी सुवेदी अहिलेसम्म पनि सम्पर्क विहिन् छन् । उनी सम्पर्क विहिन भएसँगै उनको सिंगो परिवार नै यतिबेला थिलथिलिएको छ ।

२०७७ फाल्गुन १६ गते विहान ७ बजे घरबाट निस्किएकी सुवेदी अहिलेसम्म सम्पर्कमा नआएकी हुन् । फाल्गुण १६ गते म्याग्दीको अन्नपूणर् गाउँपालिका नागी भन्ने ठाउँमा स्थानीय शिक्षकले सुवेदीलाई देखेका र पछिल्लोपटक उनको हुलियासँग मिल्ने एक महिला कुष्मा पर्वतमा देखिएको भन्ने अस्पष्ट सूचना बाहेक अहिलेसम्म आमाको बारेमा कुनै सूचना प्राप्त नभएको छोरी कमला सुवेदीले बताइन् । आफू सुत्केरी भएको दिनदेखि आमाले आफूलाई भेट्न खोजेको र सो चाहना तत्काल पूरा नभएपछि विरक्तिएर आफू सुत्केरी भएको ३४ दिनमा आमा घर छोडेर हिँडेको कमलाको भनाई रहेको छ । सुवेदी हराएको सूचना लेखफाँट प्रहरी चौकीमा निवेदन आएसँंगै खोजिकार्य तिब्र पारिएपनि अहिलेसम्म कुनै सूचना प्राप्त नभएको जलजला प्रहरी चौकी लेखफाँटले जनाएको छ । 

सुवेदी हराएपछि दुई छोरा र श्रीमान जलजला-५, लेखफाँट पर्वत छोडेर चितवन बसाई सरेका छन् । आमा हराएपछिको पीडा त छँदै थियो, परदेशमा रहेका श्रीमान समेत विभिन्न बहानामा आफ्नो सम्पर्कमा नआएपछि र घरमा समेत बस्ने वातावरण अनुकुल नहुँदा विवाहित छोरी कमला एक वर्षको नावालक छोरा काखी च्यापेर यतिखेर माइतीको शरणमा पुगेकी छन् । 

घरबाटै एक्कासी हराएकी सामान्य नागरिक एकबर्ष बितिसक्दा पनि उनको बारेमा कुनै सूचना प्राप्त गर्न नसक्नुले हामी र हाम्रो सुरक्षामा खटिएको प्रशासन कतिसम्म निरिह रहेछ भन्नेकुरा बुझ्न सकिन्छ । सामाजिक अभियन्ता महाविर पुनले पनि सम्पर्कविहिन सुवेदीको तस्वीर सहित उनको बारेमा आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमा यस्तो सूचना लेखेर सेयर गरेका थिए ।

पर्वत जिल्ला मल्लाज गाउँबाट फाल्गुन १६ देखि महिला हराएको सूचना । 

कसैले देख्नु भएमा ९८६७६९९२२८ मा अमृत आचार्य र ९८६७७०८५३६ मा सुवास आचार्यलाई सम्पर्क गरिदिनु होला । खास गरि पर्वत र म्याग्दी जिल्लाको शालिजा, ओखरेनी, लेस्पार, कुवापानी, लोप्रे, बनबरे, रातमाटा, नागी, राम्चे, काफलडाँडा, रिम, हिस्तानतिरका गाउँलेहरुले निज महिलालाई खोजिदिन मद्दत गर्नुहोला । उनी मल्लाजबाट लोप्रेको फलामेडिलसम्म गएको जानकारी प्राप्त भएको छ र त्यहीँ एरियामा हुनसक्ने सम्भवना बढी छ । उनकी भर्खरै सुत्केरी भएकी छोरी कमला सुवेदी काठमाडौं आएर मलाई यो जानकारी पोष्ट गरिदिन अनुरोध गरिन् । हराएकी महिलाको नाम दुर्गादेवी सुवेदी हो र उनको उमेर ४६ बर्षको छ। लौ गाउँलेहरुले सकेसम्म मद्दत गरिदिनु पर्‍यो  । महाविर पुन 

छोरी कमलाको विलौना पत्र आमालाई

कमला सुवेदी

आमा ! सुत्केरी छोरी भेट्न नपाउदाको वियोगमा कहाँ पुग्नुभयो ? हजुर घरबाट निस्किएको खबर पाएको दिनदेखि आजसम्म पनि मेरा आँखा ओभाना छैनन् । पढाइ, घरव्यवहार भन्दाभन्दै भेट्न नपाएको पनि तीन वर्ष पुगेको थियो । समय र परिस्थितिका कारण त्यतिबेला पनि दुरीको हिसाबले टाढा थियौं र पनि मनले सँगै थियौँ तर आज, दैवले पनि टाढा बनाएको छ । निष्ठुरी समयले दिलाएको पीडाले आज भतभति पोल्दैछ मन । बाटोमा होस् या घरको आँगनमा होस्, रातो सारी लगाएको कसैलाई देखें भनेपनि हजुर नै आए जस्तो लाग्छ र रुँदै झम्टिन पुग्छु । घरका ढोका खुल्दाको आवाजले पनि उसैगरि झस्काउँछ मन । मोबाइलमा फोन या म्यासेजका बजेका घन्टीले पनि हजुर भेटिएर खबर दिन आएको जस्तो लाग्छ । हराएको भोलिपल्ट फलामे डिल भन्दा नागी जाने बाटोको जंगलमा हुनुहँदोरहेछ भन्ने खबर पाएपछि दाजुभाइ मावली छिमेकी आफन्त र त्यही क्षेत्रका बासिन्दा गरी करिब १५० मिलेर गाउँघर तथा जंगल सबै ठाउँमा खोजियो । आमा, हजुरको खोजिमा मिडियाहरुमा उत्तिकै सूचनाहरु दियौँ, प्रहरीकोमा पुग्यौं, मन्दिर, आश्रम, आफन्त सबै ठाउँमा पुग्यौं तर आज एकवर्ष पुग्दा पनि केही पत्ता लगाउन सकेनौं । आमाको अभावमा एउटी छोरी कतिसम्म पीडाले बाँचेकी हुन्छे भन्ने हिजो हजुरले पनि भोग्नु भएको थियो र त्यही कथा आज मैले भोगिरहेकी छु । ७० वर्ष कटेका हजुरबुवा र हजुरआमालाई कोखीको घाउले पोलिरहेछ । रोइरहनुहुन्छ, उहाँहरुको गलाको आँसु म अभागी छोरी टुलुटुलु हेर्न बाध्य छु । भाइ र दाइको समस्या पनि उस्तै छ, बाबाको मानसिक अवस्था जटिल बन्दै गएको छ । आमा नहुँदाको घर कस्तो हुँदो रहेछ ? नजिकैबाट भोगिरहेकी छु । आफैलाई सम्हाल्न गाह्रो हुँदो रहेछ आमा, भक्कानिनु बाहेक अरु उपाय पनित छैन मसँग । जब म आमा बनेको ३४ दिन पुगेको थियो, आफ्नै आमाको वियोगमा वियोगमा छट्पटिन पर्‍यो । यो पीडा बुझ्ने भगवान मात्र हुनुहुन्छ । भगवान रुपी हजुर हुँदा परेका सारा कष्टहरु सहन सक्थें तर यतिबेला म पनि थाकिसकें आमा । हराएका अन्य मानिसहरु भेटिएको समाचार सुन्दा र पढ्दा हजुर पनि एकदिन फर्केर आउने आशामा छु । “तैंले पढेर राम्रो गर्नु है छोरी” भनेर बारम्बार हजुरले सम्झाउने त्यो बोली मेरो कानमा अहिलेसम्म पनि उसैगरि गुञ्जिएको छ । त्यसैले हामी भेट हुने त्यो उज्यालो दिनको प्रतिक्षामा धेरै रातहरु ननिदाई कटाएकी छु । आमा नभएकी छोरी कहीँ पनि अटाउने रहिनछ, त्यसैले आमा, अब यो प्रतिक्षाको घडी लामो नबनोस् । हामीलाई हुर्काउँदै बढाउँदा र पढाउँदा पाएका दुःख सम्झिएर, सँगै बसौँला । आमा, हामी बचेरा एक्लिएका छौं, छिटै घर फर्केर आउनुहोस् न है ।

बुलबुल साप्ताहिक समाचारपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *